नेभिगेशन
प्रदेश

ताथलीका दुर्लभ चट्टान अभिलेख संरक्षणको पर्खाइमा

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हललगाउँ र गाउँको भीरपाखा एवं खेतको डिलमा यत्रतत्र रहेको अवस्थामा फरकफरक १५ वटा ऐतिहासिक चट्टान अभिलेखको २०६७ पुसमा अन्वेषर्णकर्ता, संस्कृतिविद् एवं इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले पत्ता लगाउनुभएको विश्वमै दुर्लभ मानिएको नेपाल कै पहिलो र ४०० वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर संरक्षणको पर्खाइमा रहेको छ ।
वर्षौं पहिलेदेखि हलल गाउँमा छरपष्ट रहेका ठूलाठूला ढुंगा, देवताका रूपमा पुजिँदै आएको बासुकी ढुंगा र छरपष्ट रहेको अन्य चट्टानहरूमा कँुदिएका अभिलेख, अहिलेसम्म प्रचारमा नआएका नवपाषाणकालीन उपकरण, गुफा, ओडार, गढी, प्रकृति उत्पन्न स्वप्नेश्वर महादेवको शिवलिंग, गणेश ढुंगा भेटिए उचित संरक्षण अभाव खड्किएको श्रेष्ठको धारणा छ ।
नेपाल सम्वत् ७४५ देखि ८३५ सम्मका चट्टान अभिलेखको महŒव थाहा पाएपछि हलल गाउँको आइतबारे सामुदायिक वनभित्र परापूर्वकालदेखि यत्रतत्र छरिएर रहेकाले यसको दिगो संरक्षण गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । यहाँ नेपाल सम्बत् ७४५ को अभिलेख सूचीको ने.सं ८३५ को भूपतिन्द्र मल्लको १५ वटा चट्टान अभिलेख रहेका छन् । यहाँ भेटिएका चट्टानमा भक्तपुरका पूर्वराजा जगज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल, कान्तिपुरका राजा कविन्द्र प्रताप मल्लको समेत अभिलेख रहेका उनको धारणा छ ।
ठूलो ढुंगाको शीर्ष भागमा कुँदिएको जितामित्र मल्लको पालामा यज्ञ गर्नका लागि ढुंगाको व्यवस्था गरिएको भन्ने पनि अभिलेखमा उल्लेख छ । यहाँको बासुकी ढुंगामा रहेको नेपाल सम्बत् ७७८ को अभिलेखमा प्रताप मल्लले चाँगुनारायण मन्दिरका लागि गरुडनारायण, सिंह र हात्तीलगायतका जनावरहरूको प्रतीक बनाउनका लागि ढुंगाको व्यवस्था गरिएको र त्यसलाई बिगारेमा पञ्च महापाप लागोस् भन्नेसमेत कुद्न लगाइएको छ ।
चट्टान अभिलेखमा भक्तपुरका तत्कालीन राजा जगज्योति मल्लको नेपाल सम्बत् ७४५ देखि भूपतिन्द्र मल्लको शासनकालसम्मका घटना, चित्र, विभिन्न संकेतहरू कुँदिएका छन् । यसअघि नेपालमा शिलालेख, ताडपत्र, भोजपत्र, कनकपत्र र रजतपत्रमा लेखिएका इतिहास रहेको छ । ठूलो ढुंगामा कँुदिएका अभिलेखमा नेपाल सम्वत् ८३५ मा भूपतिन्द्र मल्लले आफ्ना पिताको सम्झनामा ढुंगाको मन्दिर निर्माण गर्न ढुंगा लगिएको अभिलेखमा उल्लेख गरिएको छ । यहाँ प्रथम गणाध्यक्ष पशुपति सदाशिव महादेवको शम्भूलिंग, प्राकृतिक गणेशको ढुंगा पहाडको खोचमा रहको छ भने विसं १८५२ को शिलालेख पनि रहेको छ ।     
चट्टानको ठूलो ढुंगामा जगज्योति मल्लको सबैभन्दा पुरानो अभिलेखका साथै अन्य छ वटा अभिलेख र चित्रहरू पाइएका छन् भने बासुकी ढुंगामा भक्तपुरका राजा जितामित्र मल्ल र कान्तिपुरका राजा प्रताप मल्लका मल्लकालीन आठ वटा अभिलेख र दुई वटा संकेतात्मक चित्रहरूसमेत रहेका छन् ।     
पुरातŒव विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले समेत तत्कालीन समयमै नेपालको इतिहासका पहिलो चट्टान अभिलेख रहेको पुष्टी गरे पनि अझै यसको उचित संरक्षण हुन भने सकेको छैन । संस्कृतिविद् श्रेष्ठका अनुसार नेपाल उपत्यकाभित्रका कलात्मक ढुंगाका मन्दिर, पाटी, ढुंगेधारा, ठूलाठूला सिंह, घोडा आदि बनाउन यस क्षेत्रबाट ढुंगा लाने गरेको समेत यहाँ रहेका अभिलेखबाट पत्ता लागेको हो ।
एक ठूलो ढुंगामा कुँदिएका साँढे जुधाइले नेपाल उपत्यकामा मल्लकालीन समयमा साँढे जुधाइ प्रतियोगिताको प्रचलन रहिआएको पुष्टि भएको छ । करिब छ फिट लम्बाइ र दुई फिट चौडाइसम्मका ती अभिलेखमा सिंह, साँढे जुधाइ, हात्ती र घोडाको चित्रका साथै नेपाल भाषाका लिपिमा लेखिएका अक्षरसमेत कोरिएका छन् ।
भक्तपुरका मल्ल राजा जितामित्रले पनि नेपाल सम्बत् ८३१ मा केही चट्टानमा अभिलेख कुँद्न लगाएको पाइएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा रहेको बत्सला मन्दिर बनाउन त्यहाँको ढुंगा आफूले प्रयोग गर्ने लेखिएको छ । त्यस्तै भूपतिन्द्र मल्लले आफ्ना बुबाको कामलाई निरन्तरता दिन ढुंगामा अभिलेख कुँदाएको पाइएको छ । पशुपतिका पुजारी भट्टको समेत यहाँ अभिलेख रहेको छ ।
दुर्लभ चट्टान अभिलेख स्थानीय बासिन्दाले नदेखेको भने होइन तर चट्टानको विषयमा कहिल्यै नसुनेको कारण तत्कालीन समयमा उक्त अभिलेखहरू देउताको अक्षर वाणी भनी धार्मिक आस्थाले पुज्दै आइरहेका र अहिले त्यसको उचित संरक्षण आवश्यक रहेको स्थानीयको पनि मत छ । 
विश्वमा नै अत्यन्त दुर्लभ मानिने चट्टान अभिलेखबारे सन् १८८० मा भारतका अध्येता भगवान्लाल इन्द्रजीले पहिलोपटक नेपालमा अध्ययन गरेको पाइएको छ । त्यसको १३० वर्षपछि नेपालमा चट्टान अभिलेख भेटिए पनि यसको संरक्षण नुहुनु चिन्ताको विषय हो । श्रेष्ठका अनुसार सो चट्टान अभिलेख ताथलीको, भक्तपुरको मात्र नभई सिंगो नेपालको राष्ट्रिय सम्पत्ति हो, यो विश्वको सारा मानव जातिको साझा सम्पदा हो, अपशोच हामीले पत्ता लगाएको १६ वर्ष बितिसक्दा पनि पुरातŒव विभागले तारबार लाउनेबाहेक संरक्षणको कुनै पहल गरेको छैन ।
‘मैले विद्यार्थीहरूलाई संस्कृति विषय पढाउने क्रममा अभिलेखको विषयमा पढाउँदै थिएँ, त्यही क्रममा ताथलीबाट आउने मेरा विद्यार्थी मुना केसी र किशोर श्रेष्ठले आफ्नो घरनजिकै पनि ढुंगामा लेखिएको अभिलेख रहेको बताएपछि म त्यहाँ गएँ’ श्रेष्ठको भनाइ छ ।
नेपाल मण्डलका प्रस्तर मूर्ति निर्माणका लागि चाँगुनारायणको डाँडादेखि ताथलीको चट्टान अभिलेख रहेको क्षेत्रसम्मका ढुंगाहरू लैजाने इतिहास पाइएको भन्दै यहाँका ढुंगा आफैँमा महŒवपूर्ण रहेको श्रेष्ठको धारणा छ । यहाँका अभिलेखमा मल्लकालीन राजा र पुजारीहरूले मन्दिर, धारा र कलात्मक वस्तुको निर्माणका लागि ढुंगा लिन गएको विवरण उल्लेख गरेको छ । ती क्षेत्रमा उत्खनन गर्नसके अन्य विविध जानकारीयुक्त अभिलेख समेत फेला पर्न सक्ने अपेक्षा उनको छ । ताथलीमा ढुंगाको नवपाषाण युगको अभिलेखले इसापूर्व आठ हजार वर्षअगाडि नै काठमाडौं उपत्यकामा मानव बस्ती भएको संकेत गरेको छ ।
   
