नेभिगेशन
उपत्यका

प्रधानमन्त्री कार्यालयबाट भन्दै वडासचिव धम्काउने पक्राउ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत धम्की दिने एक जना  पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–६ वीरेन्द्रचोक टोल घर भइ हाल काठमाडौंको शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का छन् । राष्ट्रिय स्वतन्त्र पार्टी निकट रहेका उनले आफूलाई जेनजी अभियन्ता भन्दै आएका छन् ।  
दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो । कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए । वडासचिवलाई धम्की दिएको अडियो बाहिरिएपछि खड्कामाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा वडा सचिवलाई धम्काउने खड्कालाई कारबाही गर्न सुरक्षा एवम् अनुसन्धान निकाय निर्देशन दिएको उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्