नेभिगेशन
मनोरञ्जन

ट्राभोल्टालाई कान्समा अप्रत्याशित सम्मान

हलिउड स्टार जोन ट्राभोल्टाले कान्स फिल्म फेस्टिभलमा आफ्नो निर्देशकिय डेब्यु चलचित्रको प्रिमियर गर्ने क्रममा अप्रत्याशित रूपमा ‘मानार्थ पाल्म डी’ओर’ (लाइफटाइम एचिभमेन्ट अवार्ड सरहको कान्सको सर्वोच्च सम्मान) प्राप्त गरेका छन् ।
आफैंले निर्देशन गरेको चलचित्र ‘प्रोपेलर वान–वे नाइट कोच’को प्रिमियरका लागि चलचित्र महोत्सवमा उपस्थित भएका ७२ वर्षीय अभिनेता यो पुरस्कार ग्रहण गर्दा आफ्ना आँसु थाम्ने प्रयास गरिरहेका देखिन्थे । पुरस्कार पाएपछि उनले भने, ‘यो ओस्कारभन्दा पनि माथि छ ।’
उपस्थित दर्शकदीर्घाले ताली बजाएर बधाई दिइरहँदा ट्राभोल्टाले फ्रान्सेली भाषामा उत्साह व्यक्त गर्दै भने, ‘यो पूर्ण रूपमा अप्रत्याशित सरप्राइज हो । मलाई त विश्वास नै लागिरहेको छैन । मैले सोच्दै नसोचेको कुरा आज भयो ।’
यी पुरस्कृत अभिनेता ‘पल्प फिक्सन’, ‘ग्रिज’ र ‘स्याटरडे नाइट फिभर’ जस्ता चर्चित चलचित्रहरूका लागि चिनिन्छन् ।
आफ्नो करियरमा दुई पटक ओस्कार अवार्डका लागि मनोनीत भइसकेका ट्राभोल्टाले यो सम्मान प्राप्त गर्नुलाई आफ्ना लागि एक विनम्र र गर्विलो क्षण भएको बताए ।
उनले निर्देशन गरेको चलचित्र ‘प्रोपेलर वान–वे नाइट कोच’ यसै महिनाको अन्त्यतिर एप्पल टिभीको स्ट्रिमिङ सेवामा रिलिज हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन