नेभिगेशन
अर्थतन्त्र

आईएमई खल्तीको ‘सुपर वालेट’ सुविधा

काठमाडौं । आईएमई खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आईएमई बैंकसँगको साझेदारीमा सञ्चालन गरिएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा भएको कम्पनीले जनाएको छ, जसले वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्छ । यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ अवधारणा सुरु गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको दाबी गरिएको छ ।
यसअघि यो सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो । अब भने केवाईसी प्रमाणित सबै व्यक्तिगत प्रयोगकर्ताले ‘सुपर वालेट’ प्रयोग गर्न सक्नेछन् । खल्तीका अनुसार सुपर वालेटमा हाल वार्षिक २.७५ प्रतिशत ब्याजदर उपलब्ध हुनेछ, जुन साझेदार बैंकको नीतिअनुसार समय–समयमा परिवर्तन हुन सक्नेछ । वालेटमा रहेको रकममा दैनिक आधारमा ब्याज गणना गरी मासिक रूपमा स्वतः जम्मा गरिने व्यवस्था गरिएको छ ।
यो सुविधा लिन प्रयोगकर्ताले केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ र कम्तीमा १० वटा सफल कारोबार गरेको वा वालेटमा एक हजार रुपैयाँ ‘ओभरनाइट ब्यालेन्स’ कायम गरेको हुनुपर्नेछ । प्रयोगकर्ताले खल्ती एपको ‘सुपर वालेट’ सेक्सनमा गई आवेदन दिन सक्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यो सेवाले वित्तीय पहुँच र बचत संस्कार विस्तारमा योगदान पुग्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्