नेभिगेशन
विश्व

इरान कसले चलाउँदैछ ?

होर्मुज जलडमरूमा ट्रम्प प्रशासनले आफैँले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा फसिरहेको बेला, इरानले यो महत्त्वपूर्ण जलमार्गलाई कुन हदसम्म आफ्नो प्रभाव र दबाबको माध्यमका रूपमा प्रयोग गर्न सक्छ भन्ने कुरा प्रदर्शन गरेर विश्व र स्वयं आफूलाई समेत अचम्ममा पारिदिएको छ । यस्तो संवेदनशील घडीमा एउटा गम्भीर प्रश्न उब्जिएको छ, वासिङ्टनले इस्लामावादमा वास्तवमा कोसँग व्यवहार गरिरहेको थियो र अबदेखि यो इस्लामिक शासनको वास्तविक निर्णयकर्ता को हुनेछ ?
अहिले तेहरानमा रहेको शासन वास्तवमा एउटा सरकार होइन, बरु यो एक विभाजित र शक्ति संघर्षमा अल्झिएको सैन्य संरचना हो । ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ अर्थात् आईआरजीसीको हातमा हतियार छ, जुन भौतिक रूपमा होर्मुज जलडमरू र सांकेतिक रूपमा त्यहाँको नागरिक प्रशासनतिर सोझिएको छ । आफ्ना पिता अली खामेनीको हत्यापछि आईआरजीसीकै दबाबमा उत्तराधिकारी घोषित गरिएका मोज्तबा खामेनीसँग सैद्धान्तिक र धार्मिक वैधता त छ, तर उनी अहिले सार्वजनिक रूपमा कतै देखिँदैनन् । अर्कोतर्फ, शासनभित्रका उदारवादीहरू सार्वजनिक अपमान र राजनीतिक घेराबन्दीमा परेका छन् । कट्टरपन्थीहरू पनि आपसमा विभाजित छन्, जहाँ संसद्का सभामुख मोहम्मद–बाघेर गालिबाफले नेतृत्व गरेको व्यावहारिक धार र आईआरजीसी कमाण्डर मेजर जनरल अहमद वाहिदीको नेतृत्वमा रहेको उग्रवादी धारबीच स्पष्ट विभाजन देखिएको छ ।
राष्ट्रपति मसूद पेजेस्कियान त यो सत्ता संरचनाबाट पूर्ण रूपमा बाहिरै पारिएका छन् । उनले सम्भवतः पूर्ण रूपमा असक्षम वा थलिएका मोज्तबा खामेनीलाई भेट्नका लागि पटक–पटक गरेका अनुरोधहरूको कुनै जवाफसमेत नआएको खबरहरू बाहिरिएका छन् । गत अप्रिल १७–१८ को घटनाले यसलाई अझ प्रस्ट पार्छ । विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्समार्फत होर्मुज जलसन्धि ‘पूर्ण रूपमा खुला’ रहेको घोषणा गर्दा आईआरजीसीले उनलाई हप्काउँदै र नाकाबन्दी उल्लंघन गर्दै अन्तर्राष्ट्रिय जहाजहरू नियन्त्रणमा लिएको थियो । यसले के देखाउँछ भने तेहरानले विश्वसामु जुन अनुहार देखाउन खोजे पनि त्यसको पछाडिको वास्तविक शक्ति अर्कै छ । अराघ्ची पक्कै पनि आफ्नो जिम्मेवारीमा स्वतन्त्र व्यक्ति थिएनन् । अहिलेको अवस्था हेर्दा त्यहाँको वास्तविक शक्ति वाहिदी र वरिष्ठ आईआरजीसी अधिकारीहरू सम्मिलित सैन्य परिषद्को हातमा पुगेको देखिन्छ ।
यद्यपि, अराघ्चीले गालिबाफको थोरै सहयोगमा वाहिदीले पठाएका जासुस मोहम्मद बाघेर जोल्घाद्रलाई आफ्नो टोलीमा समावेश हुनबाट रोक्न त सफल भए, तर यसले आईआरजीसी कमाण्डमा भए पनि पूर्ण नियन्त्रणमा नरहेको तथ्यलाई उजागर गर्छ । जोल्घाद्र ती व्यक्ति हुन् जसले अराघ्चीले होर्मुज खुला गर्ने घोषणा गर्दा सबैभन्दा पहिले विरोध गरेका थिए । अराघ्चीले यो संघर्षमा पूर्ण जित हासिल नगरे पनि, जोल्घाद्रको कूटनीतिक अनुभवको कमीलाई लिएर उनले उठाएको आवाजले केही संकेत गर्छ । यसको अर्थ हो, आईआरजीसी कमाण्डमा छ तर उसको नियन्त्रण पूर्ण छैन । वाहिदीले गालिबाफ र अराघ्चीलाई प्रस्ट रूपमा के भनेका छन् भने आईआरजीसीको अनुमति बिना कुनै पनि निर्णय लिन पाइने छैन र युद्ध आधिकारिक रूपमा समाप्त नभएसम्म सबै महŒवपूर्ण नियुक्ति र रणनीतिक मामिलाहरू सेनाले नै हेर्नेछ । तर गालिबाफ आफैँ कट्टरपन्थी भए पनि उनी अमेरिकासँगको मुठभेडलाई केही सुस्त बनाएर लैजानुपर्छ भन्ने मान्यता राख्छन् । उनीसँग वाहिदी र अली अब्दुल्लाही आलियाबादी जस्ता शक्तिशाली सैनिक कमाण्डरहरूलाई समेत चुनौती दिन सक्ने प्रभाव बाँकी नै छ । त्यसैले तेहरानले के भन्छ र के गर्छ भन्ने कुरा अहिले यी दुई कट्टरपन्थी समूहबीचको शक्ति संघर्षले तय गर्ने देखिन्छ ।
