नेभिगेशन
प्रदेश

बासी तेलमा पकाउने, अखाद्य बेच्ने भोजनालयलाई कारबाही

बैतडी । बैतडीका खाद्य पसलमा म्याद नाघेका वस्तु भेटिएका छन् भने नास्ता तथा मिठाई पसलमा प्रयोग हुने खाद्य तेल पटक पटक तताएर परिकार पकाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने तत्व भेटिएको छ । त्यस्ता खाद्य वस्तुको नमुना संकलन गरेर प्रयोशालामा परीक्षण गर्दा चार वटा वस्तुमा गम्भीर समस्या फेला परेको हो ।
जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमन गर्दा चालु आर्थिक वर्षमा मात्रै दुई लाख ५० हजार रुपियाँभन्दा बढी मूल्यको म्याद नाघेका खाद्य वस्तु फेला पारेर नस्ट गरेको छ । गत शनिबार पुर्चौडी नगरपालिकाको हाटबजारका १० वटा पसल अनुगमन गर्दा २६ हजार रुपियाँभन्दा बढीका अखाद्य वस्तु फेला पारेर नस्ट गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी सुरेन्द्रप्रसाद भट्ट बताउँछन् । चालु आर्थिक वर्ष २०८२÷८३ मा बैतडी र दार्चुलाका करिब पाँच सय वटा पसल, होटेल तथा रेस्टुराँको अनुगमन गर्दा खाने तेलमा गम्भीर समस्या देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन बैतडीका कार्यालय प्रमुख एवं खाद्य अनुसन्धान अधिकृत विक्रम श्रेष्ठले बताए । ‘एक पटक कराईमा खन्याएको खाने तेल पटक पटक तताएर परिकार पकाउँदा हानिकारक बनेको फेला पारेका छौं । जसलाई हामी टोटल पोलार मेटेरियल्स (टिपिएम) भन्छौं । तेल तताउँदा यो मात्रा २५ प्रतिशतभन्दा बढी भयो भने खान योग्य मानिँदैन तर बैतडीमा ३० देखि ४९ प्रतिशतसम्म खराब तत्व भेटाएका छौं । यस्तो तेलमा पाकेका परिकार खाएमा मुटुसम्बन्धी रोग र क्यान्सर हुने सम्भावना उच्च हुन्छ,’ उनले भने ।
उनले चालु आवमा बैतडी र दार्चुलामा भेटिएका अखाद्य वस्तुमध्ये ८४ वटा नमुना परीक्षणका लागि पठाएको श्रेष्ठले बताए । उनले तीमध्ये ५४ को नतिजा आउँदा चारवटा खाद्य वस्तुमा जनस्वास्थ्यमा गम्भीर असर गर्ने तत्व भेटिएकाले मुद्दा दर्ता गर्ने तयारी भइहेको बताए । म्याद नाघेका खाद्य वस्तुमा प्याकेटका मिठाई, चाउचाउ, सस, बिस्कुट, नमकिन, चिउरा, मसला, अचार, मैदा जस्ता वस्तु बढी पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा अनुगमनको दायरा फराकिलो बन्न सकेको छैन । बैतडी र दार्चुलाका जिल्ला हेर्ने गरी बैतडीको गोठालापानीमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा दरबन्दीका कर्मचारी नहुँदा एक जना प्रमुख र सहयोगीमा भरमा दुई जिल्लाको बजार अनुगमन गर्नु परेको खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्