काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले बिहीबार विधिवत् रूपमा कार्यभार सम्हालेका छन् । महासंघको सचिवालयमा आयोजित एक विशेष समारोहका बीच निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै महासंघको २१औं अध्यक्षका रुपमा श्रेष्ठले पद बहाली गरेका हुन् ।
.jfif)
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका श्रेष्ठलाई निवर्तमान अध्यक्ष ढकालले शपथ ग्रहण गराए भने अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
पद बहालीलगत्तै नवनिर्वाचित पदाधिकारीहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका प्राथमिकता समेटिएको ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम घोषणा गर्दै सोसँग सम्बन्धित विस्तृत कार्ययोजनालाई क्रमशः कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
‘मैले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा तयार पारेको ६ स्तम्भ, ६० पहल कार्यक्रम आफ्नो ३ वर्षे कार्यकालको प्राथमिकता रहनेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यही अनुसार महासंघले अगाडि बढाउने रणनीतिक कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन मेरो प्राथमिकता रहनेछ ।’
अध्यक्षको ६ स्तम्भ, ६० पहल कार्यक्रममा महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय तथा परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । यस्तै आगामी कार्यकालमा निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता अभिवृद्धि, संघीय संरचनाअनुसार सदस्य संस्थाहरूसँगको समन्वय सुदृढीकरण, सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणालीको विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्धन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक कूटनीतिक सम्बन्ध विस्तारलगायतका विषय समेटिएका छन् ।
परिचयात्मक कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष ढकालले महासंघका एजेण्डाहरु निजी क्षेत्र प्रवर्धनका लागि हुनुपर्ने बताए । आफ्नो कार्यकालमा देशको आर्थिक विकास र समृद्धिको लागि महासंघले सक्दो पहल गरको धारणा राख्दै उनले सरकारले महासंघले पेश गरेअनुसार निजी क्षेत्र संरक्षण तथा सम्वर्धन कार्यक्रम (पीएसपीपी) मन्त्रिपरिषदबाट पास भएको र यसले निजी क्षेत्रको संरक्षण तथा सम्वर्धनमा सहयोग पुग्ने बताए ।
पूर्वअध्यक्ष महेशलाल प्रधानले देशमा औद्योगिक तथा व्यावसायिक वातावरण निर्माणमा महासंघले सशक्त भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए । उनले महासंघले देशको आर्थिक विकास र समृद्धिको लागि वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिनुपर्ने र नगरेको अवस्थामा प्रश्न गर्न सक्नै हैसियत निर्माण गर्नुपर्ने बताए । यसैगरी, पूर्वअध्यक्ष भवानी राणाले आर्थिक विकास र समृद्धिको लागि निजी क्षेत्रको साथ लिन सरकारलाई आग्रह गर्दै आर्थिक एजेण्डामा एक भएर काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए । जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले देशैभरि औद्योगिक वातावरण निर्मााणका लागि जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम तथा सशक्त बनाउनुपर्ने तथा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
यस्तै, अर्का जिल्ला नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले उद्योग व्यवसायको विकासबिना आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारले लगानी तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताए । वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले देशभरका सबै व्यवसायीका समस्या साझा समस्या भएको उल्लेख गर्दै अब पक्ष र विपक्षमा नभनी आर्थिक एजेण्डामा काम गर्नु पर्ने धारणा राखे ।
