नेभिगेशन
विश्व

के निकट भविष्यमा रोबोट युद्ध हुँदैछ ?

किएभ । युक्रेनको युद्धभूमिमा अब चाँडै मानव सैनिकभन्दा बढी रोबोट सैनिक देखिन सक्ने दाबी एक युक्रेनी–बेलायती सैन्य स्टार्टअपले गरेको छ ।
बीबीसीले लन्डनस्थित युफोर्सको कार्यालय भ्रमण गरेको थियो । कम्पनीको कार्यालयमा कुनै नामपट्टिका छैनन् र अत्यन्त गोप्य शैलीमा सञ्चालन गरिएको छ । कम्पनीका अनुसार सम्भावित रुसी तोडफोडबाट जोगिन यस्तो गरिएको हो ।
युक्रेनले हालै गरेको एउटा अभूतपूर्व सैन्य कारबाहीमा यस कम्पनीको संलग्नता रहेकाले बीबीसीले यसबारे जानकारी लिन चाहेको थियो । युक्रेनका अनुसार उक्त कारबाहीमा शत्रु क्षेत्र केवल रोबोट र ड्रोन प्रयोग गरेर कब्जा गरिएको थियो ।
यो दाबी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत महिना सार्वजनिक गरेको भिडियोमा गरिएको थियो । यसमा युक्रेनले विकास गरेका नयाँ रोबोटिक हतियारहरू देखाइएको थियो ।
युद्धभरि दुवै पक्षले मानवविहीन हवाई तथा स्थलीय प्रणालीको व्यापक प्रयोग गरेका छन् । विश्लेषकहरूका अनुसार यो युद्धले सैन्य प्रविधिको विकासलाई अत्यधिक तीव्र बनाएको छ । यसले युद्धको भविष्य र त्यसले मानव तथा रोबोट सैनिकमाथि पार्ने प्रभावबारे बहसलाई पनि चर्काएको छ ।
१ लाख ५० हजार सैन्य अभियान
जेलेन्स्कीले युद्ध इतिहासमै पहिलोपटक भएको दाबी गर्दै यो कारबाहीलाई व्यापक प्रचार गरेका छन् । तर युक्रेनी सेनाले यसबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।
त्यस्तै, युफोर्सका प्रतिनिधिले पनि उक्त रोबोटिक युद्धबारे टिप्पणी गर्न मानेनन् । तर कम्पनीका हवाई, स्थलीय र समुद्री ड्रोन अहिले युद्धमै प्रयोग भइरहेको बताए ।
‘म त्यो कारबाही वा त्यसमा युफोर्स कसरी संलग्न थियो भन्नेबारे विस्तृत जानकारी दिन सक्दिनँ,’ कम्पनीकी बेलायती रणनीतिक साझेदारी निर्देशक रियानोन प्याडलीले भनिन्, ‘तर २०२२ मा रुसले पूर्ण आक्रमण सुरु गरेयता हामीले १ लाख ५० हजारभन्दा बढी सफल सैन्य अभियान सञ्चालन गरिसकेका छौँ ।’
यति भने स्पष्ट छ, रोबोटिक हतियार प्रणाली अहिले ठूलो व्यापार बनेको छ । कम्पनी तीव्र गतिमा विस्तार भइरहेको छ र हालै यसको मूल्यांकन १ अर्ब डलरभन्दा माथि पुगेपछि यसले ‘युनिकर्न’ कम्पनीको दर्जा प्राप्त गरेको छ ।
प्याडलीका अनुसार भविष्यमा ‘रोबोटविरुद्ध रोबोट’ युद्ध सामान्य दृश्य बन्न सक्छ र मानव सैनिकभन्दा मानवविहीन प्रणाली नै बढी हुन सक्छन् ।
रुसले पनि विस्फोटक बोकेर युक्रेनी मोर्चामा पठाइने रोबोट प्रयोग गरिरहेको छ । विश्लेषकहरूका अनुसार यस्तो प्रविधिले भविष्यका युद्धको स्वरूप नै बदल्ने सम्भावना छ ।
