नेभिगेशन
राजनीति

एमाले सचिवालय बैठक बस्ने

काठमाडौं । एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार बस्ने भएको छ । शनिबार बस्ने तय भएको बैठक सोमबारका लागि सारिएको एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने बताइएको छ । चुनावपछि उनी सचिवालय बैठकमा सहभागी भएका थिएनन् । गत चैत १३ गते पक्राउ परेका ओली १३औं दिनमा रिहा भएका थिए । त्यसपछि स्वास्थ्यका कारण ओली पार्टी काममा फर्किएका छैनन् । 
ओली हिरासतमा हुँदा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकिएको थियो । उनको अध्यक्षतामा दुई पटक एमाले सचिवालय बैठक बसेको थियो । 
एमालेभित्रको नेतृत्वको विकल्पको खोजीको चर्चा भइरहेका बेला बस्न लागेको सचिवालय बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली निकट रहेका पार्टी उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेलसहितका नेतासमेत पार्टीभित्र ओलीको विकल्पको पक्षमा रहेको एमाले स्रोत बताउँछ । तर, ओली भने जतिसक्दो छिटो नेपाली कम्युनिष्ट पार्टीसँग एकताका लागि छलफलमा रहेको उनी निकट बताउँछन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको कुराकानी भइरहे पनि निष्कर्षमा पुगिनसकेको दाहाल निकटको दाबी छ । फागुन २१ को चुनावपछि कमजोर बनेको एमाले र नेकपाका शीर्ष नेतृत्व बृहत् बाम एकताकै पक्षमा देखिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्