नेभिगेशन
विश्व

पुटिन चीन भ्रमणमा जाँदै

मस्को, (एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले शनिबार जनाएको छ ।
भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्नेबारे छलफल गर्ने क्रेमलिनले विज्ञप्तिमार्फत जनाएको छ ।
पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरूमा पनि विचार आदान–प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।  
भ्रमणका क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भएपछि पुटिनको भ्रमणको घोषणा भएको जनाइएको छ । भ्रमणले युक्रेन–रुस द्वन्द्वलगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ । 
चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ । बेइजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार र सैन्य सामाग्रीहरू प्रदान गरेको कुरा अस्वीकार गर्दै पश्चिमी देशहरूलाई युक्रेनलाई हतियार दिएर द्वन्द्व लामो बनाएको आरोप लगाएको छ ।
द्वन्द्वको विषयलाई लिएर रुसमाथि लगाएको आर्थिक प्रतिबन्धको बीचमा रुसी जीवाश्म इन्धनको विश्वको शीर्ष खरिदकर्ताका रूपमा, चीन मस्कोको प्रमुख आर्थिक साझेदार बनेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्