नेभिगेशन
प्रदेश

चिया परीक्षण केन्द्रले जगाएको आशा

इलाम । इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन हुने भएको छ । 
कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोडभन्दा बढी लागनीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कृषि मन्त्री इस्ताइल मन्सुरसहितको सहभागितामा भएको सहमतिपछि कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराउने भए पछि केन्द्र सञ्चालनमा आउने आशा जागेको छ ।
२०७६ साल फागुन ८ गते प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबिच भएको सम्झौताअनुसार उक्त केन्द्रको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८० ले तोकेबमोजिम सञ्चालन हुने नगरका कार्यवाहक नगरप्रमुख बरालले जनाए । सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) बीच भएको सम्झौताअनुसार कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक पर्ने दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउने भएको छ । केन्द्रको सञ्चालनका लागि अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने सहमति भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले बताए ।
चिया कृषक तथा चिया उत्पादनको सर्वेक्षण गरी हरियो पत्ती, तयारी चिया साथै चियामा हुन सक्ने रोग, विषादीका विषयमा सर्वेक्षण गर्न पहिलो चरणमा कोशी प्रदेश सरकार, सूर्योदय नगरपालिका र कोशी प्रदेश उद्योग वाणिज्य महासंघमार्फत कार्यव्रmम सञ्चालन गरिने छ ।
निर्माण सम्पन्न भएर पनि उपकरण र प्राविधिक जनशक्तिको अभावमा केन्द्रमा रहेको चिया परीक्षण ल्याब सञ्चालन नहुँदा आलोचना हँुदै आएको थियो । नगरपालिकाले २०८३ वैशाख १४ गते प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी केन्द्र सञ्चालनको पहल गर्न माग गरेको थियो । नगरप्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘नगरपालिका र प्रदेशको लगानीमा संरचना बनेको छ, अब ल्याबको काम भने अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने गरी संघीय सरकारले सञ्चालन गर्नु पर्छ ।’ 
चियाको राजधानी मानिएको सूर्योदयसहित इलाम जिल्ला देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन गर्ने जिल्लामा पर्छ । नेपालको चियाको ८० प्रतिशत हाराहारी बजार भारत भएका कारण चिया निकासी गर्दा परीक्षणका कारण चिया उद्योगी र व्यवसायीले झन्झट बेहोर्दै आउनुपरेको छ । चिया भारत निकासी गर्दा परीक्षणमा लामो समय लाग्ने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा वार्षिक ७५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन भई स्वदेश तथा विदेशमा गरी वार्षिक १५ अर्ब रुपियाँँभन्दा बढीको आर्थिक कारोबार भइरहेको छ ।
२३ करोड रुपैयाँको लागतमा इलामको सूर्योदय नगरपालिका–८ स्थित कन्याममा स्थापित केन्द्र नगरको ‘गौरवको आयोजना’समेत हो । तर केन्द्र सञ्चालनको टुंगो नलाग्दा चियाको विषादी तथा गुणस्तर परीक्षण गर्न भारत पठाउने गरिएको छ । यसका लागि चिया किसानले खर्च पनि धेरै गर्नुपर्ने र रिपोर्ट आउन पनि निकै समय लाग्ने गरेको छ । ‘चिया निर्यातका क्रममा भारतले नेपाली चियाको विषादी तथा गुणस्तर परीक्षण गर्न समय लगाइदिने, परीक्षणमा नेपाली चियामा विषादीको मात्रा यथार्थभन्दा बढी देखाइदिने जस्ता समस्या छन्,‘ चिया व्यवसायी खगराज घिमिरे भन्छन् । घिमिरेका अनुसार केन्द्रले यी समस्या समाधान गर्न सके चिया निर्यात त सहज हुनेछ नै, किसानहरूको लाखौंको लगानी पनि सुरक्षित भई देशले समेत आर्थिक उपार्जन गर्न सक्छ । 
नेपालमा उत्पादित अर्थोडक्स चिया निर्यात गर्न विदेशी खरीदकर्ता बोलाई चिया चखाउने (‘टी टेस्टिङ’ केन्द्रका रूपमा) र लिलाम बढाबढ गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । टी टेस्टिङ सहितको अनुसन्धान केन्द्रमा चिया संग्रहालय, चिया बिक्री कक्ष, गेस्ट हाउस र सभा हल पनि रहने बराल जनाउँछन् । नेपालमा चियाखेती सुरु भएको १६० वर्ष र व्यावसायिक चियाखेती सुरु भएको ६० वर्षपछि देशकै पहिलो चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र स्थापना भएको हो ।
इलामका चिया व्यवसायी महेश अर्याल केन्द्रको स्थापनाले चियाको नेपाली जात निर्धारण गर्नसमेत सहयोग पुग्ने बताउँछन् । चिया व्यवसायी घिमिरे पनि कन्याममा स्थापित केन्द्रले चियामा लाग्ने रोगको वेलैमा पहिचान गर्न सक्ने आशा व्यक्त गर्छन् । ‘गाउँमै चिया प्राविधिक उत्पादन गर्न नसकेसम्म उत्पादन प्रभावकारी हुन सक्दैन । केन्द्रले त्यो लक्ष्य पनि राख्नुपर्छ,’ घिमिरे भन्छन् । हालसम्म इलाममा उत्पादित चिया परम्परागत शैलीमै टिपिने गरिएको छ भने चियाको प्रशोधन पनि परम्परागत रूपमै हुँदै आएको छ । अनुसन्धान केन्द्रले चिया प्रशोधनमा आधुनिक प्रविधिलाई पनि बढावा दिनुपर्ने उनले बताउँछन् । नेपालका ३० जिल्लामा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ । सबै प्रकार गरी वार्षिक दुई करोड ६३ लाख ७९ हजार ४९३ किलोग्राम चिया उत्पादन हुने बोर्डको अनुमान छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्