नेभिगेशन
विश्व

वायु प्रदूषणले गर्भे–शिशु जोखिममा

गर्भमा रहँदा वायु प्रदूषणको उच्च जोखिममा रहेका बच्चाहरूलाई बोल्न सिक्न बढी समय लाग्ने नयाँ अनुसन्धानले देखाएको छ ।
किंस कलेज लन्डनका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार, गर्भमा रहेको सुरुवाती १३ हप्तामा गाडीको धुवाँ र टायरबाट निस्कने प्रदूषक तŒवहरूको सम्पर्कमा आएका बच्चाहरूले १८ महिनाको उमेरमा गरिने सञ्चार परीक्षणमा अन्य बच्चाहरूको तुलनामा कम अंक ल्याउने सम्भावना रहन्छ । सन् २०१५ देखि २०२० को बीचमा लन्डनमा जन्मिएका ४९८ साना केटाकेटीहरूमा यो परीक्षण गरिएको थियो । उनीहरू कानूनी रूपमा तोकिएको मापदण्डभन्दा सफा हावा भएको क्षेत्रमा बसे पनि प्रदूषणको प्रभाव देखिएको थियो ।
यस अध्ययनले विश्व स्वास्थ्य संगठनको निर्देशिका पालना गर्नका लागि नयाँ ‘क्लिन एयर एक्ट’ (स्वच्छ वायु ऐन) ल्याउने लेबर पार्टीको वाचा कार्यान्वयन हुनुपर्ने अभियानकर्मीहरूको मागलाई थप बल पु¥याएको छ । वैज्ञानिकहरूले आमाहरू बस्ने टोलमा गुड्ने गाडीको चापलाई आधार मानेर बच्चाहरू कति मात्रामा नाइट्रोजन डाइअक्साइड र टायरका सूक्ष्म कणहरूको सम्पर्कमा पुगेका थिए भन्ने अनुमान गरेका थिए ।
१८ महिनाको उमेरमा ती बच्चाहरूको भाषा परीक्षण लिइएको थियो, जसमा औसत अंक १०० तोकिएको थियो । भित्री लन्डनका प्रदूषित क्षेत्रमा पहिलो तीन महिना बिताएका बच्चाहरूले कम प्रदूषित बाहिरी क्षेत्रका बच्चाहरूको तुलनामा ७ अंक कम ल्याएका थिए । बढी प्रदूषित क्षेत्रका बच्चाहरूले बाइ–बाइ गर्दा हात हल्लाउने वा लुकामारी खेल्ने जस्ता सामान्य संकेतहरू बुझ्न समेत कम क्षमता देखाए ।
यसको प्रभाव समय नपुगी जन्मिएका (प्रिम्याच्योर) बच्चाहरूमा अझ बढी देखियो, जसले औसतमा ११ अंक कम ल्याएका थिए । यस अध्ययनकी मुख्य लेखिका डा. अलेक्जान्ड्रा बोनथ्रोनले यी बच्चाहरू पछि आफ्ना साथीहरू सरह सक्षम होलान् कि नहोलान् भन्नु अहिले नै हतार हुने बताइन् । अनुसन्धानकर्ताहरूले अभिभावकको आर्थिक अवस्था र अंग्रेजी भाषाको दक्षता जस्ता बच्चाहरूको सिकाइमा प्रभाव पार्ने अन्य पक्षहरूलाई पनि ध्यानमा राखेका थिए ।
लन्डनका सबै क्षेत्रमा नाइट्रोजन डाइअक्साइडको मात्रा विश्व स्वास्थ्य संगठनको सीमाभन्दा बढी छ । यद्यपि, विद्युतीय गाडी र साइकलको बढ्दो प्रयोग तथा सन् २०२३ मा ‘अल्ट्रा लो इमिसन जोन’ (युलेज) को विस्तारका कारण सहरको हावा सफा हुँदै गएको छ । यस योजना अन्तर्गत बढी प्रदूषण फैलाउने गाडीहरूले दैनिक शुल्क तिर्नुपर्ने हुन्छ । डा. बोनथ्रोनले वायु प्रदूषण घटाएर धेरै भन्दा धेरै बालबालिकालाई जीवनको सुरुवातमा राम्रो वातावरण दिन सकिने बताइन् ।
वायु प्रदूषण कसरी गर्भसम्म पुग्छ भन्ने कुरामा वैज्ञानिकहरू अझै स्पष्ट छैनन् । केही प्रमाणहरूले प्रदूषणका कणहरू सालनाल (अम्बिलिकल कर्ड)मार्फत भित्र पस्ने संकेत गर्छन् भने अर्को सिद्धान्तअनुसार आमाको शरीरमा पुग्ने क्षतिले अप्रत्यक्ष रूपमा भ्रुणलाई असर गर्छ । यसअघि वायु प्रदूषणले हृदयघात, दम, मधुमेह र मोटोपनाजस्ता समस्याको जोखिम बढाउने तथ्य फेला परिसकेको छ । क्लिन सिटीज अभियानका ओलिभर लर्डले यो अध्ययन निकै स्तब्ध पार्ने खालको रहेको भन्दै सडकमा गुड्ने ठूला गाडी र डिजेल भ्यानहरूलाई व्यवस्थापन गर्न ठोस योजना चाहिनेमा जोड दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्