नेभिगेशन
मनोरञ्जन

ह्यारी र मेगन फिल्म बनाउँदै

ह्यारी र मेगनले नेफ्लिक्सका लागि अफगानिस्तान युद्धमा आधारित चलचित्र निर्माण गर्ने भएका छन् ।
ड्युस र डचेस अफ ससेक्स (ह्यारी र मेगन) ले अफगानिस्तान युद्धका बेला घेराबन्दीमा परेका बेलायती सैनिकहरूको वास्तविक कथामा आधारित एउटा चलचित्र बनाउन लागेका हुन् । यस जोडीको उत्पादन कम्पनी ‘आर्चवेल’ले मेजर एडम जोवेटको पुस्तक ‘नो वे आउट’ मा आधारित रहेर नेटफ्लिक्सका लागि यो कथानक चलचित्र विकास गरिरहेको छ ।
मेजर जोवेटले सन् २००६ मा हेलमान्ड प्रान्तमा तालिवानको बलियो पकड रहेको मुसा काला सहरमा एउटा सैन्य टोलीको नेतृत्व गरेका थिए, जसले कैयौं पटकका भीषण आक्रमणहरूबाट आफ्नो शिविरको रक्षा गरेको थियो ।
यो विषय राजकुमार ह्यारीका लागि निकै व्यक्तिगत र नजिकको छ । उनले सन् २०१५ सम्म बेलायती सेनामा १० वर्ष सेवा गरेका थिए, जस अन्तर्गत उनले दुई पटक अफगानिस्तानमा सैन्य ड्युटी पूरा गरेका थिए । उनी सेवा निवृत्त भएपछि पनि भूतपूर्व सैनिकहरूका कल्याणकारी कार्यमा निरन्तर सक्रिय छन् । उनले युद्धमा घाइते, अपांगता भएका वा बिरामी परेका सैनिक कर्मचारीहरूका लागि ‘इन्भिक्टस गेम्स’ खेलकुद प्रतियोगिताको सुरुवातसमेत गरेका छन् ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको अग्रपंक्तिमा बेलायतलगायतका मित्र राष्ट्रहरू ‘अलि पछि’ हटेर बस्ने गरेको विवादास्पद टिप्पणी गरेपछि ह्यारीले त्यसको प्रतिवाद गरेका थिए । पछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत बेलायती सैनिकहरूको प्रशंसा गर्दै उनीहरूलाई ‘विश्वकै महान् योद्धाहरूमध्येका एक’ भनेर सम्बोधन गरेका थिए ।
त्यस बेला ह्यारीले भनेका थिए, ‘मैले त्यहाँ सेवा गरेको छु । त्यहाँ मैले जीवनभरका लागि साथीहरू कमाएको छु । र, मैले त्यहाँ आफ्ना साथीहरूलाई गुमाएको पनि छु ।’
अब बन्न लागेको ‘नो वे आउट’ पुस्तकको चलचित्र रूपान्तरणमा ह्यारी र मेगन दुवैले सह–निर्माताको रूपमा काम गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन