नेभिगेशन
खेलकुद

‘स्थानीयस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गरिने’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा स्थानीयस्तरमा क्रिकेटको विकास गर्दै खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
    नेपाल क्रिकेट संघद्वारा आज विराटनगरमा आयोजित दुई दिने वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले प्रदेशका नौ स्थानमा आधारभूत तहदेखि क्रिकेट खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    मुख्यमन्त्री कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रंगशाला हस्तान्तरण गरेमा आगामी दुई वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक रंगशाला निर्माण गरी सञ्चालनमा ल्याउने उल्लेख गरे । उनले मेची रंगशालामा प्रदेश सरकारले अन्तर्राष्ट्रिस्तरको प्रतियोगिता सञ्चालन गर्नका लागि रातो किताबमा बजेटको व्यवस्था गर्ने जानकारी दिँदै सो रंगशालामा रात्रिखेलका लागि ‘फ्लडलाइट’ जडानका गरिने बताए ।
    मुख्यमन्त्री कार्कीले प्रदेशमा क्रिकेटको विकास गर्दै सक्षम खेलाडी उत्पादनका लागि नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा प्रदेश सरकारलाई जोड्न क्रिकेट संघलाई आग्रह गर्दै सो प्रतियोगिताको प्रथम पुरस्कारको व्यवस्था गर्ने तथा विराटनगर किङ्सको नाम परिवर्तन गरी ‘कोशी अर्नाज’ राख्न सुझाव दिए । उनले भने, ‘विकास भनेको पुलपुलेसा र सडक मात्र नभएर खेलकुदको माध्यमबाट जीवनस्तर सुधार गर्नु, मुलुकमा रोजगारी सिर्जना गर्नु तथा स्थानीयको आयआर्जन बढाउँदै आर्थिक गतिविधि चलायमान बनाउनु पनि हो ।’
    प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङथेपले क्रिकेटको माध्यमबाट नेपालको पहिचान विश्वमा पुगेको बताउँदै यस खेलको भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले प्रदेश खेलकुद विकास बोर्डमा उपाध्यक्ष र सदस्यसचिव नियुक्ति नहुनाले खेलकुदका लागि बजेट छुट्याउन समस्या भएको धारणा राखे ।
    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका वरिष्ठ व्यवस्थापक रोहित पोद्धारले नेपाल सहआयोजक भएको अन्डर–१९ महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने र खेलाडीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहताले मुलुकमा लोकप्रिय खेलका रूपमा पछिल्लो समय क्रिकेट विकास हुँदै गएकाले यसको थप विकासका लागि आवश्यक सहयोग निरन्तर रहने विचार व्यक्त गरे ।
    नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चुतुरबहादुर चन्द्र, उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारश खड्का, कोशी प्रदेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेलगायतले नेपाल प्रिमियर लिगका कारण गाउँगाउँमा क्रिकेटको लोकप्रियता वृद्धि हुँदै गएको धारणा राखे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्