नेभिगेशन
विश्व

बेलायत शासन गर्नै नसकिने देश बन्दै गएको हो ?

लन्डन, (सीएनएन) । एन्थोनी सेल्डनले बेलायतका पछिल्ला आठ जना प्रधानमन्त्रीको जीवनी लेखिसकेका छन् । सन् १९९० को दशकमा जब उनले यो परियोजना सुरु गरे, त्यो बेला काम निकै विशाल तर एउटा निश्चित गतिमा हुन्थ्यो । त्यतिबेला १० डाउनिङ स्ट्रिट (प्रधानमन्त्री निवास) मा आउने व्यक्तिहरूले पदमा कयौं वर्ष बिताउँथे, जसले गर्दा उनले आफ्ना पात्रहरूले समयको कालखण्डमा छोडेका प्रभावहरूको राम्रोसँग अध्ययन गर्ने अवसर पाउँथे ।
तर अहिले सेल्डन आफैं परिस्थितिको तीव्र उतारचढावमा पछाडि पर्ने जोखिम बढेको छ । अघिल्लो कन्जरभेटिभ सरकारको पालामा एकै वर्षमा तीन जना नेता फेरिएपछि, सेल्डनले सन् २०२४ मा किअर स्टार्मरको विजयसँगै राजनीति सहज हुने आशा गरेका थिए । स्टार्मरको लेबर पार्टीले संसद्मा भारी बहुमत ल्याएको थियो र राष्ट्रिय पुनरुत्थानको ‘एक दशक’को प्रतिज्ञा गरेको थियो ।
तर स्टार्मर प्रधानमन्त्री बनेको दुई वर्ष पनि नपुग्दै उनी पदबाट बाहिरिने अवस्थामा पुग्न सक्छन् । इङ्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका स्थानीय चुनावमा मतदाताहरूले लेबर पार्टीका उम्मेदवारहरूलाई पूर्ण रूपमा अस्वीकार गरेपछि स्टार्मरका सहकर्मीहरू नै उनलाई हटाउने तयारीमा देखिन्छन् । सेल्डनले स्टार्मरका पूर्ववर्ती ऋषि सुनकको जीवनी आगामी अगस्टमा प्रकाशन गर्दैछन् । त्यतिबेलासम्म बेलायतले सात वर्षमा छैटौं प्रधानमन्त्री पाइसकेको हुन सक्छ । ७२ वर्षीय सेल्डनलाई आफू सधैं बदलिरहने राजनीतिको पछि मात्र दौडिरहनुपर्ने हो कि भन्ने डर छ ।
‘म चाँडै नै ‘१० डाउनिङ स्ट्रिटमा एन्जेला रेनर’को जीवनी लेख्न सुरु गरिसक्नेछु,’ सिएनएनसँग कुरा गर्दै सेल्डनले लामो सास फेरे । रेनरलाई लेबर पार्टीभित्रै प्रधानमन्त्रीका रूपमा स्टार्मरको सम्भावित प्रतिस्पर्धी मानिन्छ ।
१० डाउनिङ स्ट्रिटमा यसरी लगातार भइरहेको नेतृत्व परिवर्तनले देशमा धेरैलाई सोच्न बाध्य बनाएको छः के बेलायत साँच्चै शासन गर्नै नसकिने देश बन्दै गएको हो त ?
