नेभिगेशन
अर्थतन्त्र

नगदबाट डिजिटलतर्फ

काठमाडौं । नेपालको वित्तीय प्रणाली अहिले तीव्र डिजिटल रूपान्तरणको चरणमा छ । केही वर्ष अघिसम्म बैंकको काउन्टर, नगद कारोबार र चेकमा निर्भर नेपाली अर्थतन्त्र आज मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, वालेट, कार्ड र फास्टर पेमेन्ट सिस्टममार्फत सञ्चालन हुने दिशामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन २०८२ सम्मको तथ्यांकले नेपालमा डिजिटल भुक्तानीको पहुँच र प्रयोग दुवै उल्लेखनीय रूपमा विस्तार भएको देखाएको छ ।
तथ्यांक कारोबारको वृद्धि मात्र होइन, नेपाली समाजको व्यवहार, बैंकिङ संस्कृति र आर्थिक गतिविधिको स्वरूप परिवर्तन हुँदै गएको संकेत पनि हो । गाउँदेखि सहरसम्म मोबाइलबाट पैसा पठाउने, पसलमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्ने, अनलाइन सामान खरिद गर्ने र डिजिटल माध्यमबाट सरकारी तथा निजी सेवाको शुल्क तिर्ने चलन सामान्य बन्दै गएको छ ।

मोबाइल बैंकिङः सबैभन्दा ठूलो डिजिटल माध्यम
नेपालमा डिजिटल भुक्तानीको सबैभन्दा ठूलो आधार मोबाइल बैंकिङ बनेको छ । २०८२ फागुनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ९४ लाख ६३ हजारभन्दा बढी पुगेको छ । २०८१ फागुनसम्म यो संख्या २ करोड ६७ लाखमात्र थियो । यसले एक वर्षमै २७ लाखभन्दा धेरै नयाँ प्रयोगकर्ता डिजिटल बैंकिङमा जोडिएको स्पष्ट देखाउँछ ।
मोबाइल बैंकिङ केवल खाताको ब्यालेन्स हेर्ने माध्यममा सीमित छैन । अहिले विद्युत् महसुल तिर्नेदेखि विद्यालय शुल्क, टिकट बुकिङ, सरकारी राजस्व भुक्तानी र दैनिक किनमेलसम्म मोबाइल बैंकिङ प्रयोग भइरहेको छ ।
कारोबार संख्याको हिसाबले पनि मोबाइल बैंकिङ अग्रस्थानमा छ । २०८२ फागुनसम्म मोबाइल बैंकिङमार्फत ६ अर्ब २५ करोडभन्दा बढी कारोबार सम्पन्न भएको छ । कारोबार रकम पनि ५ खर्ब ४० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । यसले नेपाली उपभोक्ताले डिजिटल माध्यमप्रति राखेको विश्वास झन् मजबुत भएको देखाउँछ ।

वालेट प्रयोगकर्तामा उच्च वृद्धि
डिजिटल वालेट नेपालमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यम बनेको छ । फागुन २०८२ सम्म वालेट प्रयोगकर्ताको संख्या २ करोड ७७ लाखभन्दा बढी पुगेको छ । केही वर्षअघि सहर केन्द्रित मानिएको वालेट सेवा अहिले ग्रामीण क्षेत्रमा समेत फैलिएको छ ।
वालेटमार्फत हुने कारोबार संख्या पनि उल्लेखनीय छ । २०८२ फागुनसम्म वालेट कारोबार संख्या ४४ करोडभन्दा बढी पुगेको छ भने कारोबार रकम करिब ४८ अर्ब रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।
विशेष गरी साना रकमका दैनिक कारोबारमा वालेट लोकप्रिय देखिएको छ । चिया पसलदेखि किराना, ट्याक्सी, रेस्टुरेन्ट र खुद्रा व्यापारसम्म क्यूआर आधारित भुक्तानी सामान्य अभ्यास बन्दै गएको छ । यसले नगद बोक्ने आवश्यकता घटाएको छ भने कारोबारको पारदर्शिता पनि बढाएको छ ।

क्यूआर भुक्तानीको बढ्दो प्रभाव
नेपालमा क्यूआर कोड आधारित भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेको छ । २०८२ फागुनसम्म क्यूआर आधारित भुक्तानीको कारोबार संख्या ४९ करोडभन्दा माथि पुगेको छ । कारोबार रकम १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
क्यूआर भुक्तानी विस्तार हुनुमा बैंक, वालेट कम्पनी र राष्ट्र बैंकको नीतिगत सहजीकरण महत्वपूर्ण कारण मानिन्छ । साना व्यवसायीले समेत न्यून लागतमा डिजिटल भुक्तानी स्वीकार गर्न थालेपछि यसको पहुँच तीव्र रूपमा बढेको हो ।
नेपालमा अहिले सडक किनाराका पसलदेखि सुपर मार्केट, अस्पताल, पेट्रोल पम्प र सार्वजनिक यातायातसम्म क्यूआर स्क्यान गरेर भुक्तानी गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई गति दिएको छ ।