मेलानिन सिसोन भन्छिन्, ‘म युक्रेनलाई भविष्यको राष्ट्रिय सुरक्षा र हतियार विकासको ठूलो शिक्षक मान्छु । आवश्यकताले कसरी आविष्कार जन्माउँछ भन्ने उत्कृष्ट उदाहरण हो यो ।’
नयाँ पुस्ताका रक्षा कम्पनी
युफोर्स अहिले ‘नियो–प्राइम’ भनिने नयाँ रक्षा कम्पनीहरूको समूहमा पर्छ, जसले परम्परागत विशाल कम्पनीहरूलाई चुनौती दिइरहेका छन् । यसमा बीजीसिस्टम, बोइङ, लकहिड मार्टिनजस्ता स्थापित कम्पनीहरू समावेश छन् ।
अर्को उदाहरण अमेरिकी रक्षा प्रविधि कम्पनी एन्ड्रुल इन्डस्ट्रिज हो । यसले फेब्रुअरीमा चालकविहीन लडाकु विमानको पहिलो परीक्षण उडान सफलतापूर्वक गरेको जनाएको थियो ।
अहिलेसम्म अधिकांश ड्रोन मानिसले टाढाबाट सञ्चालन गर्ने गरेका छन् । तर एन्ड्रुलजस्ता कम्पनीहरूले अब हतियार प्रणालीमा कृत्रिम बुद्धिमत्ता थपिरहेका छन् ।
युफोर्सका स्थलीय ड्रोनमा लक्ष्य पहिचानमा सहयोग गर्ने सफ्टवेयर प्रयोग गरिएको छ भने एन्ड्रुलका केही प्रणालीले आक्रमणको अन्तिम चरण आफैँ सम्पन्न गर्न सक्ने कम्पनीको दाबी छ ।
‘एआई–फस्र्ट’ युद्धनीति
अमेरिकी सरकारले आफ्नो सेनालाई आक्रामक रूपमा एआई अपनाउन सार्वजनिक रूपमा आह्वान गरिसकेको छ ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले जनवरीमा अमेरिका ‘एआई–फस्र्ट युद्ध शक्ति’ बन्नुपर्ने बताएका थिए ।
गत वर्ष प्रकाशित अमेरिकी रक्षा विभागको प्रतिवेदनअनुसार चीनले पनि एआई–सक्षम सैन्य प्रणालीको प्रयोग तीव्र रूपमा बढाइरहेको छ ।
विश्लेषकहरूका अनुसार भविष्यमा युद्धभूमिमा रोबोटहरू एकअर्कासँग प्रत्यक्ष भिड्ने अवस्था टार्न गाह्रो हुन सक्छ ।
ज्याकब पाराकिलास भन्छन्, ‘युक्रेनी र रुसी ड्रोन अहिले नै एकअर्कासँग लडिरहेका छन् । यो प्रवृत्ति स्थलीय र समुद्री युद्धमा फैलिनु अत्यन्त सम्भावित, झन्डै अपरिहार्य नै देखिन्छ ।’
नैतिक र मानवअधिकारको चिन्ता
तर मानवअधिकार समूहहरूले हतियार प्रणालीमा बढ्दो स्वचालनले गम्भीर चिन्ता पैदा गरेको बताएका छन् ।
प्याट्रिक विल्केन भन्छन्, ‘सेनाले लक्ष्य पहिचानजस्ता प्रक्रियालाई तीव्र बनाउन एआई प्रयोग गरिरहेका छन् । तर जीवन–मृत्युको निर्णय मेसिनलाई सुम्पनु गम्भीर नैतिक र मानवअधिकार जोखिम हो ।’
हतियार निर्माता कम्पनीहरू भने ‘मानव नियन्त्रण’ कायम रहेको दाबी गर्छन् । उनीहरूका अनुसार बल प्रयोग गर्ने अन्तिम निर्णय सैनिक अधिकारीकै हातमा रहन्छ ।
रिच ड्रेक भन्छन्, ‘मानिसलाई आराम र खाना चाहिन्छ, तर युद्धमा त्यो सधैँ सम्भव हुँदैन । कम्प्युटिङ प्रणालीले ‘किल चेन’ भनिने सम्पूर्ण प्रक्रियामा त्रुटि कम गर्न मद्दत गर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्