नेभिगेशन
अर्थतन्त्र

निर्माण व्यवसायीमाथिको धरपकड निन्दनीयः महासंघ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकका प्रतिष्ठित एवं अग्रज निर्माण व्यवसायीमाथि प्रहरी प्रशासनबाट निरन्तर भइरहेको धरपकड र थुनछेकको विरोध जनाएको छ । महासंघले मंलबार विज्ञप्ति जारी गरी निर्माण व्यवसायीमाथि प्रहरी प्रशासनबाट निरन्तर भइरहेको धरपकड र थुनछेकको विरोध गरेको हो ।
महासंघका महासचिव शिवहरि घिमिरले प्रतिष्ठित निर्माण व्यवसायीमाथि प्रहरी प्रशासनबाट भएको धरपकड एवं थुनछेक निन्दनीय भएको बताए । उनले इन्धन तथा निर्माण सामग्रीमा भइरहेको अप्रत्यासित र अत्यधिक मूल्यवृद्धिका कारण राज्यले समयमै मूल्य समायोजन नदिँदा निर्माण कार्यहरू गर्न सक्ने अवस्था नभएको परिस्थितिमा निर्माण व्यवसायीलाई ठूलो आर्थिक एवं मानसिक दबाबमा परेकै बखत धरपकड गरिएकोमा कडा आपत्ति जनाए ।
अहिलेको विषम परिस्थितिमा निर्माण व्यवसायीलाई राहत दिनुको सट्टा सार्वजनिक खरिद ऐन, नियम र खरिद सम्झौताका शर्तविपरीत गरिएको धरपकड गैरकानूनी भन्दै महासंघले खेद प्रकट गरेको छ । ‘अनुसन्धानपश्चात् दोषी प्रमाणित भए जो कोही पनि प्रचलित ऐन, कानूनअनुसार दण्डित हुनैपर्छ भन्ने मान्यता महासंघको रहेकोमा नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाप्रति महासंघ सबैलाई स्मरण गराउन चाहन्छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निर्माण उद्योगलगायत निजी क्षेत्रका उद्यमीलाई त्रसित एवं आतंकित पारिएको अवस्थामा अर्थतन्त्र, रोजगारी, राजस्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने निश्चित भएको महासंघको ठहर छ । सरकारले अब फेरि निर्माण व्यवसायीमाथि बिना कुनै ठोस आधार तथा प्रमाण धरपकड तथा थुनछेक गर्ने कार्य गरेमा महासंघ कडा कदम चाल्न बाध्य हुने चेतावनी महासंघले दिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्