नेभिगेशन
प्रदेश

बालुवा उद्योगको नाममा ढुंगा उत्खनन्, न अनुगमन न कारबाही

सिन्धुली । सिन्धुलीमा बालुवा प्रशोधन उद्योगका नाममा सञ्चालन भइरहेका क्रसरहरूले मापदण्डविपरीत नदी–खोला दोहन गरिरहेको पाइएको छ । करिब दुई दर्जन उद्योगले अवैध रूपमा गिट्टी–ढुंगा उत्खनन् र बिक्री गरिरहँदा सम्बन्धित निकायले प्रभावकारी कारबाही नगरेको भन्दै स्थानीयवासी असन्तुष्ट भएका छन् ।
बालुवा प्रशोधन उद्योगका रुपमा दर्ता भएर गिट्टी ढुंगा उत्खनन् र बिक्री गर्दै आएका सिन्धुलीका क्रसरविरुद्ध कारबाही नहुँदा वातावरणीय ह्रास बढ्दै गएको पाइएको छ । जिल्लामा मापदण्डविपरति सञ्चालन भइरहेका क्रसरले अवैध रूपमा नदी तथा खोला किनार दोहन गरिरहँदा पनि सम्बन्धित निकायले कारबाही नगरेकोमा स्थानीय रुष्ट भएका छन् । जिल्लाका सुनकोशी नदी, कमला नदी, मरिणखोलालगायतका खोलानालामा हाल झन्डै १८–२० वटा क्रसर उद्योग छन् । नदी तथा खोला किनारमा स्थापित क्रसर उद्योगले सुरुदेखि नै नवीकरण नै नगरेको पाइएको जिल्ला समन्वय समिति समन्वय अधिकारी तीर्थराज पौडेलले बताए । सुरुमा यी उद्योग बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भए पनि पछि गिट्टी उत्पादन गरी बिक्री गर्दै आएको पाइएको उनले जनाए । 
समन्वय अधिकारी पौडेलले आफूहरूको अनुगमनका क्रममा कुनै पनि उद्योगले दर्ता भएपछि कुनै पनि कागजी प्रक्रिया पुरा नगरी बिना नवीकरण चलिरहेको पाइएको बताए । ‘कसैको मापदण्ड पुगेको छैन । मापदण्ड नपुगेका कारण पालिकाले उद्योगको नवीकरणसमेत गरेका छैनन्,’ उनले भने ।
क्रसर उद्योगले राजमार्ग, खोला, सामुदायिक वन, एक उद्योगबाट अर्को उद्योगलगायतका ठाउँसम्म छोड्नुपर्ने दुरी छोडेर दुरी कायमसमेत नगरेको उनको भनाइ छ । समितिका अनुसार क्रसर उद्योग सबैभन्दा बढी सुनकोशी गाउँपालिकामा दर्ता भएका छन् । सुनकोशीमा छ वटा, कमलामाई नगरपालिकामा तीन वटा, दुधौली नगरपालिकामा तीन वटा, तीनपाटन गाउँपालिकामा दुई वटा, मरिण गाउँपालिकामा एक वटा, हरिहरपुरगढी गाउँपालिकामा एक वटा र फिक्कल गाउँपालिकामा एक वटा गरी हाल जिल्लामा १७ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।
‘धेरैले बालुवा वासिङ सेन्टरको अनुमति लिएर क्रसरको काम गरिरहेका छन्,’ पौडेलले भने, ‘यो सरासर गैरकानुनी र नियम विपरीतको काम हो । हामी यो साताभरमा अनुगमनका काम सकेर जिल्ला अनुगमन समितिलाई प्रतिवेदन बुझाउँछौं । गत वर्ष पनि क्रसर उद्योगको अनुगमन गरेर जिल्ला अनुगमन समितिमा प्रतिवेदन पेस भएको तर कारबाही भने भएको रहेनछ ।’
नियम अनुसार राजमार्गबाट पाँच सय मिटर टाढा दुरीमा मात्रै क्रसर उद्योग सञ्चालन गर्न अनुमति पाइने भए पनि जनप्रतिनिधि र राजनीतिक दलकै आडमा व्यवसायीले जथाभावी बालुवा उद्योग दर्ता गरी नियमविपरीत क्रसर सञ्चालन गरिरहेको यथार्थ कसैबाट नलुकेको स्थानीय बताउँछन् । ‘कारबाहीको लागि प्रक्रिया अघि बढाउनुपर्ने कर्मचारीलाई त्यसो नगर्न दबाब दिइन्छ,’ स्थानीय अगुवा कृष्णभक्त शर्मा भन्छन्, ‘फेरि कर्मचारी पनि हामीलाई एउटा कुरा गर्छन् । उनीहरुसँग अर्कै कुरा गर्छन् । तर सबैले बुझ्नुपर्ने कुरा के हो भने यो धर्ती नै नरहे बस्ने कहाँ ? खाने के ?’ सबै क्रसरमा सबै दलका नेताको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता छ । पालिकाले लगाउने ठेक्कामा पनि दलमा हावी ठेकेदारकै दबदबा हुन्छ अनि वातावरण संरक्षणमा कसको चासो रहन्छ भन्ने प्रश्न उनी तेस्र्याउँछन् । ‘अहिले विपी राजमार्ग जसरी बिग्रिएको छ त्यसो हुनुमा पनि क्रसरहरुको काभ्रेदेखि सिन्धुलीसम्मको सुनकोशीका किनारमा रहेको क्रसरको केही न केही योगदान होला तर कुनै पनि निकायले यसबारेमा केही सोधखोज गरेकै छैन,’ उनको दुखेसो छ ।
सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइराला केही उद्योगले बालुवा प्रशोधन उद्योग भनेर दर्ता गरेर गिट्टी उत्पादन गरिरहेको आफूले सुनेको बताउँछन् । ‘व्रmसर उद्योग भनेर दर्ता गर्न मिल्दैन त्यही भएर बालुवा प्रशोधन भनेर दर्ता गरेको भन्ने कुराहरु सञ्चार माध्यममा आएको देखिन्छ । त्यसो हो भने त्यो कानुनविपरीतको काम हो । यस सम्बन्धमा सत्यतथ्य बुझ्ने र कारबाही अघि बढाउन हामी तत्तपर छौं,’ कोइरालाले भने ।
सुनकोशी गाउँपालिकामा वडा नं. १ मा तीन वटा, वडा नं. ४ मा एउटा र वडा नं. ६ मा दुई वटा क्रसर उद्योग रहेका छन् । ‘तोकिएको क्षमताभन्दा अत्यधिक बालुवा तथा गिटी बोकेका टिप्परले पिच भासिएर सडक बिग्रेको सबैले देखेकै कुरा हो । राजमार्ग र पुलका मुखैमा राखिएका क्रसरले पुल नै भासिने डर छ,’ स्थानीय अगुवा राधारमण काफ्ले बताउँछन् । नियम विपरीत काम भएको सबैले देखेका छन् तर कसैले पनि केही नबोलेको र कारबाहीको काम अघि नबढाएको उनको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्