नेभिगेशन
खेलकुद

विश्वकपमा भाडा बढोत्तरीको आलोचना

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने विश्वकप खेलहरूका लागि रेल र बसको भाडा बढाइएको भन्दै समर्थकहरूको आलोचना भएपछि त्यसमा कटौती गरिएको छ ।
रेल टिकटको मूल्य १५० डलर (झन्डै १११ पाउन्ड) बाट घटाएर ९८ डलर (७३ पाउन्ड) बनाइएको छ भने सटल बसको भाडा ८० डलर (५९ पाउन्ड) बाट घटाएर २० डलर (१५ पाउन्ड) कायम गरिएको छ ।
इंग्ल्यान्ड समर्थक समूह फुटबल सपोर्टर्स एसोसिएसनका नेता थोमस कोन्काननले यसअघि ‘अत्यधिक’ मूल्य निर्धारणको आलोचना गर्दै यसलाई ‘पूर्णतः अस्वाभाविक’ बताएका थिए ।
फिफाको कर्पोरेट प्रायोजक नाम प्रयोग नगर्ने नीतिअनुसार विश्वकपका बेला मेटलाइफ स्टेडियमलाई ‘न्युयोर्क÷न्यु जर्सी स्टेडियम’ भनिनेछ । उक्त रंगशालामा फाइनलसहित आठ खेल आयोजना हुनेछन्, जसमा इङ्ग्ल्यान्डको समूह ‘एल’ अन्तर्गतको एक खेल पनि पर्दछ ।
म्यानहट्टनको पेन स्टेसनदेखि करिब १८ माइल टाढा रहेको स्टेडियमसम्मको रेल यात्राको सामान्य दोहोरो टिकट मूल्य १२.९० डलर (झन्डै ९.५० पाउन्ड) मात्रै पर्छ ।
न्यु जर्सीकी गभर्नर मिकी शेरिलले यसअघि फिफाले यातायातमा सहुलियत दिन अस्वीकार गरेको भन्दै आलोचना गरेकी थिइन् । साथै उनले यसको भार स्थानीय करदाताले नबेहोर्ने स्पष्ट पारेकी थिइन् ।
रुस र कतारमा भएका अघिल्ला विश्वकपमा यातायात निःशुल्क गरिएको थियो । अमेरिकाले पनि सन् २०१८ को आयोजक सम्झौतामा त्यस्तै सुविधा दिने प्रतिबद्धता जनाएको थियो तर सन् २०२३ मा गरिएको संशोधित सम्झौताअनुसार समर्थकहरूले लागत मूल्यमा यात्रा गर्न पाउने निर्णय गरिएको थियो ।
आलोचनापछि फिफाले मेटलाइफ स्टेडियममा हुने ठूलो प्रतियोगिताका लागि यातायात शुल्क यसरी बढाइएको कुनै उदाहरण नभएको दाबी गरेको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत शेरिलले व्यावसायिक प्रायोजनका कारण ३० मिनेटको रेल यात्राको टिकट मूल्य घटाउन सम्भव भएको बताइन् ।
उनले लेखेकी छन्, ‘सुसमाचार । न्यु जर्सी ट्रान्जिटको विश्वकप रेल टिकट बिक्री सुरु हुनुअघि टिकट मूल्य ९८ डलरमा झारिएको छ, र त्यसका लागि न्यु जर्सीका करदाताको पैसा प्रयोग गरिएको छैन । यसलाई सम्भव बनाउन सहयोग गर्ने साझेदारहरूलाई धन्यवाद ।’
न्युयोर्ककी गभर्नर क्याथी होचुलले पनि ‘विश्वकप पुग्ने यात्रा सकेसम्म सबैका लागि सहज हुनुपर्छ’ भन्दै बसको दोहोरो टिकटमा ७५ प्रतिशत छुटको घोषणा गरेकी छन् ।
उनले प्रतियोगिता आयोजना गर्न सहयोग गरिरहेका न्युयोर्कवासीको सम्मानस्वरूप २० प्रतिशत टिकट उनीहरूका लागि छुट्याइने पनि बताइन् । यता बोस्टन नजिकको फक्सबरो जाने समर्थकहरूले भने ३०० प्रतिशतभन्दा बढी यातायात शुल्क वृद्धिको सामना गर्नुपर्ने भएको छ ।
बोस्टनको साउथ स्टेसनदेखि फक्सबरोस्थित रंगशालासम्मको दोहोरो टिकट सामान्यतया २० डलर (१५ पाउन्ड) पर्छ । तर विश्वकपका बेला त्यसका लागि ८० डलर (६० पाउन्ड) तिर्नुपर्नेछ । न्यु जर्सी र फक्सबरोका यी मूल्यवृद्धिले इंग्ल्यान्ड र स्कटल्यान्डका समर्थकहरूलाई असर पार्नेछ ।
इंग्ल्यान्डले जुन २३ मा फक्सबरोमा घानासँग खेल्नेछ भने जुन २७ मा मेटलाइफ स्टेडियममा पानामासँग प्रतिस्पर्धा गर्नेछ । स्टिभ क्लार्कको स्कटल्यान्डले पनि फक्सबरोमा दुई खेल खेल्नेछ,  जुन १३ मा हैटीविरुद्ध र जुन १९ मा मोरोक्कोविरुद्ध ।
यसैबीच, क्यान्सस सिटीले रंगशालासम्म आउजाउ गर्ने बस टिकट १५ डलरमा उपलब्ध गराउने भएको छ भने फिलाडेल्फियाले प्रतियोगिताका बेला पनि आफ्नो सामान्य २.९० डलरकै भाडा कायम रहने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्