बेलायतका समस्या धेरै छन् । सन् २००८ को वित्तीय संकटबाट देश कहिल्यै पूर्ण रूपमा तंग्रिन सकेन । त्यसयता वास्तविक ज्याला ठप्प जस्तै रह्यो । जुन भर्खरै कोभिड–१९ महामारी र युक्रेनमा रुसको युद्धका कारण सिर्जित महँगीपछि अलिकति बढेको हो ।
यसैबीच, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)ले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ८ प्रतिशतसम्म गिरावट ल्याएको अनुमान गरिएको छ । उत्पादकत्व वृद्धि सुस्त छ । ऋणको भार यति बढेको छ कि जी–७ राष्ट्रहरूमध्ये बेलायतको सरकारी ऋणपत्रको प्रतिफल सबैभन्दा बढी छ । यस समूहमा बेलायतको औद्योगिक बिजुलीको लागत पनि सबैभन्दा उच्च छ ।
यहाँको निर्वाचन प्रणालीमा पनि दबाब देखिन थालेको छ । बेलायतको ‘फस्र्ट–पास्ट–द–पोस्ट’ (सबैभन्दा बढी मत ल्याउनेले जित्ने) निर्वाचन प्रणाली त्यतिबेला मात्र राम्रोसँग चल्छ, जब मैदानमा दुईवटा बलिया दल हुन्छन् । एक शताब्दीभन्दा बढी समयदेखि लेबर र कन्जरभेटिभ पार्टी नै मुख्य शक्ति थिए तर यो दुईदलीय वर्चस्वको अन्त्यले बेलायती राजनीतिलाई इङ्ल्याण्डमा पाँचपक्षीय र स्कटल्याण्ड तथा वेल्समा छपक्षीय प्रतिस्पर्धामा बदलिदिएको छ । यी दुई ऐतिहासिक दलहरूले अहिले मध्यमार्गी लिबरल डेमोक््रयाट्स, अत्यधिक प्रगतिशील ग्रीन पार्टी, दक्षिणपन्थी रिफर्म युके र स्कटल्याण्ड तथा वेल्सको स्वतन्त्रता चाहने राष्ट्रवादी दलहरुसँग प्रतिस्पर्धा गर्नुपरेको छ । यसले संयुक्त अधिराज्य (यूके) लाई नै टुक्राउन सक्ने जोखिम बढाएको छ । स्कटल्याण्ड सन् १७०७ देखि र वेल्स सन् १५३६ देखि युकेको हिस्सा रहँदै आएका छन् ।
यस्ता अनगिन्ती समस्याहरूका अगाडि बेलायतमा राम्रो सरकार चलाउनु असम्भवजस्तै भएको र जुनसुकै नेता आए पनि यो बहावविरुद्ध पौडी खेल्न गाह्रो हुने तर्क गर्न थालिएको छ । तर सेल्डनका अनुसार यस्तो निराशाले स्टार्मर र उनका कमजोर पूर्ववर्तीहरूलाई उनीहरूको गल्तीबाट उम्कने बाटो मात्र दिन्छ ।
‘बेलायत निश्चित रूपमा शासन गर्नै नसकिने देश होइन, यद्यपि केही हालैका प्रधानमन्त्रीहरूले यसलाई त्यस्तै बनाउन निकै कडा प्रयास गरे,’ उनले भने ।
सेल्डनले स्टार्मरका कन्जरभेटिभ पूर्ववर्तीहरूमा धेरै कमजोरीहरू देखेका छन् । ठूलो सरकार र पछाडि परेका क्षेत्रहरूको चिन्ता गर्ने बोरिस जोन्सनलाई उनी ‘रुजवेल्टियन’ (अमेरिकी राष्ट्रपति रुजवेल्ट जस्तै) भन्छन् तर मात्र ‘महŒवाकांक्षामा, काममा होइन ।’
