नेभिगेशन
प्रदेश

दासढुंगामा श्रद्धाञ्जलीसभा

भरतपुर । एमाले चितवन जिल्ला कमिटीले आइतबार दासढुंगामा मदन–आश्रित श्रद्धाञ्जली सभा गरेको छ । नेताहरुले दासढुंगा पुगेर पार्टीका ३२ वर्षअघिका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख संगठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । 
जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल -यालीसहित दुर्घटनास्थल दासढुंगा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेताद्वयको सालिकमा माल्याणर्पण गर्दै नेताद्वयको योगदानको चर्चा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवालीले मदन–आश्रितले छोडेर गएको विचारले अप्ठ्यारोमा पनि जुटिरहने संकल्प प्राप्त भएको धारणा राखे । बागमती प्रदेशसभा संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य जेएन थपलियाले नेताद्वयको तेजस्वी सोचलाई अझ उँचोका साथ अगाडि बढाउन प्रण गर्नुपर्ने बताए । एमाले चितवनले मदन–आश्रित स्मृति दिवस मनाउन पाँच दिने कार्यक्रम तय गरेको थियो । 
मदन भण्डारीको शव फेला परेको स्थान पश्चिम चितवनको गाजीपुरमा रहेको मदन पार्कमा आगामी मंगलबार श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । २०५० साल जेठ ३ मा जिप दुर्घटनामा नेताद्वय भण्डारी र आश्रितको निधन भएको थियो । दुवैको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुंगामा पार्टीले बर्सेनि श्रद्धाञ्जलीसभा गर्दै स्मृति दिवस मनाउँदै आएको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्