नेभिगेशन
अर्थतन्त्र

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा तेस्रो मुद्दा

पूर्वसञ्चारमन्त्री कार्कीसहित १४ जनाविरुद्ध अभियोगपत्र दायर

काठमाडौं । कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहितका तत्कालीन पदाधिकारीविरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिँदा भ्रष्टाचार गरेको आरोपसहित अदालतमा १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । 
चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनीसँगको आपसी मिलेमतोमा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको विशेषमा दायर अभियोगपत्रमा उल्लेख छ । 
नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनीबीच भएको खरिद सम्झौता कन्ट्र्याक्ट मूल्यभित्रै कर, महसुल तथा अन्य शुल्कहरू समावेश नगरी भ्रष्टाचार भएको अख्तियारको दाबी छ । कर, महसुल तथा अन्य शुल्कहरू ठेकेदार कम्पनीले नै प्रचलित नेपाल कानुनबमोजिम तिर्नुपर्ने प्रावधानको बर्खिलाप निर्णय भएको दाबी अख्तियारको छ । चिनियाँ ठेकेदार कम्पनीलाई कर, महसुल तथा अन्य शुल्कहरू छुट दिने भन्ने सर्त राखिएको समेत आरोपपत्रमा उल्लेख छ । 
ठेकेदार कम्पनीबाट भुक्तानी लिएको रकममा समावेश भएको करलगायतको महसुल राज्य कोषमा दाखिला नहुनेगरी छुट दिलाएर कम्पनीलाई नै दोहोरो लाभ दिलाएको, नेपाल सरकारले ऋणस्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट ३ अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० हानिनोक्सानी भएको दाबी छ । 
त्यस्तै, तत्कालीन सचिवसहितका पदाधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानुनी लाभ प्राप्त गर्ने मतियार बनेको अभियोगसहित भ्रष्टाचारमा हदैसम्मको सजाय गर्न अख्तियारले माग गरेको छ ।  अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई पनि मुद्दा दायर गरिएको छ । 
यस्तै अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र डण्डुराज घिमिरे तथा आयोजना निर्देशक प्रदीप अधिकारीविरुद्ध पनि सोही बराबरको बिगो दाबी गर्दै मुद्दा चलाइएको छ । यस्तै, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इञ्जिनियर योगेश अर्याल, निर्माण व्यवसायी ‘चाइना सिएमएसी’ का अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङलाई पनि विपक्षी बनाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा अख्तियारले यसअघि गत पुस र चैतमा अलग–अलग मुद्दा दायर गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्