अबको केही हप्तामै सन् २०२६ को विश्वकप फुटबल सुरु हुँदैछ । यस प्रतियोगिताका १०४ वटा खेलहरू जुन दुबो (घाँस) मा खेलिनेछ, त्यसको भूमिका निकै महŒवपूर्ण तर प्रायः ओझेलमा पर्ने खालको हुन्छ । यस मैदानलाई पूर्ण रूपमा तयार पार्न वैज्ञानिकहरूले महिनौंसम्म यसको सिँचाइ गर्ने, काट्ने र कुल्चने जस्ता अनेकौं प्रयोगहरू गरेका छन् ।
सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिताको समूह चरणको एउटा निर्णायक खेलमा खेल सुरु भएको आठौं मिनेटमै एउटा रोचक दृश्य देखियो । एन्जेल डी मारियाले क्यानडाका रक्षापंक्तिका खेलाडीबाट बल खोसेर विपक्षीको गोलपोष्टतर्फ अघि बढे । अर्जेन्टिनाका यी महान् खेलाडीका सामुन्ने केवल गोलकिपर मात्र थिए । तर, बल ड्रिब्लिङ गर्दै गोलपोष्ट नजिक पुग्दा उनलाई बल नियन्त्रण गर्न निकै गाह्रो भइरहेको देखिन्थ्यो । पेनाल्टी एरियाको छेउमा क्यानडाका गोलकिपरले उनलाई रोक्न खोज्दा डि मारियाले फितलो प्रहार मात्र गर्न सके, जसलाई गोलकिपरले सहजै विफल पारिदिए ।
खेलपछि अर्जेन्टिनाका प्रशिक्षक र खेलाडीहरूले मैदानको दुबोका कारण आफ्नो प्रदर्शन प्रभावित भएको बताए । विश्वविजेता टोलीले अमेरिकाको एटलान्टास्थित स्टेडियमको मैदानमा बिछ्याइएको दुबोको गुणस्तर कमजोर भएकाले बल नियन्त्रण गर्न गाह्रो भएको दाबी ग¥यो । त्यो स्टेडियम वास्तवमा अमेरिकी फुटबल (एनएफएल) र मेजर लिग सकरका लागि प्रयोग हुने कृत्रिम (आर्टिफिसियल) मैदान थियो तर प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअघि मात्र त्यहाँ अस्थायी रूपमा प्राकृतिक दुबो बिछ्याइएको थियो ।
खेलाडीहरूले बल ‘स्प्रिङबोर्ड’मा उफ्रिएझैं अनियन्त्रित रूपमा उफ्रिएको भन्दै मैदानलाई ‘विपत्ति’को संज्ञा दिए । अमेरिकाका अन्य स्टेडियमहरूमा पनि खेलहरू हुँदा मैदानको गुणस्तरलाई लिएर यस्तै आलोचनाहरू भइरहे ।
अब आउँदो २०२६ को विश्वकपमा सह–आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिको यस्ता आलोचनाबाट बच्न चाहन्छन् । यसैका लागि उनीहरूले विशेषज्ञहरूको एउटा विशेष टोली नै परिचालन गरेका छन् । विगत आठ वर्षदेखि अनुसन्धानकर्ताहरूले उत्कृष्ट मैदान तयार पार्नका लागि बल उफारेर, बुटले कुल्चिएर र दुबोका विभिन्न प्रजातिहरूमाथि अनेकौं परीक्षणहरू गरिरहेका छन् । उनीहरूले विभिन्न जलवायुमा कुन घाँस उपयुक्त हुन्छ भनी हेर्न त्यसको सूक्ष्म अध्ययन गरेका छन् र घाँसको लम्बाइ मिलिमिटरमा नापेर निश्चित आकार दिएका छन् ।
