नेभिगेशन
खेलकुद

लुम्बिनी राष्ट्रपति रनिङ शिल्ड सुरु

लुम्बिनी प्रदेशमा १६औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद्को आयोजनामा दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित प्रतियोगिताको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले राष्ट्रियताको जगेर्ना र मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको योगदान अतुलनीय रहेको बताए ।
आचार्यले खेलाडीहरुको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह रहेको उल्लेख गरे । उनले खेलकुदले जिल्ला, प्रदेश र देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मुख्यमन्त्री आचार्यले पछिल्लो समय युवाहरु कुलतमा फस्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनीहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताए ।
उनले राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरुलाई हौसला प्रदान गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न आग्रह गरे । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबड्डी र एथलेटिक्स विधाका खेलहरु समावेश छन् । प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तीरणदाज गौतमको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सीता शर्मा चौधरी लगायत खेल क्षेत्रका अगुवा, प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्