नेभिगेशन
अर्थतन्त्र

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा राहत वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्णाली प्रदेशको कालिकोट जिल्लामा क्षति पुगेको घरपरिवार र आगलागी पीडितका लागि कम्मल वितरण गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुभ कालिका गाउँपालिकाका ७ र ८, महावैका ५ र ६, खाडाचत्र नगरपालिकाका १ र ५, तिलागुफाका १० र ७ मा क्षति पुगेका पहिरो पीडित घरपरिवार र तिलागुफाका ५ र ६ र खाँडाचक्रको १० नम्बर वडाका आगलागी पीडित गरी ४३ परिवारलाई कम्मल वितरण गरेको हो ।
राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखा प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी पीडितले आफूहरूप्रति गरिएको सहयोगप्रति खुसी र सन्तुष्टि व्यक्त गरेका छन् । साथै, दुर्गम जिल्लासम्म पुगेर मानवीय सेवामा समर्पित संस्थाले देखाएको प्रतिबद्धताप्रति उनीहरूले कृतज्ञता व्यक्त गरेका छन् ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आगामी दिनमा पनि विभिन्न गतिविधिमार्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा योगदान पु¥याउने योजना रहेको बताएको छ । यस्ता प्रयासमार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।
सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल सानिमा रिलायन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । साथै, २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्