नेभिगेशन
प्रदेश

एक वर्षमा छ वटा बाघ मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको संख्या छ पुगेको हो ।
बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन । मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन् । तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको जनायएको छ ।
यसैबीच केही दिन अघि चितवन राष्ट्रिय निकुञ्जको भिम्ले पोस्टनजिकै बाघ मृत भेटिएको थियो । पश्चिम चितवनको मेघौलीनजिकै पर्ने निकुञ्जको भिम्ले पोस्टनजिक दुई वर्षको भाले बाघ मृत भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले मृत भेटिएको बाघलाई आइतबार निकुञ्जका पशु चिकित्सकले पोस्टमार्टम गरेको जनाए । दुई वर्षको बाघको मृत्युबारे यकिन नभए पनि मृत बाघको पुच्छरमा गम्भीर घाउ देखिएको छ । निकुञ्जका संरक्षण अधिकृत अविनाश मगरले बाघको पुच्छरमा भएको घाउ अन्य बाघले गरेको आक्रमणको कारण भएको हुनसक्ने अनुमान गरे । यसअघि दुई दिनअघि दुई महिनाको बाघको डमरुको मृत्यु भएको पाइएको थियो । निकुञ्जमा माउले छाडेका अवस्थामा भेटिएको डमरुको मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पछिल्लोसहित छ बाघको मृत्यु भएको हो । अघिल्लो गणनाअनुसार यस निकुञ्जमा १२८ वटा बाघ रहेका थिए । यस वर्ष गरिएको गणनाको नतिजा सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्