नेभिगेशन
प्रदेश

लमजुङ प्रशासन अब बिदामा पनि खुल्ने

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्ने भएको छ । नेपाल सरकारको निर्णयअनुसार आर्थिक वर्ष २०८३÷८४ भित्रका विभिन्न पर्व तथा दिवसका अवसरमा कार्यालयले नियमित सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार वर्षभरि पर्ने ११ वटा सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराइने छ । यसअन्तर्गत नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अवरुद्ध नहुने गरी सञ्चालन गरिने जनाइएको छ । सेवाग्राहीलाई सहज र निरन्तर सेवा दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रजिअ खनालले बताए ।
सार्वजनिक बिदाका कारण सेवा लिन समस्या भोग्नुपर्ने अवस्थालाई अन्त्य गर्न यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ । कार्यालयले गणतन्त्र दिवसदेखि अन्तर्राष्ट्रिय महिला दिवससम्मका विभिन्न पर्व तथा दिवस समेट्दै ११ दिन सेवा खुला राख्ने जनाएको छ ।
कार्यालयका अनुसार गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, व्रिmसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, माघी पर्व÷माघे सङ्व्रmान्ति, राष्ट्रिय प्रजातन्त्र दिवस, ग्याल्पो ल्होसार र अन्तर्राष्ट्रिय महिला दिवसलगायत सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने जनाइएको छ ।
त्यसैगरी इस्लाम धर्मावलम्बीको इदउल फित्र तथा बकर इद (इद उल अजहा) का तोकिएका दिनमा समेत सेवा सञ्चालन गरिने छ । जिल्ला प्रशासन कार्यालय लमजुङको यस कदमलाई सेवामैत्री र नागरिक केन्द्रित पहलका रूपमा हेरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले उक्त दिनमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा उपलब्ध गराइने जनाए । सार्वजनिक बिदाका कारण सेवाग्राहीले भोग्ने असुविधा न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गौतमले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्