नेभिगेशन
प्रदेश

तिलोत्तमामा ७ किमी आधुनिक सडक सम्पन्न

बुटवल । तिलोत्तमा नगरपालिकाको मंगलापुर–बेबरा–कान्छीबजारको सडक निर्माण सम्पन्न भएको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना मंगलापुर कान्छीबजार सडक स्तरोन्नति योजनाअन्तर्गत करिब ७ किलोमिटर लामो सडक बनेपछि स्थानीयले ठूलो राहतको अनुभव गरेका छन् ।
सिद्धार्थ राजमार्गबाट पूर्वतर्फ रोहिणी नदी हुँदै देवदह नगरपालिका जोडिने यस सडक आयोजनालाई तिलोत्तमाको गौरवको आयोजनाका रूपमा लिइएको छ । विश्व बैंकको आर्थिक सहयोगमा बनेको ७ किलोमिटर दूरीको सडक नेपाल अर्बन गभर्नेन्स एन्ड इन्फ्रास्टक्चर प्रोजेक्टअन्तर्गत बनेको जनाइएको छ । ५७ करोड ८२ लाख लागतको सडक निर्माणका लागि पाँच वर्ष अघि सम्झौता भएको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा निर्माण भएको यो सडकलाई तिलोत्तमाको महŒवपूर्ण सहरी पूर्वाधार आयोजनाका रूपमा हेरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
२०७१ सालमा साविकका ६ गाउँ विकास समिति मिलाएर बनेको नगरपालिकामा बनेको यो पहिलो र आधुनिक प्रविधि सडक भएको जनाइएको छ । 
सहरी आवागमनलाई सहज बनाउने, सडक सुरक्षामा सुधार ल्याउने, ढल निकास व्यवस्थापन व्यवस्थित गर्ने तथा योजनाबद्ध सहरी विकासलाई प्रवर्धन गर्न यो सडक निर्माण आयोजना सुरु भएको पालिकाका योजना शाखा प्रमुख ई.प्रदीप वन बताउँछन् ।
परियोजनाअन्तर्गत कालोपत्रे सडक, दुवैतर्फ नाली, फुटपाथ, सडक सुरक्षा संकेत, सडक फर्निचर, सडक बत्ती तथा सहरी सौन्दर्यीकरणका काम पनि सम्पन्न भएको छ । सडकको आइतबार विश्व बैंकका प्रतिनिधि, सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिको उपस्थितिमा नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्