नेभिगेशन
खेलकुद

बोगटीलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्षको ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ ओलम्पियन टीकाबहादुर बोगटीलाई प्रदान गर्ने भएको छ । पोखरामा यही वैशाख ३१ गते हुने पोखरा स्पोर्टस् अवार्ड समारोहमा उनलाई उक्त अवार्ड प्रदान गर्ने निर्णय मञ्चले गरेको हो ।
गोरखा नगरपालिका ताप्ले गाउँमा विसं २०१९ मा जन्मिनुभएका बोगटीले एथ्लेटिक्सका माध्यमबाट नेपालको गौरवलाई अन्तरराष्ट्रिय जगतमा पु–याएबापत अवार्ड प्रदान गर्ने लागिको मञ्चका अध्यक्ष एमवी आस्थामगरले बताए ।
विसं २०३७ नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका बोगटीले विसं २०४४ देखि अन्तरराष्ट्रिय ट्रयाकमा पाइला राखेका थिए । बोगटीले राष्ट्रियस्तरका थुप्रै प्रतियोगितामा स्वर्ण पदक जितेर आफूलाई अब्बल सावित गरेका थिए ।
बोगटीको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि सन् १९८८ को सियोल ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु हो । विश्वका हस्ती धावकसँगै ओलम्पिकको ट्रयाकमा दौडिएर उनले नेपालको चन्द्र–सूर्य अङ्कित झण्डालाई विश्वमाझ चिनाए । यहाँले थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका छन् ।
खेल जीवनमा प्राप्त सफलताकै कारण बोगटीलाई  सरकारले ‘गोरखा दक्षिणबाहु’ बाट समेत विभूषित गरेको थियो । तत्कालीन समयमा अहिलेको जस्तो सेवासुविधा नभए पनि दृढ सङ्कल्पका साथ आफू खेलमा लागिरहेको उनले बताए ।
हाल ६४ वर्षको उमेरमा बोगटी अझै पनि उत्तिकै ऊर्जावान् छन् ।  खेलबाट सक्रिय विश्राम लिएपछि उनी गोरखाको आफ्नै माटोमा कृषि कर्ममा रमाइरहेका छन् ।
खेतीपातीसँगै उनले नयाँपुस्तालाई एथ्लेटिक्सको ज्ञान र अनुशासन सिकाउने गुरुको जिम्मेवारी निभाएका छन् । पोखरा स्पोर्टस् अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्