टेनिस विश्वविद्यालयका प्राध्यापक जोन सोरोचन भन्छन्, ‘यो काम साँच्चै नै निकै तनावपूर्ण छ ।’ उनलाई फिफाले विश्वकपका सबै १६ वटा स्टेडियमहरूको मैदान तयार पार्ने र त्यसको हेरचाह गर्ने जिम्मेवारी सुम्पेको छ । तीमध्ये पाँचवटा स्टेडियमहरू पूर्ण रूपमा छाना भएका (डोम) छन् । सोरोचन थप्छन्, ‘मलाई ती छाना भएका स्टेडियमहरूको बढी चिन्ता छ, किनकि बाहिर सूर्य उदाए पनि भित्र घाम लाग्दैन । बिरुवाका लागि सूर्यको प्रकाश सबैभन्दा आवश्यक कुरा हो ।’
मैदानको सूक्ष्म विज्ञान
अब विश्वकप सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा सोरोचन र उनका साथीहरूले गरेका १७० भन्दा बढी प्रयोगहरूको वास्तविक परीक्षा हुँदैछ । यी मैदानहरूमा एकै पटक २१ जना खेलाडीहरू ९० मिनेटभन्दा बढी समय कुद्नेछन् र कुल १०४ खेलहरू सञ्चालन हुनेछन् । विश्वका उत्कृष्ट खेलाडीहरूको खेल कौशल र अर्बौं दर्शकहरूको चाहना अब यही दुबोको मजबुतीमा निर्भर रहनेछ ।
सोरोचनका अनुसार घाँसको लम्बाइमा मात्र ५ मिलिमिटरको फरक पर्दा पनि त्यसले खेलको गतिलाई निकै ढिलो या तीव्र बनाउन सक्छ । कुन मैदानको घाँस कति उचाइमा काट्ने भन्ने कुरा पत्ता लगाउन वैज्ञानिकहरूले टेनेसीस्थित आफ्नो अनुसन्धान केन्द्रमा रातो मेसिनबाट फुटबलहरू प्रहार गरेर त्यसको गति र बाउन्स मापन गरेका थिए । उनीहरूले फलामे मेसिनमा फुटबल बुट जडान गरेर मैदानमा बजार्दै त्यसको लचकतासमेत परीक्षण गरे ।
यो परीक्षण केवल बलको गतिका लागि मात्र थिएन, यसले खेलाडीहरूलाई मैदानमा दौडिन र मोडिन कत्तिको सहज हुन्छ भन्ने कुरा पनि निर्धारण गथ्र्यो । खेलका बेला मैदानमा खाल्डो नपरोस् र हिलो जमेर खेलको गति नरोकियोस् भन्नेमा उनीहरू सचेत थिए । खराब मैदानका कारण लाखौं डलर मूल्यका खेलाडीहरूको खेल जीवन नै समाप्त पार्ने खालका गम्भीर चोटहरू लाग्न सक्ने जोखिम रहन्छ ।
यसपटक विश्वकपका स्टेडियमहरू मेक्सिको सिटी र मियामीजस्ता अत्यधिक गर्मी र ओसिलो ठाउँदेखि टोरन्टो र बोस्टनजस्ता चिसो ठाउँसम्म फैलिएका छन् । यसैले वैज्ञानिकहरूले प्रत्येक स्थानको मौसमअनुसार फरक–फरक सिँचाइ र मर्मतको तरिका अपनाएका छन् । गर्मी ठाउँहरूका लागि ‘बर्मुडा’ घाँस र चिसो ठाउँका लागि ‘केन्टकी ब्लुग्रास’ र ‘पेरेनियल राईग्रास’ को मिश्रण प्रयोग गरिएको छ । बर्मुडा घाँस बढी बाक्लो हुने र चाँडै सुक्ने भएकाले यसलाई अलि छोटो काट्नुपर्ने सोरोचनको टोलीले निष्कर्ष निकालेको छ ।
मैदानलाई बलियो र टिकाउ बनाउनका लागि प्राकृतिक दुबोको जरासँगै कृत्रिम फाइबरहरू पनि बुनिएको छ । युरोपका चिसो मैदानमा खेल्ने बानी परेका खेलाडीहरू जब मियामी वा कान्सास सिटीको बर्मुडा घाँसको मैदानमा उत्रनेछन्, उनीहरूका लागि यो अनुभव अलि फरक हुन सक्छ । सोरोचन भन्छन्, ‘उनीहरूले यसलाई हेरेर यो जर्मनीको जस्तो छैन भन्न सक्छन्, तर हाम्रा प्रयोगहरूका कारण यो फरक निकै कम हुनेछ ।’
