नेभिगेशन
राजनीति

‘विशेष महाधिवेशनका कारण पार्टी खुम्चियो’

काठमाडौं । कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी गम्भीर विभाजनको दिशातर्फ उन्मुख भएको बताएका छन् । कर्णाली प्रदेश समितिले शनिबार सुर्खेतमा आयोजना गरेको विचार गोष्ठीमा पूर्वउपसभापति खड्काले पार्टीभित्र आन्तरिक एकतामा समस्या रहेको बताएका हुन् । 
‘म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु, विगतमा गिरिजाबाबुकै कारणले पार्टी फुट्यो, पछि मिलाएको पनि उहाँले नै हो । यो कुरा मैले गगन र विश्वजी भेट्न आउँदा भनेको छु । पार्टी फुटको डिलमा छ मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मा छ भनेर,’ उनले भने । अहिले सानेपामा आधा कांग्रेस मात्रै रहेको खड्काको भनाइ छ । उनले गगन थापा कांग्रेसको एकताबद्ध सभापति हुन नसकेको पनि बताए । ‘अदालतले जिताएर हामीले सभापति मानेका छौं । सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउनुस्,’ उनले भने ।
विशेष महाधिवेशन र आन्तरिक कमजोरीका कारण कांग्रेस खुम्चिन पुगेको खड्काको आरोप छ । विशेष महाधिवेशन नभएको भए कांग्रेसले ६०÷६५ सिट जित्ने पनि उनले दाबी गरे । विशेष महाधिवेशनकै कारण कांग्रेस खुम्चिएको र रास्वपा दुई तिहाइ नजिक पुगेको खड्काले बताए । 
उनले नेतृत्व र कार्यकर्ताबीच बढ्दो दूरी तथा सानेपास्थित केन्द्रीय नेतृत्वको अहंकार, व्यक्तिगत स्वार्थ र पारिवारिक हितका कारण खड्काले अनुशासन र कारबाहीका नाममा कार्यकर्तालाई तर्साउने प्रवृत्तिको विरोध गर्दै मत नदिएकै आधारमा कारबाही गर्नु गलत भएको धारणा राखे । पछिल्लो कमजोर चुनावी परिणामको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वलाई गाउँबस्तीमा पुगेर कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्न आग्रह गरे ।
दुई दिनसम्म चल्ने उक्त विचार गोष्ठीमा कांग्रेस नेता तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही, पार्टीका वर्तमान तथा पूर्वपदाधिकारीहरू, विभिन्न तहका कार्यसमिति सदस्यहरू, भ्रातृ संस्थाका प्रतिनिधिहरू र कर्णाली प्रदेशका जनप्रतिनिधिहरू सहभागी छन् । सहभागीहरूले नेताहरूलाई व्यक्तिगत अहं त्यागेर पार्टी एकता कायम राख्न सुझाव दिएका छन् ।
खड्काको नेतृत्वमा अहिले कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा समूह अलग्गै गतिविधि गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्