नेभिगेशन
उपत्यका

सार्वजनिक यातायातमा ट्राफिकको छड्के

काठमाडौं । उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनलाई बीचैमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेमा अनौठो नमान्दा हुन्छ । यस्ता सवारीको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ । 
यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के थालिएको हो । सार्वजनिक यातायातका साधनमा अब सीसीक्यामेरा, ड्यासबोर्ड क्यामरालगायत सुरक्षा उपकरण हुनै पर्छ । ती साधन जडान गरिएका छन्÷छैनन् भन्ने विशेष ध्यान दिएर हेर्न सुरु गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले बताए । उनका अनुसार सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था र ट्राफिक नियमको पालनासम्बन्धी विषयमा समेत निगरानी थालिएको छ । 
‘सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘सरकारले तोकेको मापदण्डअनुसार सिसीक्यामेरा, ड्यासबोर्ड जडान गर्नाका साथै गाडी सफा र व्यवस्थित राख्नुपर्छ । नगर्नेमाथि कारबाही हुन्छ ।’
अनुगमन थाल्दा ट्राफिक प्रहरी प्रमुख अधिकारीसहितको टोलीले सार्वजनिक बसमा यात्रा गर्दै उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीले चालकहरूले लेन अनुशासन पालना गरे–नगरेको, यात्रु चढाउने तथा ओराल्ने स्थानको उचित प्रयोग भए–नभएको, मोबाइल प्रयोग गरेर सवारी चलाइएको तथा गति नियन्त्रणबारे समेत निगरानी गरेको जनाइएको छ ।
पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुको गुनासो बढ्दै गएको, सवारीसाधनको लापरबाहीका कारण दुर्घटनाको जोखिम उच्च रहेको तथा सुरक्षा उपकरणको प्रयोग प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको एसएसपी  अधिकारीले बताए । आगामी दिनमा पनि उपत्यकाका मुख्य रुटहरूमा निरन्तर अनुगमन जारी रहने उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्