नेभिगेशन
अर्थतन्त्र

संसद्को बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं ।  संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । सुरुमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 
उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ । त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।
यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्