नेभिगेशन
राजनीति

पत्रकारितामाथि कुनै पनि प्रकारको अंकुश नलगाउने सञ्चारमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले पत्रकारितामाथि कुनै पनि प्रकारको अंकुश लगाउने तयारी नगरेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय पत्रकारिता दिवस–२०८३ का अवसरमा बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा बोल्दै उनले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गरे । 

उनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताउँदै पत्रकारिताले तथ्य र सत्यलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजका कारण समाजमा भ्रम, विभाजन र अविश्वास बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि तथ्यजाँचलाई पत्रकारिताको महत्वपूर्ण अंग बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

उनका अनुसार स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिने भएकाले पत्रकारिताले समाजलाई सही दिशामा मार्गदर्शन गर्नुपर्ने हुन्छ।

सूचना प्रविधिको तीव्र विकासले सञ्चार क्षेत्रमा क्रान्ति ल्याए पनि त्यससँगै चुनौतीहरू पनि बढेको उल्लेख गर्दै उनले जिम्मेवार पत्रकारितालाई सुशासनको आधारका रूपमा व्याख्या गरे ।

यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको उनले बताए । उनले सरकारले सञ्चारमाध्यमको व्यवसायिकता र दिगोपनलाई ध्यानमा राख्दै विज्ञापन नीति–२०८३ तर्जुमा गर्ने तयारी भइरहेको पनि जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्