नेभिगेशन
अर्थतन्त्र

उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योगी व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले नबनाएको बताए ।
निजी क्षेत्रलाई सरकारको महŒवपूर्ण साझेदारका रूपमा लिँदै उनले उद्योगी व्यवसायीलाई भ्रममा नपर्न आग्रह गरे । अर्थमन्त्री वाग्लेले सरकारले १०० अर्ब अमेरिकी डलरबराबरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिएको र त्यसको प्रमुख साझेदार निजी क्षेत्र नै भएको बताए ।
कार्यक्रममा उनले सरकारका पाँच प्रमुख प्राथमिकताबारे पनि जानकारी दिए । उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी र पाँचौं पर्यटन संस्कृति तथा इतिहासमार्फत नेपालको सौम्य शक्ति विस्तार हो ।
उनले मुलुक अहिले अर्थतन्त्रको दिशा परिवर्तन गर्न सकिने महŒवपूर्ण मोडमा रहेको बताए । त्यसका लागि उद्योगी व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गर्दै सरकारले अर्थतन्त्र सुधारका लागि ठोस योजना ल्याउने संकेत गरे ।
राजनीतिक स्थायित्व र इमानदारीपूर्ण नेतृत्वबाट छिमेकी मुलुक भारतले हासिल गरेको आर्थिक प्रगतिको उदाहरण दिँदै उनले नरेन्द्र मोदीले सत्ता सम्हालेको समयको भारत र अहिलेको नेपालको केही आर्थिक सूचक समान रहेको बताए ।
‘सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वमा सरकार गठन हुँदा भारतका धेरै आर्थिक सूचक नेपालकै वर्तमान अवस्थासँग मिल्दोजुल्दो थिए,’ उनले भने, ‘पछिल्लो १२ वर्षमा भारतले उल्लेखनीय फड्को मारेको छ । नेपालले पनि अब तीव्र आर्थिक रूपान्तरणको बाटो समात्नुपर्ने समय आएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्