त्यस्तै, दक्षिणपन्थी आर्थिक विचारप्रति कडा झुकाव राख्ने लिज ट्रस ‘रेगनपन्थी’ थिइन् । जोन्सनका फजुल खर्चहरूलाई रोक्ने प्रयासमा ट्रसले सन् २०२२ मा विना स्रोतको कर कटौतीको योजना ल्याइन्, जसले बेलायतको वित्तीय बजारलाई झन्डै ध्वस्त बनायो । बैंक अफ इङ्गल्याण्डले उनलाई बचाउन नचाहेपछि कन्जरभेटिभ पार्टीले उनलाई मात्र ४९ दिनमा पदबाट हटायो, जसका कारण उनी बेलायतको इतिहासमै सबैभन्दा छोटो समय सरकार चलाउने प्रधानमन्त्री बनिन् ।
खर्च कटौती र सानो सरकारका समर्थक ऋषि सुनक एक प्रकारले ‘हुभरवादी’ थिए तर सुनकले पद सम्हाल्दासम्म देश कन्जरभेटिभ पार्टीबाट यति थाकिसकेको थियो र ट्रसका कारण यति ठूलो क्षति भइसकेको थियो कि पहिलो बेलायती एसियाली प्रधानमन्त्रीले सन् २०२४ को चुनाव जित्ने सम्भावना निकै कम थियो ।
तर स्टार्मरसँग तुलना गर्नका लागि अमेरिकी नेताहरूको उदाहरण कमै भेटिन्छ । राजनीतिक विचारभन्दा पनि स्टार्मरको व्यक्तित्व बढी झल्किन्छ । ‘उनमा जिमी कार्टरका केही अंशहरू छन्,’ सेल्डन भन्छन्, ‘मलाई लाग्छ स्टार्मर इमानदार, भलाद्मी, गम्भीर र उच्च निष्ठा भएका व्यक्ति हुन् तर यो जिम्मेवारी उनको क्षमताभन्दा बाहिरको थियो ।’
समयको मागअनुसार ‘सक्षम’ हुन नसक्दा स्टार्मर परिस्थितिहरूको चपेटामा परेको र यस बहावसँग लड्न नसकेको देखिन्छ । गत हप्ताको चुनावी नतिजापछि जब उनका दर्जनौं सहकर्मीहरूले उनको राजीनामा मागे, स्टार्मरले आफ्नो कार्यकाललाई फेरि नयाँ ढंगले सुरु गर्ने (रिसेट) प्रतिज्ञा गरे । तर सोमबारको उनको भाषणमा नयाँ दृष्टिकोणको स्पष्ट खाका थिएन, जसले पुरानै एजेन्डाहरूलाई मात्र दोहो¥याएको थियो । ‘यसलाई नयाँ दिशा दिने भाषण भन्नु र पछि दिने कुरा केही पनि नहुनु अचम्मलाग्दो थियो,’ सेल्डनले भने ।
अक्सफोर्ड विश्वविद्यालयका राजनीतिशास्त्री बेन एन्सेलका अनुसार स्टार्मरको अवस्था अहिले ‘एकजना गम्भीर बिरामीको ओछ्यान नजिकै आएर ‘ओहो, अवस्था त निकै खराब रहेछ— कसैले केही गर्नुपर्छ’ भन्दै टाउको कन्याउने डाक्टर जस्तै’ भएको छ । पदमा बसेको झन्डै दुई वर्ष भइसक्दा पनि स्टार्मरले बेलायतलाई निको पार्न कस्तो ‘कडा औषधि’ चाहिन्छ भन्ने कुरा बुझाउन नसकेको एन्सेलले बताए ।
स्टार्मरले सन् २०२४ को चुनावी अभियानका क्रममा करका तीन मुख्य स्रोतहरू नबढाउने वाचा गरेकाले उनको सरकार बाँधिएको छ । त्यसैले उनले साना र राजनीतिक रूपमा अलोकप्रिय क्षेत्रहरूबाट राजस्व संकलन गर्नुपरेको छ ।
‘उनीहरूले निजी विद्यालय, किसान र बैंकहरू जस्ता क्षेत्रलाई निसाना बनाएर कर थपे, तर त्यसबाट अरू कसैका लागि केही गर्न पुग्ने गरी पर्याप्त पैसा उठेन,’ एन्सेलले भने, ‘यसले धेरै शत्रुहरू बनायो तर मित्रहरू भने थप्न सकेन ।’
