नेभिगेशन
अर्थतन्त्र

भेरी नदीमा ६ वटा पुलको काम अझै अलपत्र

सुर्खेत । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो । 
सोही खण्डमा बाँकी रहेका १४ पुल निर्माण गर्नका लागि राष्ट्रिय योजनाले अर्थ मन्त्रालयले मागेको सहमति दिएको छ । सडक हस्तान्तरण गरेको सात वर्षपछि यो सडक खण्डको ५६ किमी कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । बाँकी ठाउँमा काम गर्न ठेक्का लागे पनि काम अझै सुरु भएको छैन । 
जाजरकोटको नलगाड–१२ बाट डोल्पाको दुनैसम्मको ६२ किलोमिटर निर्माण बाँकी रहेका १४ वटा पुल निर्माण गर्न योजना आयोगले सहमति दिएको छ । यही सडक खण्डको जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म १४ वटा पुल निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि फाइल मन्त्रालय हुँदै योजना आयोग पुगेको थियो । 
स्रोत सुनिश्चित भएसँगै अब अन्य कामहरू सुरु हुने योजना प्रमुख नरेश केसरीले जानकारी दिए । तीस मिटरभन्दा कमको पुलको डिजाइन स्वीकृत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले गर्छ । त्योभन्दा माथिको लागि माथिल्लो निकायमा पढाउने गरिन्छ ।
भेरी कोरिडोरभित्रका फूलबारी खोला पुल, चिसापानीखोला पुल, खहरेखोला, घट्टेखोला, मनकाखोला, रिजिगार, उसुमखोला, कर्पगाड, खदाङ, खदाङभेरी पुल, चुँगाड, त्रिपुराकोट, गल्ली गाड, खोरखोलामा पुल निर्माण गर्न सहमति दिइएको हो तर यही सडकखण्डमा ६ वर्षदेखि पाँचवटा पक्की पुल अलपत्र पर्दै आएका छन् । 
हाल यो सडकखण्डको नामकरण भेरी कोरिडोर सडक योजना राखिएको छ । यो कोरिडोरको कुल लम्बाइ ३१० किमी छ । जाजरकोट खलंगाको पासागाडदेखि नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्रेको काम यति बिल्डर्समार्फत भइरहेको छ ।
सुर्खेतबाट डोल्पाको अन्तिम विन्दुअर्थात् नेपालको चीनको सिमाना मरिमसम्म ३१० किमी रहेको भेरी कोरिडोर सडक योजना हाल जाजरकोटको अन्तिम विन्दु तल्लुसम्म काम भइरहेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको अन्तिम विन्दु मरिमअर्थात् चीनको सिमानासम्म पुगेर यो सडक पूरा हुन्छ । भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको योजना प्रमुख केसरीले बताए ।

कहाँ–कहाँ अलपत्र छन् पुल ?
भेरी कोरिडोरमा (जाजरकोट–डोल्पा) ६ वर्षदेखि अलपत्र परेका पुल कहिले निर्माण हुने हो कुनै अत्तोपत्तो छैन । ६ वर्षअघि लागेको पक्की पुलको ठेक्काको काम नहुँदा यस क्षेत्रका नेताले आलोचित हुनुपरेको छ । भेरी कोरिडोर जाजरकोट–डोल्पाको दुनै सडकखण्डको ११८ किमी सडकखण्डको ५६ किमीभित्र सडक कालोपत्रेको काम अन्तिम चरणमा पु¥याएपछि सँगसँगै लागेको पुलको ठेक्का भने कुनै काम भएको छैन । योजना प्रमुख केशरीका अनुसार पाँचमध्ये तीनवटा अर्कोलाई निर्माण गर्न दिइने र बाँकी दुई क्याराभानले नै निर्माण अन्तिम सहमति हुन लागेको बताए ।
उक्त क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते जाजरकोटको नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । यो १८ करोड ४३ लाख ४३ हजारमा ठेक्का लिइएको थियो । त्यस्तै उक्त जेभीले सोही मितिमा भेरी कोरिडोरकै जाजरकोटको नलगाड नगरपालिका–९ को त्रात्रखोला, वडा–८ को मैदेखोला, वडा–११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यो दोस्रो ठेक्का १३ करोड ५४ लाखमा यो ठेक्का सम्झौता भएको थियो ।
यी पुलहरू भेरी कोरिडोरका लाइफलाइनका रूपमा रहेका छन् । त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडको पुल निर्माण कार्य सुरु भएको छ । खदाङको पुल विवादका कारण अझै सुरु हुन सकेको छैन । एयपी एमआरपी पुलचोक जेभीले ठेक्का लिएको छ । रुकुम पश्चिमको आठबीसकोटको पिपलचौरस्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुलको काम करिब पूरा भएको छ ।
हाल नेपालगञ्ज, सुर्खेत तथा काठमाडौँबाट सिधै डोल्पाको सदरमुकाममा यातायातका साधन पुग्ने गरेका छन् । जाजरकोटको तल्लुसम्म कालोपत्रे गरेको सडकमा र बाँकी रुकुम पश्चिम हुँदै डोल्पाको सदरमुकामसम्म नेपाली सेनाले निर्माण गरेको कच्ची सडकमा गुड्दै डोल्पाको सदरमुकाम दुनैसम्म सवारीसाधन पुग्ने गर्छन् । डोल्पामा रहेका पर्यटकीय स्थलको भ्रमणमा जाने पर्यटकको चाप ठूलो मात्रामा रहेको पाइन्छ । 
जाजरकोटको तल्लुदेखि डोल्पाको त्रिरुपाकोटसम्मको सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेको दुई ठेक्कामा एउटाको काम सुरु भए पनि अर्को अझै सुरु हुन सकेको छैन । योजना प्रमुख केशरीले दिएको जानकारीअनुसार ७४ करोडमा उक्त ठेक्का लागेको छ । क्याब निर्माण, जावलाखेलले ठेक्का पाएको छ । बयालीस किमी सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेको हो । बाँकी छलगाडबाट मरिमसम्म १२० किमी सडक रहेको छ । बयालीस किमी कालोपत्र गर्नका लागि गत असोज २ गते सम्झौता भएको छ भने २०८५ असोज १ गतेसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्