नेभिगेशन
प्रदेश

कृष्णसारलाई पानी खुवाउन सोलारबाट पानी

बर्दिया । तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा वन्यजन्तुका लागि पानीको अभाव हुन थालेपछि बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा सोलार प्रविधियुक्त पोखरी निर्माण गरिएको छ । दुर्लभ वन्यजन्तु कृष्णसारलाई गर्मीमा सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले संरक्षण क्षेत्रभित्र विभिन्न स्थानमा सोलार पोखरी निर्माण गरिएको हो ।
गुलरिया नगरपालिका–२ स्थित कृष्णसार संरक्षण क्षेत्रमा हाल छ स्थानमा सो पोखरी निर्माण गरिएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । करिब दुई हजार ५ सय ५० बिघा क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा हाल २ सय ४४ कृष्णसार छन् । तीमध्ये ६१ भाले, १६८ पोथी र १५ बच्चा छन् । सोलार प्रणाली बिहान घाम लागेपछि सञ्चालन हुने र साँझ घाम अस्ताएपछि स्वतः बन्द हुने भएकाले पोखरीमा निरन्तर पानी उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका सूचना अधिकारी रामु केसीका अनुसार संरक्षण क्षेत्रभित्र पर्याप्त पानी नहुँदा कृष्णसार पानीको खोजीमा बाहिरिने र त्यस व्रmममा कुकुर तथा अन्य वन्यजन्तुको आव्रmमणमा पर्ने जोखिम बढ्ने गरेको थियो । पोखरी निर्माणपछि संरक्षण क्षेत्रभित्रै पानीको सहज उपलब्धता हुने भएकाले कृष्णसारको सुरक्षा र संरक्षणमा थप सहयोग पुग्ने उनले बताए ।
गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टंकप्रसाद अधिकारीले स्थानीय समुदायले सुरु गरेको संरक्षण अभियानलाई सरकारले संरक्षण क्षेत्र घोषणा गरेपछि थप व्यवस्थित रूपमा अघि बढाइएको बताए । धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत कृष्णसारलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । भगवान् कृष्णसँग जोडेर यादव समुदायले विशेष श्रद्धाका साथ कृष्णसारलाई संरक्षण गर्ने परम्परा रहिआएको छ । तराई क्षेत्रमा विशेष गरी गुलरिया  आसपासमै कृष्णसारको प्राकृतिक वासस्थान रहेको पाइन्छ ।
नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुक हो, जहाँ विभिन्न प्रकारका दुर्लभ वन्यजन्तु पाइन्छन् । यिनैमध्ये एक महत्वपूर्ण र आकर्षक जनावर हो कृष्णसार । कृष्णसार संरक्षण क्षेत्र क्षेत्र नेपालमा कृष्णसार पाइने एक मात्र प्राकृतिक बासस्थान हो । कृष्णसार एक प्रकारको हरिण हो, जसको सौन्दर्य अत्यन्त आकर्षक हुन्छ । भाले कृष्णसार कालो रङको हुन्छ र यसको टाउकोमा घुमाउरो, लामो सिङ हुन्छ । पोथी भने हल्का खैरो रङको हुन्छ । यी जनावरहरू प्रायः खुला घाँसे मैदानमा बस्न रुचाउँछन् । तराई क्षेत्रमा पहिले प्रशस्त पाइने यो प्रजाति समयक्रममा विभिन्न कारणले घट्दै गयो । अवैध सिकार, बासस्थानको विनाश, कृषि विस्तार तथा मानव अतिक्रमणका कारण यसको संख्या अत्यन्त न्यून अवस्थामा पुगेको थियो ।
यसै परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले २०६६ सालमा बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा कृष्णसार संरक्षण क्षेत्र स्थापना गरेको हो । करिब १६.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रको मुख्य उद्देश्य कृष्णसारको प्राकृतिक बासस्थानको संरक्षण गर्नु र यसको संख्या वृद्धि गर्नु हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा व्यवस्थापन हुने क्षेत्रको प्रमुख विशेषता यसको घाँसे मैदान प्रणाली हो, जुन कृष्णसारका लागि उपयुक्त बासस्थान हो । यहाँ प्राकृतिक रूपमा घाँस उत्पादन, पानीको स्रोत व्यवस्थापन र सुरक्षित वातावरण निर्माण गरिन्छ । साथै, यस क्षेत्रमा अन्य साना वन्यजन्तु र चराचुरुङ्गीहरूको पनि संरक्षण भइरहेको छ ।
स्थानीय समुदायको सहभागिता पनि यस संरक्षण अभियानको महत्वपूर्ण पक्ष हो । संरक्षण प्रयासका कारण अहिले कृष्णसारको संख्या उल्लेखनीय रूपमा बढेको छ । एक समय केवल केही दर्जनमा सीमित भएको यो प्रजाति अहिले सयभन्दा बढी पुगेको छ । तर सीमित क्षेत्रफल, मानव–वन्यजन्तु द्वन्द्व, कृषि गतिविधिको दबाब तथा प्राकृतिक विपत्तिहरूले कृष्णसार संरक्षण प्रयासलाई प्रभावित पारेका छन् । कृष्णसारले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न, तथा पर्यावरणीय अध्ययन र पर्यटन प्रवद्र्धनमा पनि योगदान पु¥याउँछ । भविष्यमा यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाइएमा पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्न सकिन्छ ।
बढ्दो गर्मी र पानीको अभावजस्तो चुनौतीबीच सोलार प्रविधियुक्त पोखरी निर्माणले कृष्णसार संरक्षण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ । यस पहलले दुर्लभ कृष्णसारलाई सुरक्षित वातावरणमा पानीको सुनिश्चितता दिई तिनको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्