नेभिगेशन
प्रदेश

यादवले विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी शुक्रबार जेठ १ गते विश्वासको मत लिने भएका छन् । प्रदेश मन्त्रिपरिषद्को सोमबारको बैठकबाट विश्वासको मत लिने मिति प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री यादवले बताए ।
पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका यादव कांग्रेसका संसदीय दलका नेता हुन् । उनलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । समर्थन फिर्ता गरेका खण्डमा ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिन लागेका हुन् । 
मधेस प्रदेशसभामा कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा गठबन्धन कायम राख्ने आइतबार चारै दलको बैठकले सहमति गरेका थिए । उक्त सहमतिपछि यादवको सरकार नढल्ने देखिएको छ ।
मधेस प्रदेशसभामा कांग्रेसका २२, जसपाका १७, नेकपाका १५ र लोसपाका ८ जना सांसद छन् । चार दलको बीचमा गठबन्धन कायम रहेको खण्डमा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन देखिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्