नेभिगेशन
प्रदेश

फस्टाउँदै तरकारी खेती, हट्दै भारत जानुपर्ने बाध्यता

दैलेख । दैलेखको भैरवी गाउँपालिका–३ मा श्री चगत्रा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड र कृषि विकास कार्यालय दैलेखको सहयोगमा किसानहरु व्यावसायिक तरकारी खेतीबाट उल्लेखनीय आम्दानी गर्न सफल भएका छन् । विशेषगरी टनेल प्रविधिको प्रयोगले किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको हो ।
जिल्ला कृषि विकास कार्यालय दैलेखको रोड कोरीडर कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष प्लास्टिक टनेल सहयोग गर्ने गरिएसको छ । हाल पक्की टनेल ५० भन्दा बढी र २८ भन्दा बढी कच्ची टनेल निर्माण गरी किसानले मनग्य आम्दानी गरिरहेका छन् । उत्पादन भएको तरकारी कर्णाली प्रदेशको राजधानी सुर्खेतका व्यवसायीसँग समन्वय गरी बजारीकरण भइरहेको छ ।
कृषि विकास कार्यालय दैलेखले आर्थिक वर्ष २०८०÷८१ मा ५ लाख, २०८१÷८२ मा ३ लाख र २०८२÷८३ मा ३ लाख गरी टनेलमा ११ लाख रुपैयाँ अनुदान सहयोग गरेको बताएको छ । यसका अतिरिक्त खाद्यतत्व व्यवस्थापनका लागि प्रांगारिक मल र विषादीका साथै औजार उपकरण कार्यक्रम सहयोग गरेको जानकारी कार्यालयले दिएको छ । 
भैरवी गाँउपालिका वडा नम्बर ३ कि पवित्रा थापाले पाँच वर्षदेखि टनेलमार्फत व्यावसायिक तरकारी खेती गरिरहेकी छन् । परम्परागत रुपमा २ वटा मात्र खेती हुने गरेकोमा अहिले ४ वटासम्म खेती हुने गरेको उनले बताइन् । ‘व्यावसायिक तरकारी खेतीको आम्दानीले लुगा कपडा, बिमा भर्ने, केटाकेटीको पढाइ खर्चदेखि चाडपर्व खर्चसम्म धानेर बचत हुने गरेको छ,’ उनले भनिन् ।
भैरवी ३ कै लालबहादुर थापा पहिले मजदुरीका लागि भारत जान्थे । भारतमा काम गर्दा शारीरिक रुपमा अशक्त भएपछि उनले पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्न सुरु गरेका छन् । हाल उनले ३० लाखभन्दा बढी खर्च गरी घर निर्माण गरेको र व्यावसायिक तरकारी खेती गरेर नै घरको ऋण तिर्न लागेको बताए ।
केही वर्ष अघिसम्म रोजगारीको अभावमा भारत जान बाध्य भएका यहाँका धेरै किसान अहिले आफ्नै गाउँमा तरकारी खेती गर्दै आत्मनिर्भर हुन थालेका छन् । गाउँमै रोजगारीका अवसर सिर्जना भएपछि भारत जाने क्रममा समेत उल्लेख्य गिरावट आएको स्थानीय बताउँछन् ।
चगत्रा कृषि तथा पशुपालन सहकारी संस्थाले किसानलाई संगठित गरी सहकारी संस्था सञ्चालनमा ल्याएको छ भने सहकारी संस्था र कृषि विकास कार्यालय दैलेखको सहयोगमा बीउबिजन, मलखाद, सिँचाइ व्यवस्थापन तथा बजार पहुँचमा सहजीकरण गर्दै आएको छ ।
कृषक समूहबाट २०७३ सालमा कृषि सहकारी संस्था दर्ता गरी किसानले सहकारीमार्फत व्यावसायिक तरकारी खेती गर्न सुरु गरेका हुन् । हाल ३४५ जना शेयर सदस्य र ९ जनाको सञ्चालक समिति रहेको चगत्रा कृषि तथा पशुपालन संस्थाका अध्यक्ष मोतिराम अधिकारीले जानकारी दिए । उनका अनुसार वार्षिक ३० देखि ५० लाखसम्म आम्दानी हुने गरेको बताए । कृषि विकास कार्यालयको रोड कोरिडर कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दुईदेखि तीनवटा टनेल प्राप्त गरी किसानलाई सहयोग गर्दै आएको जानकारी दिए । त्यस्तै, कृषि विकास कार्यालयले टनेल निर्माण, प्राविधिक तालिम, आधुनिक खेती प्रविधि र आवश्यक उपकरण उपलब्ध गराउँदै किसानलाई निरन्तर सहयोग पु¥याइरहेको छ ।
टनेल प्रविधिको प्रयोगले बेमौसमी तरकारी उत्पादन गर्न सम्भव भएको छ । जसका कारण किसानले वर्षभरि नै विभिन्न प्रकारका तरकारी उत्पादन गरी बजारमा बिक्री गर्न पाएका छन् । यसले उनीहरूको आम्दानीमा उल्लेख्य वृद्धि गराएको छ । किसानका अनुसार गोलभेँडा, काँक्रा, काउली, आलु, लसुन, बन्दालगायतका तरकारीबाट राम्रो आम्दानी भइरहेको छ । टनेलमा उत्पादित तरकारीको गुणस्तर राम्रो हुने भएकाले बजारमा राम्रो मूल्य पाइने किसानको अनुभव छ । सहकारीमार्फत सामूहिक रूपमा उत्पादन संकलन र बिक्री गर्ने व्यवस्था मिलाइएकाले बजारको समस्या पनि धेरै हदसम्म समाधान भएको छ ।
कृषि विकास कार्यालयका प्रमुख दशरथ पाण्डेले यस्ता कार्यक्रमले कृषिलाई परम्परागत अवस्थाबाट व्यावसायिकतर्फ रूपान्तरण गर्न मद्दत पुगेको बताए । कार्यालयले तीन वर्षदेखि लगातार सहकारी संस्थामार्फत किसानलाई सहयोग गर्दै आएको जनाएको छ । पहिले घर परिवारलाई मात्र हुने गरी पराम्परागत तरकारी उत्पादन गर्दै आएका किसान कार्यक्रम लागू भएपछि व्यावसायिक बनेका छन् । किसानको मेहनतलाई सम्बोधन गर्न आधुनिक प्रविधि र ज्ञान उपलब्ध गराउने कार्य निरन्तर जारी रहने कार्यालय प्रमुख पाण्डेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्