नेभिगेशन
प्रदेश

७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

कर्णाली । कर्णाली प्रदेशका ७९ स्थानीय तहमा एक चौथाइ कर्मचारी दरबन्दी रिक्त छ । संघ सरकारको स्वीकृत दरबन्दीअनुसार कर्मचारीविहीन हुँदा स्थानीय तहलाई मर्का परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ५ हजार ६६० स्वीकृत दरबन्दी रहेकामा १ हजार ३६३ दरबन्दी रिक्त रहेको मुख्यमन्त्री कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । कुल दरबन्दीमध्ये ४ हजार २९७ कर्मचारी कार्यरत छन् । 
सम्बन्धित पालिकाको पठाएको विवरणअनुसार शिक्षा सेवातर्फ पाँचौंदेखि नवौं÷दशौं तहका १८३ स्वीकृत दरबन्दीमा १३२ पदपूर्ति र ५१ दरबन्दी रिक्त छन् । इञ्जिनियरिङ सेवातर्फ एक हजार ५५ स्वीकृत दरबन्दीमा ६३४ पदपूर्ति र ४२१ रिक्त छन् भने यो सेवामा नवौं÷दशौं तहमा शून्य पदपूर्ति रहेको सचिव विकले बताए । 
प्रशासन सेवातर्फ १ हजार ५४१ स्वीकृत दरबन्दीमा ४७७ रिक्त छ । स्वास्थ्य सेवातर्फ १ हजार ८८४ स्वीकृत दरबन्दीमा १५२ रिक्त छ । कृषि सेवातर्फ ८१४ स्वीकृत दरबन्दीमा २३७ रिक्त छ । विविध सेवातर्फ १८३ स्वीकृत दरबन्दीमा २५ रिक्त छ ।
७९ स्थानीय तहमध्ये डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा ५३ दरबन्दीमाध्ये १५ जना मात्र कार्यरत छन् । जबकि वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १०५ स्वीकृत दरबन्दीमा ११६ जना कार्यरत छन् । 
डोल्पो बुद्धमा दरबन्दीअनुसार कर्मचारी नदेखिनुमा करारबाट काम चलेको हुनसक्ने भन्दै सचिव विकले मुख्यमन्त्री कार्यालयले अब सबै स्थानीय तहको रिक्त दरबन्दीको विवरण मागेर प्रदेश लोकसेवा आयोगमा पठाउने र रिक्त पद पूर्ति गर्ने बताए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्