फास्टर पेमेन्ट सिस्टम
नेपालको डिजिटल भुक्तानी प्रणालीमा ‘फास्टर पेमेन्ट सिस्टम’को भूमिका दिनप्रतिदिन बढिरहेको छ । २०८२ फागुनसम्म यस प्रणालीमार्फत १८ अर्ब २४ करोडभन्दा बढी कारोबार सम्पन्न भएका छन् । कारोबार रकम ५ खर्ब १३ अर्ब रुपैयाँ नाघेको छ ।
यो प्रणालीले बैंकबीचको रकम स्थानान्तरणलाई छिटो, सुरक्षित र सहज बनाएको छ । डिजिटल बैंकिङ सेवाको विस्तारसँगै तत्काल रकम पठाउने आवश्यकता बढेकाले फास्टर पेमेन्ट सिस्टमको प्रयोग तीव्र रूपमा बढेको देखिन्छ ।
विशेष गरी व्यावसायिक कारोबार, संस्थागत भुक्तानी र व्यक्ति–व्यक्तिबीचको तत्काल रकम स्थानान्तरणमा यसको प्रयोग बढेको छ ।

एटीएमको प्रयोग अझै बलियो
डिजिटल भुक्तानी विस्तार भइरहे पनि एटीएम सेवाको प्रयोग अझै पनि बलियो रहेको तथ्यांकले देखाउँछ । नेपालभर २०८२ फागुनसम्म ५ हजार २६२ एटीएम मेसिन सञ्चालनमा छन् ।
एटीएममार्फत नगद झिक्ने कारोबार संख्या ९ करोड १२ लाखभन्दा बढी छ । कारोबार रकम ७३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । यसले नेपाली अर्थतन्त्र अझै नगदमा आधारित रहेको संकेत पनि गर्छ ।
विशेष गरी ग्रामीण क्षेत्र, साना व्यापार र औपचारिक डिजिटल पहुँच कम भएका समुदायमा नगद कारोबारको भूमिका अझै महत्वपूर्ण देखिन्छ । यद्यपि, एटीएम कारोबारको वृद्धिदर मोबाइल बैंकिङ र क्यूआरको तुलनामा सुस्त देखिन्छ ।

डेबिट र क्रेडिट कार्ड
नेपालमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड ४२ लाखभन्दा बढी पुगेको छ । क्रेडिट कार्ड प्रयोगकर्ता ३ लाख ३१ हजारभन्दा धेरै छन् । प्रिपेड कार्ड प्रयोगकर्ता पनि २ लाख ७९ हजार पुगेका छन् । डेबिट कार्डमार्फत २०८२ फागुनसम्म ९ करोड ८१ लाखभन्दा बढी कारोबार सम्पन्न भएका छन् भने कारोबार रकम ७५ अर्ब रुपैयाँ नाघेको छ ।
क्रेडिट कार्ड प्रयोग भने अझै सीमित देखिन्छ । नेपालमा उपभोक्ता संस्कृति विस्तार भए पनि क्रेडिटमा खर्च गर्ने प्रवृत्ति पश्चिमी देशहरुमा जस्तो विकसित भइसकेको छैन । तथापि, सहरी मध्यम वर्गमा अनलाइन खरिद, होटल, रेस्टुरेन्ट र यात्रा खर्चका लागि क्रेडिट कार्ड प्रयोग बढ्दै गएको देखिन्छ ।

इन्टरनेट बैंकिङको स्थिर विस्तार
इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या पनि बढ्दो क्रममा छ । २०८२ फागुनसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजारभन्दा बढी पुगेका छन् । इन्टरनेट बैंकिङमार्फत ५ करोड ५० लाखभन्दा बढी कारोबार भएको छ भने कारोबार रकम २२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
मोबाइल बैंकिङको तुलनामा इन्टरनेट बैंकिङको वृद्धि केही सुस्त भए पनि ठूला रकमको कारोबार र व्यावसायिक प्रयोजनका लागि यसको प्रयोग महत्वपूर्ण र सहज मानिन्छ ।

ई–कमर्सको बढ्दो प्रभाव
नेपालमा ई–कमर्स विस्तारसँगै डिजिटल भुक्तानीको प्रयोग पनि बढेको देखिन्छ । २०८२ फागुनसम्म ई–कमर्समार्फत करिब १९ लाख कारोबार सम्पन्न भएका छन् । कारोबार रकम १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
कोभिड–१९ महामारीपछि अनलाइन खरिद गर्ने प्रवृत्तिमा आएको परिवर्तन अझै कायम रहेको देखिन्छ । कपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स, टिकेटिङ र विभिन्न सेवाहरूको डिजिटल खरिद बढ्दै गएको छ ।