त्यस्तै एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले औद्योगिक वातावरण निर्माणका लागि नीतिगत स्थायित्व आवश्यक रहेकोमा जोड दिँदै कर प्रणालीको सुधारदेखि व्यवसायीका मुद्दाहरु सम्मलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
यस्ता छन् ६ स्तम्भ, ६० पहल कार्यक्रम
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखी महासंघले अगाडि बढाउने रणनीतिक कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय तथा परिणाममुखी बनाउने उद्देश्यले तयार गरिएको ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम र त्यससँग सम्बन्धित विस्तृत कार्ययोजनालाई अध्यक्ष श्रेष्ठको पदबहालीसँगै कार्यान्वयनमा ल्याइनेछ ।
महासंघले आगामी कार्यकालमा निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता अभिवृद्धि, संघीय संरचनाअनुसार सदस्य संस्थाहरूसँगको समन्वय सुदृढीकरण, सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणालीको विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्धन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक कूटनीतिक सम्बन्ध विस्तारलगायतका विषयलाई समेटेर ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम तयार भएको छ ।
कार्यक्रमअन्तर्गत प्रत्येक स्तम्भअन्तर्गत कार्यान्वयनयोग्य पहलहरू, समयसीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धिसहितको विस्तृत कार्ययोजना समेत तयार गरिएको र यसलाई अध्यक्षको पदबहालीसँगै चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।
स्तम्भ १. महासंघले प्रदान गर्ने सेवा सुदृढीकरणका र सञ्जालको विस्तार
१. जिल्लानगर, वस्तुगत र एसोसिएट सदस्यहरूको विस्तृत आवश्यकता मूल्यांकन
२. महासंघ सचिवालयको सुदृढीकरण र व्यवसायिकीकरण
३. महासंघले प्रदान गर्ने सेवा प्रभावकारी बनाउनका लागि छुट्टै जिल्ला र वस्तुगत डेस्कको स्थापना
४. सेवा सुदृढीकरणका लागि डिजिटल सदस्यता पोर्टल, सदस्यका लागि मोबाइल एप र सेवा प्रवाह अनुगमन प्रणाली
५. सदस्यहरूका नीतिगत, ब्यबसायिक र प्रशासनिक समस्या तथा गुनासो व्यवस्थापन र समाधान प्रणाली निर्माण
६. व्यावसायिक विवाद समाधान र मध्यस्थता प्रणालीको प्रभावकारी संचालन र व्यवस्थापन
७. जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको संस्थागत दिगोपन, आम्दानीमा विविधीकरण तथा प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय कार्यक्रम
८. उत्पत्तिको प्रमाण पत्रलगायत सदस्यहरुलाई चाहिने अन्य प्रशासनिक सेवामा सहजीकरण र सुधार
९. स्टार्टअप तथा युवा उद्यमी प्रोत्साहन कार्यक्रम
१०. महासंघको संस्थागत आम्दानीमा वृद्धि र वित्तीय सुशासनमा सुधार
११. महासंघ तथा सदस्य संस्थाहरुको वार्षिक साधारण सभालगायत अन्य संस्थागत सुशासनमा सुधार
स्तम्भ २. आर्थिक सुधार र सुशासन
१२. महासंघमा सार्वजनिक नीति, अर्थतन्त्र, व्यापार र कानुन अनुसन्धान शाखाको स्थापना
१३. सदस्यहरुको संरक्षण र नियामकीय परामर्शका लागि महासंघमा कानुन डेस्कको स्थापना
१४. सरकारको शासकीय सुधार तथा दोश्रो चरणको आर्थिक सुधारलाइ सक्रिय सहयोग
१५. बजेट, मौद्रिक नीतिलगायतमा अर्थतन्त्र र निजी क्षेत्र केन्द्रित नीतिगत सुझावपत्र
१६. मासिक आर्थिक संक्षिप्त विवरण र त्रैमासिक अर्थतन्त्रको अवस्था प्रतिवेदन
१७. निजी क्षेत्र, अर्थतन्त्र र व्यवसायसम्बन्धी कानुन, नियम, विनियम र निर्देशिका निर्माणमा सक्रिय संलग्नता
