नेभिगेशन
अर्थतन्त्र

मेटलाइफ र खल्ती सुरक्षाद्वारा डिजिटल बीमा सुरु

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । यो योजना अब खल्ती एपमार्फत सहज रूपमा उपलब्ध हुनेछ, जसले वित्तीय सुरक्षा अझ सरल, छिटो र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।
बीमा सेवा लिन अब जटिल प्रक्रिया वा लामो समय कुर्नुपर्ने आवश्यकता छैन । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया कम गर्दै र चरणहरूलाई सरल बनाउँदै दैनिक रूपमा धेरै नेपालीले प्रयोग गर्ने डिजिटल प्लेटफर्ममार्फत सहज अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।
‘सुरक्षा ३६०’ ले जीवन तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण सुरक्षणहरू एउटै योजनाभित्र समेटेको छ, जसले ग्राहकलाई फरक–फरक बीमा योजना व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्त बनाउँछ । यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समावेश गरिएको छ ।
जीवन र स्वास्थ्यसँग सम्बन्धित आर्थिक जोखिमलाई समग्र रूपमा सम्बोधन गर्ने उद्देश्यसहित ल्याइएको यो योजना सिल्वर, गोल्ड र प्ल्यातिनम गरी तीनवटा प्याकेजमा उपलब्ध छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त योजना छनोट गर्न सक्नेछन् । २३ लाखदेखि ४६ लाखसम्मको बीमा सुरक्षण उपलब्ध रहेको यस योजनाको वार्षिक बीमाशुल्क छनोट गरिएको प्याकेजअनुसार ३ हजार ८१० बाट सुरु हुने भएकाले १८ देखि ५० वर्ष उमेर समूहका धेरै नेपालीका लागि समग्र बीमा सुरक्षण अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्