नेभिगेशन
अर्थतन्त्र

६.५ मेगावाटको दरखोलामा एमएमबी बैंकको एकल लगानी

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–३ स्थित कुनौटामा निर्माण हुन लागेको ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजनामा ऋण लगानी जुटेको छ । एनएमबी बैंकले आयोजनामा एकल लगानी गर्ने प्रतिबद्धता जनाएको हो । 
बैंक र आयोजनाको प्रवर्धक दरखोला हाइड्रोपावर प्रालिबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौता भएको छ । सम्झौता अनुसार कुल १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा बैंकले ९१ करोड रुपैयाँ एकल ऋण लगानी गर्नेछ । 
वित्तीय व्यवस्थापन सम्झौता पत्रमा बैंकका दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल र प्रवर्धक कम्पनीका अध्यक्ष रमेशप्रसाद भण्डारी तथा सञ्चालक बलभद्र ढकालले हस्ताक्षर गरेका छन् । आयोजनामा बैंकले गर्ने लगानी कुल लागतको ७० प्रतिशत भएको दुलालले बताए ।
३० प्रतिशत स्वपुँजी लगानी प्रवर्धक कम्पनीले गरिरहेको छ । कार्यक्रममा बैंकका वरिष्ठ डिसिओ सुदेश उपाध्याय र आयोजनाका सञ्चालक कलिराम प्रजा, आयोजना प्राविधिक परामर्शदाताको तर्फबाट सुवासचन्द्र बराल र वित्तीय परामर्शदाता नारायणप्रसाद पौडेललगायतको उपस्थिति थियो ।
आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ३६ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहबाट ७ किलोमिटर दूरीमा पर्ने डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्