नेभिगेशन
अर्थतन्त्र

नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा

सुनसरी । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ । मोरङको धरान उपमहानगरपालिका–१४ मा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पर्यटन बोर्डका निमित कार्यकारी प्रमुख हिकमत सिंह ऐर र धरान उपमहानगरकी पूर्व उपमेयर मञ्जु भण्डारीले संयुक्त रूपमा लिगको उद्घाटन गरे । धरान–४ छोटी मोरङस्थित प्याराग्लाइडिङ उडानस्थलमा आयोजित समारोहमा नेपाल, भारत र बंगलादेशका ३२ खेलाडीको सहभागिता रहेको लिगका संयोजक भोपाल च्यमलुडले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको बताए । ‘प्याराग्लाइडिङ र माउन्टेनियरिङजस्ता खेलले साहसिक खेल पर्यटनको विकासमा महŒवपूर्ण योगदान पु¥याउनेछ,’ उनले भने । धरान र आसपासका क्षेत्रलाई प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको रहेको मुख्यमन्त्री कार्कीले बताए ।
नयाँ आर्थिक वर्षदेखि पर्यटन वर्ष र भ्रमण वर्षलाई जोडेर प्याराग्लाइडिङसहित १० भन्दा बढी विधाका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए । कार्यक्रममा सहभागी भारतीय खेलाडी पाइलटहरूलाई स्वागत गर्दै मुख्यमन्त्री कार्कीले नेपाल र भारत, विशेषगरी सिक्किमबीचको भाषिक तथा सांस्कृतिक निकटताले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले यस किसिमका साहसिक खेल गतिविधिले कोशी प्रदेशको पर्यटनलाई महŒवपूर्ण योगदान गर्ने बताए । उनले भने, ‘प्याराग्लाइडिङमार्फत संसारको शिखर सगरमाथा, मकालु, ल्होत्सेजस्ता हिमालहरूको दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाइमा पर्ने विश्वास व्यक्त गर्दछु । नेपाल पर्यटन बोर्डले यसको प्रवर्धनका लागि अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ खेल प्रतियोगिता आयोजनाका लागि भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’
धरान उपमहानगरपालिकाकी पूर्वउपमेयर मञ्जु भण्डारीले छोटी मोरङ क्षेत्रमा प्याराग्लाइडिङका लागि उपयुक्त उडान बिन्दु पहिचान गरिएको जानकारी दिइन् । प्राविधिक अध्ययनपछि तत्कालीन कार्यपालिकाले उक्त क्षेत्रलाई आधिकारिक उडान तथा अवतरण बिन्दुका रूपमा निर्धारण गरेको उनले बताइन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला, पुरुष र महिला तथा राष्ट्रियतर्फ पुरुष र महिला गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १८औं एसियाली खेलकुदमा पदक जितेका खेलाडी पनि सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्