खुला आकासमुनि खुला संग्रहालयका रूपमा रहेको यस अभिलेखलाई संरक्षण र संवर्धन गर्नु तथा चट्टानमा कँुदिएका अक्षर र चित्रको थप अनुसन्धान र संरक्षणको आवश्यक रहेको छ । चट्टान अभिलेख विश्वमै दुर्लभ मानिन्छ । भारतमा ईसापूर्व तेस्रो शताब्दीका सम्राट अंशुवर्माकालीन थोरै अभिलेख मात्रै पाइएका छन् । चट्टान अभिलेख भेट्टाउनु नै ठूलो उपलब्धि हो ।
यस क्षेत्रमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरू अध्ययनको सिलसिलामा पुग्ने गरेका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । विदेशी अध्ययन र अनुसन्धानकर्ताहरूको पनि यहाँको अध्ययन लागि आउने गरेका छन् । जंगल, पहाडी क्षेत्र, फराकिलो सडकको पहुँचभन्दा बाहिर भएकाले वर्षा लागेपछि यस क्षेत्रमा आउने अध्ययन अनुसन्धानकर्ता एवं पर्यटक भने जान समस्या हुने गरेको छ । यसको आसपासका फाँट क्षेत्रमा स्थानीयले धान र गहँु उत्पादन गर्दै खेती गर्दै आएका छन् । कतिपय ढुंगामा कुदिएका अभिलेखहरू स्थानीयको निजी जग्गामा परे पनि यसको संरक्षण गर्न र बिग्रन नदिन स्थानीय बासिन्दा सक्रिय देखिन्छन् । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्