यदि स्टार्मरसँग देशलाई बुझाउने कुनै बलियो राजनीतिक कथा (स्टोरी) हुन्थ्यो भने यी नीतिगत गल्तीहरूलाई जनताले क्षमा गर्न सक्थे । बेलायतमा एउटा राम्रो कथाले देशलाई संकटमा लैजाँदा पनि लामो समयसम्म काम गर्न सक्छ । सन् २००८ को वित्तीय संकटपछि जब प्रधानमन्त्री डेभिड क्यामरुन आए, उनको निदान प्रष्ट थियोः अघिल्लो लेबर सरकारले धेरै खर्च गरेको थियो र बेलायतको वित्तीय स्वास्थ्य सुधार्न केही समय कडा खर्च कटौती आवश्यक छ ।
कन्जरभेटिभहरूले खर्च कटौती त गरे तर आर्थिक वृद्धि ल्याउन सकेनन् । यसले बेलायतको ऋण घटाउने र पुनरुत्थानमा मद्दत गर्ने लक्ष्य राखेको थियो तर दुवैमा असफल भयोः ऋण झन् बढ्यो र आर्थिक वृद्धि सुस्त रह्यो । तैपनि, आफ्नो पहिलो कार्यकालभरि बेलायतले आफ्नो खर्च घटाउनुपर्छ भन्ने सन्देश निरन्तर जनतामा प्रवाह गरिरहेका कारण, चुनावभन्दा ठीक अघिल्लो वर्ष केही आर्थिक सुधार भएपछि क्यामरुन सन् २०१५ मा पुनः निर्वाचित भए ।
यसविपरीत, स्टार्मरसँग जनतालाई दिने कुनै स्पष्ट सन्देश छैन । उनले के र कसरी गर्ने भन्ने स्पष्ट नपारी केवल ‘परिवर्तन’को प्रतिज्ञा गरे । ‘प्रधानमन्त्री भनेको राष्ट्रको मुख्य कथावाचक (स्टोरीटेलर) हो तर स्टार्मरसँग कहिल्यै कुनै कथा नै थिएन,’ सेल्डनले भने।
तैपनि, स्टार्मरको सरकार जेनतेन चलिरहन सक्छ । उनले राजीनामा नदिने र बेलायतलाई फेरि कन्जरभेटिभहरूको पालाको जस्तो ‘अराजकता’मा नधकेल्ने कसम खाएका छन् । केही विश्लेषकहरूले बेलायतलाई इङ्ल्याण्डका फुटबल क्लबहरूले आफ्ना म्यानेजरहरू फेरेजस्तै बारम्बार प्रधानमन्त्री फेर्ने ‘लत’ लागेको चेतावनी दिएका छन् ।
स्टार्मरका समर्थकहरू भने बेलायतमा सुधार भइरहेको कुरा औंल्याउँछन् । यसै हप्ता, नेशनल हेल्थ सर्भिस (एनएचएस)को उपचारका लागि पर्खनेहरूको सूचीमा सन् २००८ यताकै (महामारीको समयबाहेक) सबैभन्दा ठूलो मासिक गिरावट देखिएको छ । यसै हप्ता राजीनामा दिएका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले एनएचएस इतिहासमै ‘सबैभन्दा तीव्र गतिमा पर्खने समय घटाउने’ मार्गमा रहेको बताएका थिए । अरू कतिपयले ब्रेक्जिटलाई लिएर युरोपसँग वर्षौंसम्म चलेको विवादपछि स्टार्मरले विश्व मञ्चमा बेलायतको साख फर्काएको कुरामा जोड दिन्छन् ।
