नेभिगेशन
प्रदेश

‘विदेश जान्नँ, पेसालाई आधुनिक र व्यावसायिक  बनाउँछु’

बेलबारी (मोरङ) । पछिल्लो समय युवाहरू रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुख्र्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय बनेका छन् ।
वैदेशिक रोजगारीमा नगई २५ वर्षीय राजा पुख्र्यौली पेसाबाटै दैनिक दुई हजारभन्दा धेरै स्वदेशमै आम्दानी गरिरहेका छन् । सुनसरीको दुहबी नगरपालिका–७, भलुवाका २५ वर्षीय राजा ठाकुर विगत ८ वर्षदेखि कपाल काट्ने (हजाम) पेसामा सक्रिय छन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि एसएलसी उत्तीर्णलगत्तै आफूले यो पेसा अङ्गालेको राजा ठाकुर बताउँछन् । बुबा रञ्जित ठाकुर र हजुरबुबाबाट गाउँमै यो सीप सिकेका राजाले अहिले यसैलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाएका छन् ।
आर्थिक अभावका कारण बीचमै पढाइ छाड्न बाध्य राजामा पढ्ने इच्छा भने मरेको थिएन । त्यसैले आठ वर्षको अन्तरालपछि उनले पुनः शिक्षा हासिल गर्ने अठोट गरे । हालै उनले बेलबारी–११ स्थित रहेको लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षा सङ्कायबाट कक्षा १२ को परीक्षा दिएका छन् । दिनभर कैँची र काइँयोसँग खेल्ने राजा बिहान–बेलुका भने आफ्नो शैक्षिक भविष्य सुधार्न व्यस्त रहन्छन् ।
हाल मोरङको बेलबारी–११ स्थित मामा शिवनाथ ठाकुरको सैलुनमा काम गरिरहेका राजाले यस पेसाबाट सम्मानजनक आम्दानी गरिरहेको बताउँछन् । ‘दैनिक एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म कमाई हुन्छ,’ उनी भन्छन्, ‘आफ्नै माटोमा पसिना बगाउन सके विदेशमा भन्दा राम्रो कमाई यहीँ सम्भव छ ।’ उनले आफू मात्र कमाउँदैनन्, आफ्ना तीन जना साथीहरूलाई पनि यही पेसा सिकाउँदै रोजगारीको अवसर दिएका छन् । चार जनाको परिवार (बुबा, आमा, बहिनी र आफू) को जिम्मेवारी सम्हालिरहेका उनलाई आफ्नो काममा गर्व छ ।
धेरै युवा साथीहरू राहदानी बोकेर म्यानपावर धाइरहेका बेला राजाको सोच भने फरक छ । उनी भन्छन्, ‘म विदेश जान्नँ, बरु यही पेसालाई थप आधुनिक बनाएर स्वदेशमै केही गर्ने ऊर्जाका साथ अघि बढिरहेको छु ।’ पुख्र्यौली पेसालाई लाजको विषय नबनाई सीप र मिहिनेत गर्ने हो भने आर्थिक समृद्धिका लागि विदेशिनु पर्दैन भन्ने गतिलो सन्देश राजा ठाकुरले दिएको बेलबारी उद्योग वाणिज्य सङ्घका सचिव रूपेश श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्