नेभिगेशन
प्रदेश

करोडौंका शीतभण्डार उपयोगविहीन

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा करोडौं लगानीमा निर्माण गरिएका शीतभण्डार वर्षौंदेखि प्रयोगविहीन अवस्थामा बेवारिसे बनेका छन् । मौसमी तरकारी र फलफूल भण्डारण गरी किसानलाई लाभ दिने उद्देश्यले बनेका यी संरचना उपकरण, प्राविधिक जनशक्ति र व्यवस्थापन अभावका कारण अलपत्र परेका हुन् । कतै ठेकेदारले हस्तान्तरण नगरेका कारण सञ्चालन हुन सकेका छैनन् भने कतै सञ्चालन खर्च धान्न नसकेर बन्द हुँदा सरकारी लगानीमाथि प्रश्न उठेको छ ।
फिक्कल गाउँपालिका–१, दमार; सुनकोशी गाउँपालिका–१, रामटार; कमलामाई नगरपालिका–४, दोभानटार र गोलन्जोर गाउँपालिका–६, नाकाझोलीमा निर्माण गरिएका शीतभण्डार बर्सौंदेखि प्रयोगमा आउन सकेका छैनन् । मौसमी तरकारी तथा फलफूल भण्डारण गरी बेमौसममा उपभोक्तामाझ पु¥याउने उद्देश्यले शीतभण्डार निर्माण गरिएको हो । फिक्कल गाउँपालिका–१ का वडाध्यक्ष होमबहादुर सुनुवार वडाको दमारमा बागमती प्रदेश सरकार र गाउँपालिकाको सात करोड रुपियाँभन्दा बढी लागतमा निर्माण गरिएको १७८ मेट्रिक टन क्षमताको शीतभण्डार एक वर्षदेखि प्रयोगमा नआएको बताए । भण्डारण गर्ने सामग्रीको अभावमा शीतभण्डार प्रयोगमा नआएको उनले बताए । वडाध्यक्ष सुनुवारले भने, ‘आलु र किवी खेतीलाई लक्षित गरी चार वर्ष लगाएर शीतभण्डार निर्माण भयो । अहिले प्रयोगमा आउन सकेको छैन ।’
गाउँपालिकाले दमारलाई आलु र किवी खेतीको पकेट क्षेत्र घोषणा गरेको छ । शीतभण्डार प्रयोगमा नआए पनि विद्युत् महसुल एक लाख रुपियाँभन्दा बढी तिरेको गाउँपालिकाले जनाएको छ । सुनकोशी गाउँपालिका–५, रामटारमा शीतभण्डार निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन । बागमती प्रदेश सरकार र पालिकाको पाँच करोड रुपियाँभन्दा बढी लगानीमा निर्माण गरिएको पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार ठेकेदारले हस्तान्तरण नगर्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइराला शीतभण्डार निर्माण पूरा गरेको तीन वर्षभन्दा बढी हुन लाग्दा पनि ठेकेदारले नबुझाएको बताउँछन् । पालिकाले एक जना कृषि प्राविधिकलाई तालिम दिएर शीतभण्डार सञ्चालन गर्ने तयारी गरे पनि ठेकेदारले नबुझाएकै कारण सञ्चालनमा ल्याउन नसकेको उनको गुनासो छ । एक करोड रुपियाँभन्दा बढी लागतमा निर्माण गरिएको ३६० मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा नआउँदा किसान र उपभोक्ता दुवै निराश छन् । १० वर्षअघि निर्माण भएको भवनमा दुई सिजन जुनार तथा आलु भण्डारण गरिएको थियो । त्यसपछि खर्च धान्नै नसकेर प्रयोगमा आउन नसकेको सञ्चालकको भनाइ छ ।
जुनारको पकेट क्षेत्र नाकाझोलीमा निर्माण गरिएको शून्यशक्ति शीतभण्डार (सेलार स्टोर) प्रयोगमा ल्याउन प्राविधिक समस्या रहेको सञ्चालक तथा स्थानीय जुनार किसान शेरबहादुर मगर बताउँछन् । उनका अनुसार सिजनमै जुनार बगैंचाबाट राम्रो मूल्यमा बिव्रmी हुन थालेको थियो । २०६८ सालतिर उच्चस्तरीय प्रविधिको २४ मेट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माण भएको हो । त्यस क्षेत्रमा उत्पादित जुनारलाई भण्डारण तथा व्यवस्थापनका लागि सार्क डेभलपमेन्ट फन्ड र नेप्लिज फार्मिङ इन्स्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगमा सेलार स्टोर निर्माण भएको थियो । ‘निर्माण पूरा भएपछि २०७० सालतिर एक साल जुनार भण्डारण ग¥यौँ,’ मगरले भने, ‘भण्डारण गरेको जुनारमध्ये प्राविधिक ज्ञानको कमीले १० प्रतिशत जति कुहियो । त्यसपछि जुनारले सिजनमा नै राम्रो मूल्य पाउन थालेपछि भण्डारण गर्न किसानले नै चासो दिन छाडे ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्