वासिङ्टन, (सीएनएन) । इरानसँगको युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासहरू असफल हुँदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि चुलिएको छ । तेहरानसँग घनिष्ठ सम्बन्ध भएको राष्ट्र चीनको भ्रमणले यस गतिरोधलाई तोड्ने आशा प्रशासनका अधिकारीहरूले गरेका थिए तर शुक्रबार ट्रम्प स्वदेश फर्किँदा उल्लेख्य प्रगति हुन सकेको देखिएन ।
वासिङ्टन फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ नेता सी जिनपिङले हर्मुज जलडमरूमध्य पुनः खुला भएको हेर्न चाहेको र इरानले आणविक हतियार बनाउनु हुँदैन भन्ने कुरामा सहमति जनाएको दाबी गरे । यद्यपि, यी चीनले पहिले नै सार्वजनिक गरिसकेका भनाइहरू हुन् ।
‘उहाँ यो युद्ध अन्त्य भएको हेर्न चाहनुहुन्छ र मद्दत गर्न इच्छुक हुनुहुन्छ । यदि उहाँ मद्दत गर्न चाहनुहुन्छ भने त्यो राम्रो कुरा हो, तर हामीलाई कसैको सहयोग चाहिँदैन,’ चिनियाँ राष्ट्रपतिबारे ट्रम्पले फक्स न्यूजका ब्रेट बायरसँगको अन्तर्वार्तामा भने ।
प्रशासनका कैयौं अधिकारीहरूले इरानका बारेमा आगामी कदम चाल्नुअघि ट्रम्प र सीबीचको वार्ता कसरी अगाडि बढ्छ भन्ने कुराको पर्खाइमा रहेको बताएका थिए । तर, सुरुमा अनुमान गरिएको छ हप्ताभन्दा धेरै समयसम्म लम्बिएको यो द्वन्द्वका कारण इन्धनको मूल्य अकासिएको छ भने अर्थतन्त्रका मामिलामा ट्रम्पको लोकप्रियता पनि खस्किएको छ । यस्तो अवस्थामा अब युद्ध अन्त्यका लागि इरानमाथि थप सैन्य आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय राष्ट्रपतिले लिनुपर्नेछ ।
शुक्रबार बिहान चिनियाँ समयअनुसार ट्रम्पले ‘ट्रुथ सोसल’मा एउटा पोस्ट गर्दै इरान विरुद्धको सैन्य अभियान ‘अझै जारी रहनेछ !’ भनी उल्लेख गरेका छन् ।
वार्ताका बारेमा जानकार स्रोतहरूका अनुसार आगामी कदम कसरी चाल्ने भन्नेबारे ट्रम्प प्रशासनभित्रै मतभेदहरू देखिएका छन् । पेन्टागनका अधिकारीहरू सहित केही समूहले थप आक्रामक रणनीति अपनाउनुपर्ने र लक्षित आक्रमणहरू गरेर इरानलाई सम्झौताका लागि बाध्य पार्नुपर्ने तर्क गरिरहेका छन् ।
अर्कोतर्फ, केही अधिकारीहरूले भने कूटनीतिलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । ट्रम्प आफैँ पनि हालैका हप्ताहरूमा प्रत्यक्ष वार्ता र आर्थिक दबाबको मिश्रणले इरानलाई सम्झौताको टेबलमा ल्याउन सकिने आशामा यसै दृष्टिकोणतर्फ ढल्किएका थिए तर ट्रम्पले गत अप्रिलमा युद्धविरामको घोषणा गरेयता तेहरानले सम्झौताका सर्तहरूमा आफ्नो अडान खासै बदलेको छैन ।
इरानको पछिल्लो प्रस्तावबारे शुक्रबार एयरफोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले त्यो प्रस्ताव हेरेँ, यदि मलाई पहिलो वाक्य नै मन परेन भने म त्यसलाई सिधै फ्याँकिदिन्छु ।’
उपराष्ट्रपति जेडी भान्सले भने यसै हप्ताको सुरुमा आत्मविश्वास व्यक्त गर्दै पत्रकारहरूलाई आफूले जारेड कुश्नर, स्टिभ विट्कफ र अरब जगतका कयौं मित्रहरूसँग टेलिफोनमा कुराकानी गरेको बताएका थिए, जसलाई ट्रम्पले तेहरानसँग सम्झौता गर्ने जिम्मेवारी सुम्पेका छन् ।
‘मलाई लाग्छ हामीले प्रगति गरिरहेका छौं । मुख्य प्रश्न यो हो कि के हामीले राष्ट्रपतिको ‘लक्ष्मण रेखा’ (रेड लाइन) लाई सन्तुष्ट पार्ने गरी पर्याप्त प्रगति गर्न सक्छौं ? राष्ट्रपतिले अहिलेका लागि हामीलाई कूटनीतिक मार्गमा अगाडि बढाउनुभएको छ र म यसैमा केन्द्रित छु,’ भान्सले भने ।
अकासिँदो महँगी र मध्यावधि चुनावको दबाब