वाहिदीको समूहसँग बन्दुकको तागत बाहेक अर्को एउटा फाइदा पनि छ । मोज्तबा खामेनीले आफ्ना पिताको मातहतमा रहेर काम गर्दा आईआरजीसीका ती दोस्रो तहका कमाण्डरहरूसँग बलियो व्यक्तिगत र व्यावसायिक सम्बन्ध बनाएका थिए, जो अहिले आफ्ना माथिल्लो तहका अधिकारीहरूको शृंखलाबद्ध हत्यापछि नेतृत्वमा आएका छन् । नयाँ सर्वोच्च नेतालाई दृश्यबाट टाढा राखेर उनका नाममा नीति र कार्यहरू थोपर्नु वाहिदी र उनका मानिसहरूका लागि सजिलो भएको छ । तर यी दोस्रो तहका कमाण्डरहरू पनि अहिले शक्तिका लागि आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले यो शासनभित्र ’सबैभन्दा शक्तिशाली’ भन्ने शब्द पनि सापेक्षिक मात्र बनेको छ ।
पूर्ण नियन्त्रणमा नभएको सैन्य अधिकारीहरूको हातमा सत्ता हुनु आफैँमा खतरनाक हुन्छ । यदि कोही पनि पूर्ण जिम्मेवारीमा छैन भने यसले गलत बुझाइ र अनिश्चितता बढाउँछ, जसले जारी कूटनीतिक प्रयास र युद्ध विरामको अवस्थालाई झन् जोखिममा पार्छ । तेहरानको शासन बाहिरबाट हेर्दा एक ढिक्का देखिए पनि भित्रभित्रै विभाजित भइरहेको छ । अर्को शब्दमा भन्नुपर्दा इरानमा अहिले अराजकताले जरा गाडेको छ । यो प्रणाली झन् बढी बन्द हुँदै गएको छ तर भित्रभित्रै कुहिएर टुक्रिँदै पनि छ । यसले केही समयका लागि आफ्नो दमनकारी शक्ति कायम राख्न सके पनि धेरै समय सत्ता टिकाउन सक्ने सम्भावना कम छ ।
विभाजित शासक वर्ग, गहिरो आर्थिक संकट र नेतृत्वको अनिश्चितता शासन पतनका आधारभूत कारण हुन् । तर यसको अर्थ भोलि नै शासन ढल्छ भन्ने होइन । यस्तो परिस्थितिमा केही सम्भावित परिदृश्यहरू अगाडि आउँछन् । पहिलो र सबैभन्दा बलियो सम्भावना भनेको यही कमजोर र खण्डित प्रणालीको निरन्तरता हो, जहाँ आईआरजीसीले नागरिक र धार्मिक संस्थाहरूलाई दबाएर राख्छ र जनआन्दोलनलाई हिंसाको बलमा मत्थर पार्छ । दोस्रो सम्भावना भनेको मोज्तबा खामेनीलाई नाम मात्रको नेता बनाएर बिस्तारै पूर्ण सैन्य तानाशाही स्थापना गर्नु हो । यस्तो अवस्थामा इरान झन् बढी कट्टर र विश्वभर आतंकवाद फैलाउने राष्ट्र बन्न सक्छ । तेस्रो सम्भावना भनेको आर्थिक विनाश र आन्तरिक कलहका कारण शासन भित्रैबाट परिवर्तन हुनु हो, जहाँ आईआरजीसी कमजोर हुनेछ र व्यावहारिक नेताहरूले अमेरिकासँग वार्ताको पहल गर्नेछन् । चौथो परिदृश्य, जुन निकै कम सम्भावित छ, त्यो हो सेनाभित्रै विद्रोह हुने र जनआन्दोलनले शासनको पूर्ण अन्त्य गर्ने ।
युद्ध पुनः सुरु हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन, तर आईआरजीसीले जनतालाई राष्ट्रवादी भावनामा समेटेर सत्ता टिकाउन सक्ने सम्भावना निकै कम छ । वाहिदीले पक्कै पनि डोनाल्ड ट्रम्पले आक्रमण गरेर आईआरजीसीलाई पुनर्जीवन दिऊन् भन्ने चाहन्छन्, तर अमेरिकी र इजरायली हमला सहन सक्ने तागत अब यो शासनसँग नहुन सक्छ । अहिले होर्मुज जलसन्धिको गतिरोध एउटा ठूलो इच्छाशक्तिको लडाइँ बनेको छ । अबको मुख्य प्रश्न इरानमा परिवर्तन आउँछ कि आउँदैन भन्ने होइन, बरु त्यो परिवर्तनले कति समय लिन्छ र त्यो कति हिंसात्मक हुन्छ भन्ने मात्र हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्