नेभिगेशन
अर्थतन्त्र

जलविद्युत हब बन्दै रसुवा, ३६५ मेगावाट प्रसारण प्रणालीमा योगदान

काठमाडौं । हिमाली जिल्ला रसुवा जलविद्युत उत्पादनको हब बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत तथा निजी लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनाको संख्या बढ्दै जाँदा रसुवा जलविद्युत हब बन्दै गएको हो । 
यो जिल्लाले अहिले निर्माण सम्पन्न भएका ९ जलविद्युत आयोजनाबाट ३६५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गरिरहेको छ । अहिले निर्माणाधीन थप ३ ठूला जलविद्युत आयोजना सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि यो योगदान ७२१ मेगावाट हुनेछ र 
नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार अहिले रसुवामा २० मेगावाटको चिलिमे ५ मेगावाटको तल्लो मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको तल्लो साञ्जेन, १११ मेगावाटको रसुवागढी, १४.३ मेगावाटको अपर मैलुङ र ७८ मेगावाटको साञ्जेन खोला जलविद्युत केन्द्र सञ्चालनमा छन् ।
चिलिमे विद्युत प्राधिकरणको सहायक तथा रसुवागढी, माथिल्लो र तल्लो साञ्जेन चिलिमेका सहायक कम्पनीमार्फत निर्माण गरिएको हो । त्यसबाहेकका अरु स्वतन्त्र ऊर्जा उत्पादकहरूको लगानीमा निर्माण भएका हुन् । भर्खरै निर्माण सम्पन्न भएको २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजना परीक्षण उत्पादनको चरणमा छ ।

भूमिगत संरचनाको नमुना जिल्ला
नेपालको जलविद्युत् विकास इतिहासमा पहिलो पटक भूमिगत संरचनामा निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्र रसुवामै छ । यो जलविद्युत केन्द्रबाट प्राप्त अनुभव र प्रविधिले पछिल्ला आयोजनाहरूलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री ढाँचामा निर्माण गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ ।
चिलिमेबाट सिकिएको प्राविधिक अनुभवकै आधारमा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा बाँधबाहेक अधिकांश संरचना भूमिगत बनाइएको छ । साञ्जेन जलविद्युत् कम्पनीका आयोजनाहरू पनि अर्ध–भूमिगत ढाँचामा निर्माण गरिएका छन् ।

सुक्खायाममा उत्पादन घटे पनि सुधारको अपेक्षा
हिउँदको सुक्खा मौसमका कारण हिमाली क्षेत्रका नदी तथा खोलाहरूमा जलप्रवाह घट्दा विद्युत् उत्पादन पनि प्रभावित हुने गरेको छ । तापक्रम बढ्दै हिमपग्लन सुरु भइसकेकाले र मनसुन नजिकिएकाले आगामी दिनमा उत्पादन लक्ष्यअनुसार बढ्ने अपेक्षा गरिएको छ ।
सुक्खायाममा उत्पादक कम्पनीहरूलाई प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले मासिक करिब २ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्दै आएको जनाएको छ । रसुवाले राष्ट्रिय प्रसारण प्रणालीमा ठूलो योगदान गरिरहेको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाले बताए । 

३५६ मेगावाटका आयोजना निर्माणाधीन
रसुवामा अहिले ३५६ मेगावाट क्षमताका ३ ठूला जलविद्युत आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । २१६ मेगावाटको माथिल्लो  त्रिशूली–१, ६० मेगावाटको फलाखु खोला र १२० मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना अहिले निर्माणमा रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यी सबै आयोजनाको निर्माण प्रगति ५० प्रतिशतभन्दा माथि पुगिसकेको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका पूर्वकार्यकारी निर्देशक माधवप्रसाद कोइरालाका अनुसार यी ३ आयोजना सम्पन्न भएपछि रसुवाले मात्र ७ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गरी राष्ट्रिय ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।
विकट भौगोलिक अवस्थाबीच जलविद्युत् विकास सम्भव हुनुमा सडक पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहेको स्थानीयहरू बताउँछन्। तत्कालीन राष्ट्रिय पञ्चायत उपाध्यक्ष दावाफिन्जो तामाङको पहलमा तथा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहको सक्रियतामा नेपाली सेनाले निर्माण गरेको सडकले जलस्रोत अध्ययन र आयोजना निर्माणलाई सहज बनाएको थियो ।

जलविद्युतले बदलेको स्थानीय जीवन
जिल्लामा बनेको पहिलो चिलिमे जलविद्युत केन्द्र सञ्चालनमा आएदेखि नै रसुवामा रोजगारी, व्यापार, सडक, शिक्षा र सामाजिक पूर्वाधारको विकासले तीव्रता पाएको छ । स्थानीय नागरिकलाई सेयर वितरण गरिएकाले उनीहरू प्रत्यक्ष रूपमा आयोजना लाभांशका हिस्सेदार बनेका छन् । 
चिलिमे, रसुवागढी र साञ्जेन आयोजनाबाट स्थानीयले सेयर प्राप्त गरेका छन् । यसले आर्थिक गतिविधि विस्तार हुनुका साथै स्थानीय जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ । जिल्ला विकास समितिका पूर्वसभापति मिलन तामाङ भन्छन्, ‘जलविद्युतले राष्ट्रिय अर्थतन्त्रमा मात्र होइन, स्थानीय नागरिकको जीवनस्तर उकास्न पनि ठूलो योगदान पु¥याएको छ ।’

लोडसेडिङ अन्त्यदेखि विद्युत निर्यातसम्म
एक समय दैनिक १२ घण्टासम्मको लोडसेडिङ झेलेको नेपाल आज विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ । यस उपलब्धिमा रसुवाका जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण योगदान छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार कठिन भूगोल, प्रतिकूल मौसम र प्राकृतिक जोखिमका बाबजुद इन्जिनियर, प्राविधिक र श्रमिकहरूको अथक परिश्रमले ऊर्जा आत्मनिर्भरताको मार्ग प्रशस्त गरेको हो ।
‘रसुवा अब केवल हिमाली जिल्ला होइन, नेपालको ऊर्जा सुरक्षाको आधार स्तम्भ बनेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हुँदै जाँदा जिल्लासँगै समग्र देशले आर्थिक समृद्धि, औद्योगिक विकास र ऊर्जा सुरक्षामा नयाँ उचाइ हासिल गर्नेछ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्