इरानले आफ्नो कडा अडानबाट पछि हट्न कुनै तत्परता नदेखाएपछि ट्रम्पको धैर्यता टुट्दै गएको छ । विशेष गरी तेल र ग्यासको मूल्य बढाउने गरी हर्मुज जलडमरूमध्य लगातार बन्द भइरहनु र इरानी नेतृत्वभित्रको आन्तरिक विभाजनले वार्तालाई थप जटिल बनाएकोमा उनी असन्तुष्ट छन् । इरानको पछिल्लो प्रतिक्रिया र बयानबाजीले गर्दा धेरै अमेरिकी अधिकारीहरूले तेहरानको गम्भीरतामाथि नै प्रश्न उठाउन थालेका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले सिएनएनलाई दिएको बयानमा भनिन्, ‘राष्ट्रपति ट्रम्पसँग सबै विकल्पहरू खुला छन्। तर, उहाँको पहिलो प्राथमिकता सधैँ कूटनीति नै हो । अमेरिका इरानी शासनमाथि पूर्ण दबाब कायम राख्न सक्षम छ र राष्ट्रपतिले देशको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने सम्झौता मात्र स्वीकार गर्नुहुनेछ ।’
नाटोका लागि पूर्व अमेरिकी राजदूत इभो डाल्डरले भने, ‘उनले धम्कीपूर्ण भाषा प्रयोग गरे, त्यसले काम गरेन । उनले वार्ताको प्रयास गरे, त्यसले पनि काम गरेन। अब उनी यो अड्किएको परिस्थितिबाट बाहिर निस्कने बाटो खोज्दैछन् ।’
मध्यावधि चुनाव नजिकिँदै जाँदा यो द्वन्द्वबाट बाहिर निस्कने बाटो खोज्न ट्रम्पको राजनीतिक वृत्तमा छटपटी बढेको छ । आर्थिक दबाबका कारण मतदाताहरू आक्रोशित हुँदा राष्ट्रपतिको लोकप्रियता सूचकांक (अप«ुभल रेटिङ) मा ठुलो गिरावट आएको छ र रिपब्लिकनहरू आगामी नोभेम्बरमा यसको परिणाम भोग्नुपर्ने डरले चिन्तित छन् ।
प्रमुख तेल मार्ग मानिने हर्मुज जलडमरूमा इरानको नियन्त्रण कायम रहेकाले अमेरिकामा ग्यासको मूल्य प्रति ग्यालन औसत ४.५० डलर नाघेको छ र यो अझै बढ्ने सम्भावना छ । महँगी चिन्ताजनक गतिमा बढिरहेको छ । यसले विगत तीन वर्षमा पहिलो पटक अप्रिल महिनामा अमेरिकीहरूको आम्दानी वृद्धिलाई पनि उछिनेको छ ।
सेयर बजारले आफ्नो बढोत्तरीलाई जोगाइराखेको भए पनि व्यापारिक नेताहरूले पर्दा पछाडिबाट ट्रम्प र उनका सल्लाहकारहरूलाई छिटो समाधान खोज्न दबाब दिइरहेका छन् । हालै वाल स्ट्रिटका अधिकारीहरूसँग कुरा गरेका ट्रम्पका एक सल्लाहकारले उनीहरूको सन्देश ‘अब छिटो गर्नुहोस्, उनीहरू युद्धको अन्त्य मात्र चाहन्छन’ भन्ने रहेको बताए ।
ट्रम्पले भने यस युद्धले देश भित्र पारेको प्रभावलाई बारम्बार कम आँकलन गर्दै परिस्थिति आफूले सोचेभन्दा धेरै राम्रो रहेको दाबी गर्दै आएका छन् । ‘म अमेरिकीहरूको आर्थिक अवस्थाबारे सोच्दिनँ । म कसैको बारेमा सोच्दिनँ । म केवल एउटा कुरा सोच्छुः हामी इरानलाई आणविक हतियार बनाउन दिन सक्दैनौं । मलाई प्रेरित गर्ने एक मात्र कुरा यही हो,’ अमेरिकीहरूको आर्थिक चिन्ताका बारेमा सोधिएको प्रश्नमा उनले भने ।
यस भनाइबारे फक्स न्युजका पत्रकारले पुनः सोध्दा ट्रम्पले भने, ‘यो एकदम सही भनाइ हो र म यसलाई फेरि पनि दोहो¥याउँछु ।’
तथापि, ट्रम्प र उनको टोली आफ्नो नाजुक अवस्थाप्रति पूर्ण सजग छन— उनीहरूले संक्षिप्त राजनीतिक समयसीमाभित्र इरानमाथि विजय हासिल गर्ने र देशभित्रको आर्थिक संकटलाई सन्तुलनमा राख्ने दोहोरो चुनौतीको सामना गरिरहेका छन् ।
ट्रम्पका सल्लाहकारले स्वीकार गर्दै भने, ‘जब म सडकमा गुड्दा ५ डलरको ग्यास देख्छु, मलाई निकै डर लाग्छ । उनीहरू बाटो खोज्ने प्रयासमा छन् तर यो स्थिति अब धेरै लामो समयसम्म चल्ने छैन । जसरी भए पनि उनीहरूले हर्मुज जलडमरू खुला गराउनैपर्छ, उनीहरूसँग अर्को विकल्प छैन ।’