नेभिगेशन
प्रदेश

ठेकेदार नयाँ, नियति पुरानै

बुटवल । बुटवलको मुख्य मेरुदण्ड मानिने साढे तीन किलोमिटर सडक खण्ड एक दशकदेखि अलपत्र अवस्थामा रहँदा एकातिर सहरको सौन्दर्य र व्यापार खस्किएको छ भने अर्कातिर राज्यलाई करोडौंको अतिरिक्त आर्थिक भार थपिएको छ । 
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चौराहादेखि गोलपार्कसम्मको यो खण्ड निर्माण सुरु भएको १० वर्ष पुग्दा पनि भौतिक प्रगति ५६ प्रतिशतमा मात्रै सीमित हुनुले विकास आयोजनामा हुने ढिलासुस्तीको चरमतालाई उदांगो पारेको छ । 
बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजनाअन्तर्गतको यस सडक खण्डलाई आधुनिक ६ लेनमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते कञ्चनजंघा–बिरुवा जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । ५४ करोड रुपैयाँ लागतमा ३० महिनाभित्र निर्माण सक्ने भनिए पनि ८ पटकसम्म म्याद थप्दासमेत काम पूरा नभएपछि सडक डिभिजन कार्यालयले २०८१ वैशाखमा पुरानो ठेक्का रद्द गरेको थियो ।
पुरानो ठेक्का तोडिएपछि बाँकी कामका लागि बावुल दर्शन मालिका जेभीसँग ३३ करोड रुपैयाँमा नयाँ सम्झौता गरियो, तर नयाँ निर्माण व्यवसायीले पनि सन्तोषजनक काम गर्न सकेका छैनन् । हालसम्म १० पटक म्याद थप भइसकेको यस आयोजनाको पछिल्लो म्याद चैत १२ गते सकिएको छ भने पुनः असार मसान्तसम्म म्याद थप्ने प्रक्रिया अघि बढाइएको छ । सडक डिभिजन कार्यालय बुटवलका अनुसार हालसम्म वित्तीय प्रगति ४३.९५ प्रतिशत मात्र छ । 
सडक निर्माणमा भएको यो विलम्बले गर्दा मूल्यवृद्धि समायोजन र प्रशासनिक खर्चका नाममा राज्यलाई थप १५ करोड रुपैयाँको आर्थिक भार परेको छ । सुरुमा ४७ करोड लागत अनुमान गरिएको यो सडक ६२ करोड नाघिसक्दा पनि आधा मात्र सम्पन्न हुनुले व्यवस्थापकीय कमजोरीलाई स्पष्ट पारेको छ ।
राजनीतिक खिचातानी र पहुँचवाला निर्माण व्यवसायीका कारण पनि यो सडकले पूर्णता नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्र पूर्वअर्थमन्त्री विष्णु पौडेलको गृहनगर हो भने वर्तमान निर्माण कम्पनीका सञ्चालकहरू रास्वपा सांसद तौफिक अहमद खानको परिवारसँग सम्बन्धित छन् । कुनै समय सडककै लागि अनसन बस्ने घोषणा गरेका बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले समेत पछिल्लो समय जनताको प्रश्नबाट पन्छिने गरेको आरोप लाग्दै आएको छ । 
धुलो र हिलोका कारण स्थानीय बासिन्दा र व्यापारीहरूले सास्ती खेपिरहेका छन् भने बुटवलको मुख्य बजार क्षेत्र कुरूप बन्दै गएको छ । साढे १० मिटर चौडाइको मुख्य लेन, सर्भिस लेन, फुटपाथ र ग्रीनबेल्टसहितको आधुनिक संरचना बन्ने सपना अझै कति समय धुलोमै हराउने हो भन्नेमा सर्वसाधारण अन्योलमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्