नेभिगेशन
अर्थतन्त्र

नेपालको पहिलो टियर आईभी हाइपरस्केल डाटा सेन्टरको घोषणा

काठमाडौं । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको डाटा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ ‘बिचुटेन डाटा भोल्ट’ ले नेपालको पहिलो टियर आईभी हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । यो पहलले नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशालकुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको यस स्वदेशी कम्पनीले नेपालको आफ्नै डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणको संकल्प लिएको छ ।
यो नेपालकै पहिलो टियर आईभी प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९.९९५ प्रतिशत ‘अपटाइम’ को सुनिश्चितता प्रदान गर्छ । यसको अर्थ वर्षभरिमा २६ मिनेटभन्दा कममात्र प्राविधिक अवरोध हुन सक्छ, जसले बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्ने दाबी गरिएको छ ।
यो परियोजना काठमाडौं (साइट १) र वीरगन्ज (साइट २) गरी दुई रणनीतिक स्थानहरूमा रहनेछ । २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्ममा यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना छ । प्रविधि र विशेषज्ञताका लागि कम्पनीले भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोन जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको छ ।
यो पूर्वाधारले नेपालमा सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्नेछ । साथै, भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट जस्ता उपकरणहरू उत्पादन गर्ने कम्पनीको दूरगामी लक्ष्य रहेको छ । ‘डाटा नै कृत्रिम बौद्धिकता र डिजिटल रूपान्तरणको आधार हो’ भन्ने मान्यताका साथ बिचुटे डाटा भोल्टले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चित गर्नेछ । यसले विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनेछ ।
यो डाटा सेन्टर ऊर्जा दक्ष र पूर्णतया नेपालको जलविद्युतमा आधारित हुनेछ, जसले दिगो र वातावरण मैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेछ । बिचुटेन डाटा भोल्ट प्रालि एक नेपालमा आधारित निजी कम्पनी हो, जसले सुरक्षित, मापनयोग्य र विश्वस्तरीय डिजिटल पूर्वाधार निर्माण गरिरहेको छ । ‘बिचुटेन’ नाम भगवान विष्णुको जापानी बौद्ध नामबाट लिइएको हो, जसले ‘रक्षक’ को प्रतिनिधित्व गर्छ । कम्पनीको मुख्य उद्देश्य नेपालको डिजिटल भविष्यलाई सुरक्षित र आत्मनिर्भर बनाउनु भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्