उनका समर्थकहरूको गुनासो छ, परिस्थिति राम्रो हुँदै गए पनि जनताले त्यसलाई बुझिरहेका छैनन् वा चासो दिइरहेका छैनन् । बरु उनीहरू रिफर्म वा ग्रीन पार्टीले बाँडेका ‘सस्तो आश्वासन’तिर आकर्षित भइरहेका छन्, जसले बेलायतलाई ‘निकै अन्धकारमय बाटो’ तर्फ लैजान सक्ने स्टार्मरको भनाइ छ ।
तर एक प्रधानमन्त्रीले आफ्ना उपलब्धिहरू जनतालाई महसुस गराउन सक्नुपर्छ । ‘यदि तपाईं खराब बिक्रेता (सेल्सम्यान) हो भने, तपाईंसँग सामान जतिसुकै राम्रो वा तपाईं जतिसुकै निर्दोष किन नहुनुहोस्, प्रत्येक पटक तपाईंले त्यसलाई बेच्न खोज्दा अवस्था झनै बिग्रिँदै जान्छ,’ एन्सेलले भने ।
एन्सेलका अनुसार स्टार्मरको संघर्षमा कुनै ठूलो रहस्य छैन । ‘थोरै पनि आकर्षण नभएको र सामान बेच्न नजान्ने व्यक्ति सामान बेच्नमा निकै असफल साबित भएका छन् र जनतामाझ अलोकप्रिय बनेका छन् । के यो न्यायसंगत छ ? मलाई थाहा छैन तर जनताले यसैगरी प्रतिक्रिया दिइरहेका छन् ।’
आफ्नो चुनावी सम्भावना बचाउनका लागि लेबर पार्टीका धेरै सांसदहरू अहिले एक कुशल बिक्रेताको खोजीमा छन् । उनीहरू ग्रेटर म्यानचेस्टरका लेबर मेयर एन्डी बर्नहमतिर हेरिरहेका छन् । अधिकांश सर्वेक्षणहरूले बेलायतको सबैभन्दा लोकप्रिय राजनीतिज्ञका रुपमा एन्डीलाई देखाएका छन् । स्टार्मरमाथि दूरदर्शिताको कमी भएको आरोप छ भने एन्डी ‘म्यानचेस्टरवाद’को वकालत गर्छन् । यो एक प्रकारको जनमुखी र व्यवसाय–मैत्री समाजवाद हो, जसले अत्यावश्यक सेवाहरूलाई पुनः सार्वजनिक नियन्त्रणमा ल्याउने लक्ष्य राख्छ । उनको नीतिले म्यानचेस्टरलाई देशकै सबैभन्दा तीव्र गतिमा फस्टाउँदो सहर बनाउन मद्दत गरेको छ ।
तर बर्नहमको डाउनिङ स्ट्रिटसम्मको यात्रा निकै कठिन र अनिश्चित छ । उनले संसद्मा सिट नजिती लेबर पार्टीको नेतृत्वका लागि स्टार्मरलाई चुनौती दिन सक्दैनन् । बर्नहमका लागि बाटो खाली गर्न यसै हप्ता ग्रेटर म्यानचेस्टर क्षेत्रको मेकरफिल्डका एक लेबर सांसदले राजीनामा दिएका छन् । यसका कारण त्यहाँ उपनिर्वाचन हुनेछ । उक्त चुनावमा बर्नहमले रिफर्म पार्टीका उम्मेदवारको सामना गर्नुपर्ने सम्भावना छ ।
यो प्रतिस्पर्धाको महŒव निकै ठूलो छ । स्टार्मरबाट आश मारिसकेको लेबर पार्टीका लागि म्यानचेस्टरबाट आएका बर्नहम नै अब अन्तिम आशाका किरणजस्तै बनेका छन् । बर्नहमले उपनिर्वाचनमा रिफर्म पार्टीसँग हार बेहोरेमा, यसले आगामी वर्षहरूका लागि लेबर पार्टीको चुनावी सम्भावनाको अन्त्य गर्नेछ र बेलायतलाई स्टार्मरले चेतावनी दिएको त्यही ‘अन्धकारमय बाटो’तर्फ धकेल्ने छ । त्यसपछि भने बेलायत साँच्चै नै शासन गर्नै नसकिने देश बन्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्