आरटीजीएसः ठूलो रकम कारोबारको आधार
ठूलो रकमको बैंकिङ कारोबारका लागि प्रयोग हुने ‘रियल टाइम ग्रस सेटलमेन्ट’ अर्थात् आरटीजीएस प्रणाली पनि नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण माध्यम बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ फागुनसम्म आरटीजीएसमार्फत ६० हजारभन्दा बढी कारोबार सम्पन्न भएका छन् ।
कारोबार संख्या अन्य प्रणालीभन्दा कम भए पनि रकमका हिसाबले यो निकै ठूलो छ । २०८२ फागुनसम्म आरटीजीएसमार्फत ५३ खर्ब रुपैयाँभन्दा बढी रकम कारोबार भएको तथ्यांकले देखाउँछ । यसले नेपालमा ठूला व्यावसायिक तथा संस्थागत कारोबार बैंकिङ प्रणालीमार्फत व्यवस्थित रूपमा भइरहेको देखाउँछ ।

सामाजिक प्रभाव
डिजिटल भुक्तानीको विस्तारले बैंकिङ प्रणालीलाई मात्र परिवर्तन गरेको छैन, यसले सामाजिक र आर्थिक व्यवहारमा पनि गहिरो प्रभाव पारिरहेको छ । डिजिटल माध्यमले वित्तीय पहुँच विस्तार गरेको छ । बैंक शाखा नपुगेका क्षेत्रका नागरिकले पनि मोबाइलमार्फत बैंकिङ सेवा प्रयोग गर्न थालेका छन् ।
त्यस्तै, कारोबारको पारदर्शिता बढेको छ । डिजिटल माध्यमबाट हुने भुक्तानीले नगद कारोबारमा हुने अनियमितता र जोखिम कम गर्न सहयोग पु¥याएको छ । व्यवसाय सञ्चालन सहज भएको छ भने साना व्यापारीले क्यूआर भुक्तानी स्वीकार गरेपछि ग्राहकको पहुँच विस्तार भएको छ । त्यसैगरी, सरकारी सेवा वितरण पनि सहज बन्दै गएको छ । कर, राजस्व, शुल्क तथा विभिन्न सरकारी सेवाको डिजिटल भुक्तानी बढ्दै गएको छ ।

चुनौती अझै बाँकी
नेपाल डिजिटल भुक्तानीतर्फ तीव्र गतिमा अघि बढिरहे पनि केही चुनौती अझै कायम छन् । ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच र डिजिटल साक्षरता ठूलो समस्याका रुपमा उभिएको छ । धेरै नागरिक डिजिटल फ्रड, साइबर सुरक्षा र अनलाइन ठगीबारे पर्याप्त सचेत छैनन् ।
त्यस्तै, विभिन्न डिजिटल प्लेटफर्मबीच अन्तरसम्बन्ध र सेवा गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता पनि देखिन्छ । कतिपय समयमा प्रणाली अवरुद्ध हुने, कारोबार अड्किने वा रकम फिर्ता हुन ढिला हुने समस्या प्रयोगकर्ताले भोगिरहेका छन् ।
साइबर सुरक्षाको जोखिम पनि बढ्दो चुनौती हो । डिजिटल कारोबार बढेसँगै अनलाइन ठगी, फिसिङ र ह्याकिङका घटना बढ्न सक्ने भएकाले बैंक तथा नियामक निकायले सुरक्षा प्रणालीलाई थप बलियो बनाउनुपर्ने देखिन्छ ।

नगदरहित अर्थतन्त्रतर्फको यात्रा
राष्ट्र बैंकको तथ्यांकले नेपाल नगदरहित अर्थतन्त्रतर्फ क्रमशः अघि बढिरहेको स्पष्ट संकेत दिएको छ । मोबाइल बैंकिङ, वालेट, क्यूआर, फास्टर पेमेन्ट सिस्टम र ई–कमर्सको विस्तारले डिजिटल अर्थतन्त्रको आधार मजबुत बनाइरहेको छ ।
विशेष गरी युवा पुस्ता डिजिटल भुक्तानीको मुख्य चालकका रूपमा देखिएको छ । स्मार्टफोनको पहुँच, इन्टरनेट विस्तार र डिजिटल सेवाप्रतिको आकर्षणले आगामी वर्षहरूमा डिजिटल कारोबार अझ तीव्र रूपमा बढ्ने अनुमान गर्न सकिन्छ ।
नेपालको अर्थतन्त्र अहिले केवल बैंकको काउन्टरमा सीमित छैन । अब आर्थिक गतिविधि मोबाइल स्क्रिनभित्र प्रवेश गरिसकेको छ । यही परिवर्तनले भविष्यको नेपालको वित्तीय संरचना निर्धारण गर्नेछ । डिजिटल भुक्तानीको विस्तार केवल प्रविधिको कथा होइन, नयाँ आर्थिक प्रवृत्तिको सुरुवात पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्