नेभिगेशन
शिक्षा

विद्यार्थी अभावले सामुदायिक विद्यालय संकटमा

मोरङ । नेपालमा सामुदायिक विद्यालयहरू शिक्षा प्रणालीको आधारस्तम्भका रूपमा अपरिहार्य छन् । विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाका लागि यी विद्यालय नै शिक्षाको मुख्य पहुँच हुन् । तर विराटनगरका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभावको मारले विद्यालय नै बन्द हुने अवस्थामा पुगेका छन् ।
विद्यार्थी संख्या घट्दै गएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ । यस्तै तीनवटा विद्यालयलाई घटुवा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं. ४ को थानेश्वर आधारभूत विद्यालय र वडा नं. १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरिएको छ । उनले वडा नं. ३ को लक्ष्मी आधारभूत विद्यालय, वडा नम्बर ४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा नंं. ६ को सुन्तोली आविबाट कक्षा ४ र ५ हटाइएको जानकारी दिए ।
थानेश्वर आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा छ जना विद्यार्थी रहेका थिए । एक शिक्षक दरबन्दी र एक बालविकास शिक्षक रहेको उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सोही वडाको जनता आधारभूत विद्यालयमा समायोजन गरिएको छ । थानेश्वर आविमा कक्षा ५ सम्म स्वीकृति भए पनि ३ कक्षासम्म पढाइ भइरहेको थियो ।
त्यसै गरी नौ जना विद्यार्थी रहेको वडा नं. १ को सिद्धार्थ आधारभूत विद्यालय सोही वडाको श्री माध्यमिक विद्यालय होक्लाबारीमा समायोजन गरिएको छ । बालविकासदेखि कक्षा ५ सम्म पढाइ भइरहेको उक्त विद्यालयका तीनजना शिक्षक र दुईजना बालविकास कर्मचारीलाई पनि श्री माध्यमिक विद्यालय, होक्लाबारीमा समायोजन गरिएको छ ।
यस्तै वडा नं. ३ को लक्ष्मी आधारभूत विद्यालय र वडा नं. ४ स्थित पञ्चकन्या आविमा कक्षा ४ र ५ को शिक्षण व्यवस्था हटाइएको छ । लक्ष्मी आधारभूत विद्यालयमा दुईवटा कक्षमा जम्मा ६ जना विद्यार्थी थिए भने पञ्चकन्या आवासिय विद्यालयका दुईवटा कक्षमा नौ जना विद्यार्थी थिए । लक्ष्मी आविका तीन जना शिक्षक र दुई जना बालविकास कर्मचारीमध्ये एक दरबन्दीसहित छ जना विद्यार्थीलाई सोही वडाको बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
यस्तै पञ्चकन्या आविको एक जना शिक्षक दरबन्दीसहित नौ जना विद्यार्थीलाई बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । त्यस्तै वडा नं. ६ को दहिधापस्थित सुन्तोली आधारभूत विद्यालयबाट पनि कक्षा ४ र ५ अध्ययन हुने व्यवस्था हटाइएको छ । त्यहाँ कक्षा ४ मा तीन जना र कक्षा ५ मा दुई जना विद्यार्थी थिए । उक्त विद्यालयको एक शिक्षक दरबन्दी र पाँच जना विद्यार्थीलाई सोही वडाको पञ्चज्योति आविमा समायोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव तथा शिक्षा शाखा अधिकृत चूडामणि रेग्मीसहितको शिक्षा समितिको २०८२ जेठ १३ गते बसेको बैठकले विद्यालय समायोजन तथा एकीकरण गर्ने निर्णय गरेको थियो । समितिले शैक्षिक सत्र २०८३ सालदेखि प्रत्येक कक्षामा कम्तीमा १० जना विद्यार्थी अनिवार्य हुनुपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । १० वर्षअघि पनि विद्यार्थी अभावकै कारण वडा नं. ४ को पिङडाँडास्थित तत्कालीन प्रगतिशील प्राथमिक विद्यालय र वडा नं. ७ को पच्चिसबिघेस्थित शान्तिदेवी प्राथमिक विद्यालय बन्द गरिएको थियो । कानेपोखरी गाउँपालिकामा २१ वटा सरकारी र २० वटा संस्थागत विद्यालय छन् ।
निजी विद्यालयको शुल्क धान्न नसक्ने वर्गका लागि सामुदायिक विद्यालयले निःशुल्क वा न्यून शुल्कमा शिक्षा उपलब्ध गराउँदै समान अवसर सुनिश्चित गर्छन् । साथै, स्थानीय भाषा, संस्कृति र परिवेशअनुसार शिक्षण सिकाइ सञ्चालन गर्ने भएकाले यी विद्यालयले समुदायसँग गहिरो सम्बन्ध कायम राख्छन् । शिक्षामा समावेशिता, समानता र पहुँच विस्तार गर्न सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण छ । यसरी विद्यार्थी अभावका कारण सामुदायिक विद्यालय बन्द हुने अवस्था आउनु शिक्षा प्रणालीका लागि चिन्ताजनक संकेत हो । एकातर्फ यी विद्यालयले समावेशी र सर्वसुलभ शिक्षा प्रदान गर्दै आएका छन् भने अर्कोतर्फ घट्दो विद्यार्थी संख्याले तिनको अस्तित्व नै संकटमा पारिरहेको छ । त्यसैले सरकार, स्थानीय तह र समुदायले मिलेर गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन र अभिभावकको विश्वास बढाउनेतर्फ ध्यान दिनु आवश्यक छ । अन्यथा, सामुदायिक विद्यालयहरू क्रमशः कमजोर हुँदै जानुका साथै शिक्षा क्षेत्रमा असमानता अझ बढ्ने जोखिम रहन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्