मिसिगन स्टेट विश्वविद्यालयका प्राध्यापक ट्रे रोजर्स भन्छन्, ‘एकै पटक यति धेरै अस्थायी मैदानहरू निर्माण गर्नुपर्ने भएकाले यो काम निकै चुनौतीपूर्ण छ ।’ फिफाले सोरोचन र रोजर्सको जोडीमाथि ठूलो भरोसा राखेको छ, जो घाँस विज्ञानको क्षेत्रमा निकै प्रख्यात छन् । उनीहरूले आफ्नो करियरमा यति ठूलो चुनौती कहिल्यै सामना गरेका थिएनन् ।
घाँसका गुरु र उनका चेला
रोजर्सलाई सुरुमा घाँसको हेरचाह गर्ने काममा रुचि जाग्यो जब उनले अमेरिकाको एउटा गल्फ कोर्समा काम गर्न थाले । सन् १९९२ मा फिफाले सन् १९९४ को विश्वकपका लागि मिसिगनको एउटा बन्द स्टेडियम (सिल्भरडोम) भित्र प्राकृतिक घाँसको मैदान बनाउन सहयोग मागेपछि उनी यस क्षेत्रमा प्रवेश गरे । त्यति बेला धेरै अमेरिकीहरू जस्तै रोजर्सलाई पनि विश्वकपकै बारेमा केही थाहा थिएन । उनी हाँस्दै सम्झन्छन्, ‘मैले त्यति बेला सोधेको थिएँ— यो विश्वकप भनेको के हो ?’
त्यसका बाबजुद फिफाले उनलाई मैदान बनाउने जिम्मेवारी दियो । उनको टोलीले चिसो मौसममा र कम घाममा पनि सप्रन सक्ने केन्टकी ब्लुग्रास र पेरेनियल राईग्रासको मिश्रण प्रयोग गरेर रंगशाला बाहिर हजारौँ षटकोणीय (हेक्सागोनल) ट्रेहरूमा घाँस उब्जाए । त्यति बेला सोरोचन एक विद्यार्थीको रूपमा रोजर्सको टोलीमा बालुवा सम्याउने काम गर्थे ।
ती षटकोणीय ट्रेहरूका कारण घाँसका जराहरू सुरक्षित राख्दै त्यसलाई रंगशाला भित्र लैजान सजिलो भयो । छाना भएको रंगशालामा कृत्रिम मैदानमाथि प्राकृतिक घाँस बिछ्याइएको त्यो विश्वमै पहिलो पटक थियो । जब खेलाडीहरू पहिलो अभ्यासका लागि मैदानमा आए, उनीहरूलाई त्यो पूर्ण रूपमा प्राकृतिक र सामान्य लाग्यो । रोजर्सको यही सफलताले उनलाई ‘घाँसका गुरु’ (गुरु अफ ग्रास) को उपनाम दिलायो ।
सन् १९९४ को विश्वकप सकिएपछि सोरोचनले रंगशालाको माथिल्लो भागबाट मैदानमा परेको असरलाई नियाले र सोचे— यसलाई अझ राम्रो कसरी बनाउन सकिन्छ ? त्यसपछि उनले आफ्नो पूरा ध्यान बन्द कोठा वा रंगशालाभित्र घाँस कसरी राम्ररी उमार्न सकिन्छ भन्ने अनुसन्धानमा लगाए । जब सन् २०१८ मा फिफाले २०२६ को विश्वकपका लागि सोरोचनसँग सम्पर्क ग¥यो, उनले आफ्ना पुराना गुरु रोजर्सलाई पनि आफूसँगै काममा जोडे ।
प्राविधिक तयारी र ढुवानीको चुनौती
सामान्यतया, दुबोलाई जुन मैदानमा बिछ्याउने हो, त्यसको आसपासकै माटोमा उब्जाइन्छ । तर यस विश्वकपमा धेरैजसो मैदानहरू खेल सुरु हुनुभन्दा जम्मा १० दिनअघि मात्र रंगशालामा जडान गरिनेछ । कोलोराडोमा रहेको एउटा ठूलो ‘सोड फार्म’ का सञ्चालक जो विल्किन्सले डलास, एटलान्टा र ह्युस्टनका रंगशालाहरूका लागि दुबो तयार पारिरहेका छन् । यी तीनवटै रंगशालाहरू छाना भएका बन्द रंगशाला हुन्, जहाँ सूर्यको प्रकाश सिधै पुग्दैन । विल्किन्स भन्छन्, ‘यो मेरो जीवनकै सबैभन्दा ठूलो चुनौती हो ।’
