नेभिगेशन
प्रदेश

सिटी सफारी चोर्ने गिरोह पक्राउ

झापा । सिटी सफारी चोरीमा संलग्न एक गिरोह पक्राउ परेको छ । चोरीमा संलग्न तीन र चोरीका सामान किन्ने सात जना पक्राउ परेका छन् । चोरी गरिएका सातवटा सिटी सफारी, २० वटा ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर लगायत २१ लाख ५५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । 
पक्राउ पर्नेमा मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी भनिने रूपककुमार सरदार, बिर्तामोड–७ मियाँबारीका ३१ वर्षीय मोहम्मद सलिम, मेचीनगर–१० ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिषेक उराउ छन् । त्यसैगरी चोरी भएका सिटी सफारीका ब्याट्री खरिद तथा कारोबारमा संलग्न रहेको आरोपमा बिर्तामोड–५ का ४३ वर्षीय नसिम अख्तर, भारतको बिहार किसनगन्ज घर भई अर्जुनधारा–६ मा बस्दै आएका २० वर्षीय एमडी जिगर आलम, अर्जुनधारा–८ का ३२ वर्षीय सञ्जय चौधरी पनि पक्राउ परेका छन् । 
त्यस्तै, मेचीनगर–७ इँटाभट्टाका २० वर्षीय डिकेश राजवंशी, भारत पश्चिम बंगाल पानीटंकी घर भई मेचीनगर–१४ चारआली बस्दै आएका ३२ वर्षीय पान बर्मु, भारत पश्चिम बंगाल बेलंगा थाना घर भई मेचीनगरस्थित चारआली बस्दै आएका ३३ वर्षीय मोहम्मद साबिर मुल्ला र भारत पश्चिम बंगाल बरमपुर थाना घर भई चारआलीमा बस्दै आएका ४७ वर्षीय आख्तरुल शेखलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले भद्रपुर, बिर्तामोड र काँकरभिट्टालगायत क्षेत्रमा पार्किङ गरेर राखिएका सिटी सफारी चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त गिरोहलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्