नेभिगेशन
विश्व

यूरोपमा अमेरिकी सेनाको संख्या कति ?

अमेरिकाको युरोपमा ठूलो सैन्य उपस्थिति छ । विभिन्न अनुसन्धान संस्थाका अनुसार युरोपभर अमेरिकाका दर्जनौँ सैन्य अड्डामा ८० हजारभन्दा बढी सैनिक तैनाथ छन् । दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षाको मुख्य आधार मानिने यो उपस्थिति विशेषगरी जर्मनी, इटाली, बेलायत र पोल्यान्डमा केन्द्रित छ ।
काउन्सिल अन फरेन रिलेसन्सका अनुसार सन् २०२५ को सुरुआतसम्म युरोपमा अमेरिकी सैनिकको संख्या करिब ८४ हजार थियो । प्रशिक्षण र रोटेशनका आधारमा यो संख्या समय–समयमा घटबढ हुन्छ । युक्रेन युद्धका क्रममा पूर्वी युरोपमा थप सैनिक पठाइएपछि यो संख्या ७५ हजारदेखि १ लाख ५ हजारसम्म पुगेको थियो ।
युरोपमा अमेरिकी सैन्य उपस्थितिको सबैभन्दा ठूलो केन्द्र जर्मनी हो । यहाँ रहेको रामस्टाइन हवाई अड्डा अमेरिका बाहिरको सबैभन्दा ठूलो अमेरिकी हवाई अड्डा मानिन्छ । युरोपस्थित अमेरिकी सैन्य कमान्डको मुख्यालय स्टुटगार्टमा छ भने युरोप–अफ्रिका क्षेत्रका लागि अमेरिकी सेनाको मुख्यालय विस्बाडेनमा रहेको छ । ग्राफेनभोहर र होहेनफेल्समा ठूला सैन्य प्रशिक्षण केन्द्र छन् । जर्मनीमा करिब ३८ हजार अमेरिकी सैनिक तैनाथ छन् ।
सैन्य अड्डा र सैनिक संख्याका हिसाबले इटाली दोस्रो स्थानमा पर्छ । यहाँ पाँच अमेरिकी सैन्य अड्डा छन् । तीमध्ये एभियानो हवाई अड्डा सबैभन्दा महत्वपूर्ण मानिन्छ । उत्तरी इटालीमा भेनिसबाट करिब ८० किलोमिटर टाढा रहेको यो अड्डामा करिब ८ हजार ५ सय अमेरिकी सैनिक छन् । इटालीका अन्य अमेरिकी अड्डामा क्याम्प डार्बी, भिचेन्जास्थित क्याम्प एडरले, सिसिलीस्थित सिगोनेला नौसैनिक अड्डा र नेपल्सस्थित नौसैनिक कमान्ड समावेश छन् ।
अमेरिकाका लागि बेलायतको रणनीतिक महŒव पनि धेरै छ । आरएएफ लेकनहिथमा अमेरिकी एफ–३५ लडाकु विमान तैनाथ छन् । आरएएफ मिल्डेनहललाई हवाई अभियान र सैन्य सामग्री आपूर्तिका लागि प्रयोग गरिन्छ भने आरएएफ फेयरफोर्डलाई प्रायः नेटोका आणविक अभियानका लागि प्रयोग गरिन्छ ।
पोल्यान्डमा पनि अमेरिकाका धेरै सैन्य अड्डा छन् । रेडजिकोभो मिसाइल प्रतिरक्षा अड्डालाई नोभेम्बर २०२४ मा पहिलो स्थायी अमेरिकी अड्डाका रूपमा औपचारिक उद्घाटन गरिएको थियो । क्याम्प कोशियुस्को अमेरिकी सेनाको पाँचौँ कोरको मुख्य अड्डा हो भने पोविड्ज हवाई अड्डा सैन्य उपकरण भण्डारण र रसदका लागि प्रयोग हुन्छ । लास्क हवाई अड्डामा अमेरिकी वायु सेनाका टुकडी र एफ–१६ लडाकु विमान तैनाथ छन् । पोल्यान्डको रक्षा मन्त्रालयका अनुसार सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पोल्यान्डमा अमेरिकी सैन्य उपस्थितिको महत्व अझ बढेको छ ।
युरोपमा अमेरिकी सैन्य सञ्जालको अर्को महत्वपूर्ण अड्डा टर्कीस्थित इन्सिर्लिक हवाई अड्डा हो । यसलाई मध्यपूर्व र भूमध्यसागर क्षेत्रमा अमेरिकाको सबैभन्दा रणनीतिक अड्डामध्ये एक मानिन्छ ।
युरोपस्थित अमेरिकी सैनिकले सीमाको सुरक्षा, सैन्य सामग्री आपूर्ति, संयुक्त अभ्यास र सहयोगी राष्ट्रका सेनालाई प्रशिक्षण दिने काम गर्छन् । जर्मनीको बुशेल हवाई अड्डामा अमेरिकी सैनिकले राखिएका बी–६१ आणविक बमको निगरानी गर्छन् । अमेरिकी नेशनल गार्ड र पूर्वी युरोपेली देशबीचको साझेदारी कार्यक्रमअन्तर्गत अमेरिकी सैनिकले लिथुआनियाली सेनासँग संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । त्यस्तै अमेरिकी १०औँ स्पेशल फोर्सका सैनिकले जर्मनीमा युक्रेनी सेनालाई विशेष सैन्य अभियानसम्बन्धी तालिम दिइरहेका छन् ।
सन् २०२२ यता अमेरिकाले युक्रेनलाई अन्य कुनै पनि देशभन्दा बढी सैन्य सहायता दिएको छ । अनुसन्धान संस्थाहरूका अनुसार युरोपमा अमेरिकी उपस्थिति युक्रेनी सैनिकलाई नयाँ हतियार चलाउने तालिम दिनुका साथै हतियार र गोला–बारुद युक्रेनसम्म पु¥याउन पनि महŒवपूर्ण बनेको छ ।
युरोपमा अमेरिकी सेना स्थायी तैनाथी, रोटेशन प्रणाली, नेशनल गार्ड साझेदारी कार्यक्रम र अस्थायी संयुक्त युद्धाभ्यास गरी चार प्रकारले परिचालित छ । विश्लेषकहरूका अनुसार दोस्रो विश्वयुद्धपछि युरोपमा स्थिरता कायम गर्न सुरु गरिएको अमेरिकी सैन्य तैनाथी अहिले युरोपको सामूहिक सुरक्षा व्यवस्थाको महŒवपूर्ण हिस्सा बनिसकेको छ । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्