त्यहाँ दुबोको जरालाई जोगाउनका लागि पातलो प्लास्टिकमाथि बालुवा राखेर बीउ रोपिएको छ । कामदारहरूले दिनरात यसको हेरचाह गर्दै विभिन्न भिटामिन, फंगिसाइड र खनिजहरू हालेर यसलाई हुर्काइरहेका छन् । सोरोचनको टोलीले पनि विश्वविद्यालयमा कृत्रिम छाया बनाएर रंगशालाभित्रकै जस्तो वातावरणमा यसको परीक्षण गरेको छ ।
विश्वकप सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा विल्किन्स र उनको टोली ठूला मेसिनहरूको सहायताले घाँसलाई लामो पट्टी (स्ट्रिप्स)मा काट्ने काम गरिरहेका छन् । घाँस ओभानो होस् भन्नका लागि उनीहरू सूर्यास्तपछि मात्र यसलाई काट्छन् र विशेष रेफ्रिजरेटेड (चिसो पार्ने) ट्रकहरूमा लोड गरेर विभिन्न रंगशालाहरूमा पठाउँछन् । उत्तर अमेरिकाभरका विभिन्न फार्महरूबाट लाखौं वर्गफिट घाँस यसरी नै ओसारपसार भइरहेको छ । फिफाका वरिष्ठ पिच व्यवस्थापक एलियन फर्गुसन भन्छन्, ‘मैले आफ्नो पूरा करियरमा यति ठूलो स्तरको काम कहिल्यै गरेको थिइनँ ।’
बत्तीको सहारामा दुबोको स्याहार
बन्द रंगशालाहरूमा घाँस बिछ्याइसकेपछि मैदानमाथि जडान गरिएका विशेष एलईडी लाइटहरूबाट प्याजी र गुलाबी प्रकाश फ्याँकिन्छ । यी आधुनिक बत्तीहरूले घाँसलाई बढ्नका लागि आवश्यक पर्ने ऊर्जा प्रदान गर्छन् । सन् १९९४ को तुलनामा अहिलेको एलईडी प्रविधि निकै उन्नत भएकाले घामबिना पनि घाँस जोगाउन सजिलो भएको सोरोचन बताउँछन् ।
सोरोचन यसपटक कोपा अमेरिकाको जस्तो गल्ती नदोहोरिनेमा ढुक्क छन् । अघिल्लो पटक एटलान्टामा कृत्रिम मैदान र माथिको प्राकृतिक घाँसको दूरी निकै कम भएकाले बल बढी उफ्रिएको थियो, तर यसपटक फिफाले त्यो दूरीलाई बढाउन लगाएको छ । फिफाले यस २०२६ को विश्वकपको मैदान अनुसन्धानका लागि मात्रै ५० लाख डलरभन्दा बढी खर्च गरिसकेको छ । फुटबल प्रेमीहरूले खेल हेर्दा मैदानको दुबोका बारेमा खासै ध्यान नदिए पनि यो खेलको मुख्य आधार हो ।
अनुसन्धानकर्ताहरूका अनुसार यस विश्वकपका लागि गरिएको यो अनुसन्धानले भविष्यमा खेलकुद मैदानहरूको गुणस्तर सुधार्न ठूलो मद्दत गर्नेछ । यसले गर्दा आगामी दिनमा धेरैजसो अमेरिकी फुटबल टोलीहरूले पनि कृत्रिम मैदान छोडेर प्राकृतिक दुबोकै प्रयोग गर्न थाल्नेछन् ।
अन्ततः एउटा राम्रो र सुव्यवस्थित मैदानले खेलाडीलाई उच्च प्रदर्शन गर्न र गोलकिपरलाई चोटपटकबाट बच्न मद्दत गर्छ । वैज्ञानिकहरूले विश्वकपको यो भव्य मञ्च त तयार पारिदिएका छन्, अब यो मैदानमा कुन खेलाडीले आफ्नो देशको सपना साकार पार्नेछन्, त्यो भने हेर्न बाँकी छ ।