१८. महासंघको नेतृत्वमा निजी विधेयक निर्माण
१९. व्यावसायिक विश्वास सर्वेक्षण र निजी क्षेत्र मनोबल सूचकांक
२०. विश्वविद्यालयहरु तथा अनुसन्धान संस्थाहरूसँगको समझदारीपत्र कार्यान्वयन
२१. महासंघमा नीति संवाद शृंखलाको सुरुवात
स्तम्भ ३. प्रतिस्पर्धात्मकता र वृद्धि
२२. मेड इन नेपाल र स्थानीय उत्पादन प्रवर्धन अभियान
२३. सरकारसँगको साझेदारीमा औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र प्रभावकारी बनाउने पहल
२४. उत्पादनका मुख्य क्षेत्रहरूको प्रतिस्पर्धात्मकता बढाउने कार्ययोजना
२५. लघु, साना, मझौला उद्योग, स्टार्टअप र व्यवसाय विकास सेवाका लागि महासंघका प्रदेश कार्यालयहरुको सुदृढीकरण
२६. उत्पादनमुखी उधोगहरुको प्रतिस्पर्धात्मकता वृद्धि गर्नका लागि विदेशी चेम्बरहरूसँग संयुक्त संवाद
२७. करार उत्पादन र असेम्ब्ली प्रवर्धन कार्यक्रम
२८. क्षेत्रीय मूल्य शृंखला र सीमापार उत्पादन सम्बन्ध विस्तार
२९. निर्यात प्रवर्धन, व्यापार सहजीकरण र लजिस्टिक्स सुधार कार्यक्रम
३०. रणनीतिक वस्तुहरूका लागि आयात प्रतिस्थापन गर्ने गरी नीतिगत सहजीकरणमा पहल
३१. नेपाली उद्यमहरूका लागि डिजिटल रूपान्तरण र प्रविधि प्रयोगमा सहजीकरण
स्तम्भ ४. विकास सहयोग र निजी क्षेत्र विकास
३२. महासंघमा विकास साझेदारी शाखा
३३. निजी क्षेत्रको विकासका लागि द्विपक्षीय सहयोगको विस्तार
३४. प्रदेश तथा स्थानीय सरकारहरू सँग निजि क्षेत्रको प्रवर्धन र विस्तारका लागि समन्वय
३५. सीप विकास र मानव पुँजी निर्माण
३६. द्विपक्षीय माध्यमबाट महिला उद्यमशीलता विकास
३७ प्रवासी नेपालीको लगानी सहजीकरण
३८. जलवायु, हरित वित्त र दिगो विकास लक्ष्य अनुरूप निजी क्षेत्र कार्यक्रम निर्माण
३९. निजी क्षेत्रका लागि वैकल्पिक वित्त परिचालनको रणनीति निर्माण
४०. महासंघको नेतृत्वमा नेपाल लगानी तथा व्यवसाय सम्मेलन
४१. विकाशील मुलुकमा स्तरोन्नतिका लागि तयारी र सहयोग कार्यक्रम
स्तम्भ ५. श्रम, सीप र उत्पादकत्व सुधार
४२. राष्ट्रिय स्तरको उद्योग प्रशिक्षण संस्थाका रूपमा महासंघको पहलमा स्किल एकेडेमी निर्माण
४३. उद्योग–शिक्षा क्षेत्र–सरकार बीच त्रिपक्षीय साझेदारी खाकाको निर्माण
४४. प्रमुख क्षेत्रहरूका लागि एकरूप व्यावसायिक मापदण्ड खाका
४५. जनशक्तिको सीप विकास र पुनः सीप तालिम कार्यक्रमको सुरुवात
४६. प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्धन र सीपमूलक शिक्षा पहल
४७. राष्ट्रिय सीप र माग सर्वेक्षण तथा व्यावसायिक श्रमक्षेत्रको प्रतिवेदन निर्माण
४८. उत्पादकत्वमा–आधारित ज्यालाको खाका निर्माण
४९. श्रम र औद्योगिक विवादका लागि महासंघमा प्रभावकारी मध्यस्थता केन्द्रको स्थापना
५०. फिर्ता आएका वैदेशिक रोजगारिका कामदार लक्षित सिपको उपयोग, हस्तान्तरण र उद्यमशीलता कार्यक्रम
५१. श्रम ऐनको प्रभावकारी कार्यान्वयन र योगदानमा आधारित सामाजिक सुरक्षा सुधारका लागि पहल तथा पैरवी
स्तम्भ ६. निजी क्षेत्र प्रवर्धन र संरक्षण
५२. निजी सम्पत्ति र व्यावसायिक अधिकार बडापत्र
५३. अग्रिम धरौटी र व्यावसायिक विवादको गैर–अपराधीकरणका लागि पैरवी
५४. व्यवसाय गर्ने सहजता सुधार कार्यक्रम
५५. व्यावसायिक उत्पीडन निगरानी र गोप्य गुनासो संयन्त्र निर्माण
५६. दामासाही, करार कार्यान्वयन र व्यावसायिक न्याय सुधारका लागि पहल
५७. वस्तुगत संघहरूमार्फत क्षेत्रगत उद्योग विस्तार र सुदृढीकरण
५८. विदेशी चेम्बर, बहुराष्ट्रिय कम्पनी परिषद् र अन्तर्राष्ट्रिय साझेदारी सञ्जाल निर्माण
५९. आमसञ्चार, सञ्चारमाध्यम र सार्वजनिक विमर्श रणनीति
६०. व्यावसायिक आचारसंहिता र सुशासन खाकाको निर्माण